अवैध बाटोबाट अमेरिका पठाउन रेष्टुरेन्टमा ‘काउन्सेलिङ’, केन्या पुर्‍याएर बन्धक

13 May, 2024

अमेरिका पुर्‍याइदिने भनेर करोडौं रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अवैध बाटोबाट अमेरिका पठाउन खोज्ने तीन जनालाई पक्राउ गरेको एसएसपी सानुराम भट्टराईले बताए।

सिन्धुपाल्चोक घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ कपन बस्ने ४७ वर्षीय टासी शेर्पा, जोरपाटी बस्ने ४२ वर्षीया ङिमवटी शेर्पा र १९ वर्षीया निमा शेर्पा पक्राउ परेका हुन्। यसमा अन्य व्यक्तिको पनि संलग्नता रहेको प्रहरीको भनाइ छ।

अमेरिका, क्यानडा लगायत देशमा अवैध बाटोबाट पठाइदिने भनेर ठगी गरेको खुलेको छ। एसएसपी भट्टराईका अनुसार टासीले छोरालाई अवैध बाटो हुँदै अमेरिका पठाइसकेका छन्।

त्यसरी नै अरूलाई पनि पठाउन सकिने भन्दै ङिमवुटी शेर्पाले अन्य व्यक्तिलाई टासीको उदाहरण दिने गरेका थिए। यसरी अमेरिकामा पठाउने भनेर अन्य नेपालीलाई पनि प्रलोभनमा पारेका थिए।

‘अवैध बाटोबाट अमेरिका लगायत देशमा पठाउने, खाना प्याकिङको सजिलो काम, मासिक ४ लाखमाथि कमाइ हुने भनेर प्रलोभन दिइएको पायौं,’ एसएसपी भट्टराईले भने।

ङिमवुटीले आफ्नो घरमा रेष्टुरेन्ट र ब्युटीपार्लर र चिया पसल सञ्चालन गर्दै आएकी छन्। उनले त्यहीँ अमेरिका जान चाहने व्यक्तिहरूलाई बोलाउँथे।

त्यहाँ कुराकानी गरी गिरोहका अन्य व्यक्तिहरूलाई भेट गराउने गर्थन्। भिसा र कागजातहरू मिलाउन भनेर सुरूमा ५ लाख रुपैयाँ लिने र केही दिनमा टिकटका लागि भनेर थप ५-७ लाख रुपैयाँ लिने गरेको खुलेको हो।

काठमाडौंबाट दुबईलाई ट्रान्जिट बनाएर केन्याको जोमो न्याट्टा अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि त्यहाँ आफ्ना सम्पर्कमा रहेका अफ्रिकी एजेन्टहरूले रिसिभ गर्थे।

त्यहाँ ती एजेन्टले ट्याक्सीमा राखेर जिम्मरमान भन्ने ठाउँमा भाडाको घरमा राख्ने गरेको हो। त्यहाँ राखेर २०० देखि ३०० डलर मात्र बाँकी राखेर अन्य सबै उनीहरूले नै लिने गरेको एसएसपी भट्टराईले बताए।

अमेरिका लैजाने काम हुँदैछ भनेर पीडितलाई ६ महिनासम्म कोठामै बन्धक बनाइएको उनले बताए। केन्याबाट ब्राजिल, कोलम्बिया, मेक्सिको हुँदै लग्ने गरिएको थियो। यद्यपि पीडितहरू केन्याबाट अगाडि बढ्न पाएका थिएनन्।

अहिले विभिन्न माध्यमबाट १० जना पीडित नेपाल फर्किएका छन्। १५ जना अझै पनि केन्यामै बन्धक रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई काठमाडौंबाट दुबई हुँदै केन्यासम्म पुर्‍याएका थिए। जहाँ फ्ल्याटमा राखेर बन्धक बनाइएको अनुसन्धानबाट खुलेको छ।

केन्यामा बन्धक १५ जनाबाट ७ करोड ५० लाख बढी रकम लिएको खुलेको छ। अहिले नेपाल फर्किएका १० जनाबाटमात्रै ५० करोड रकम ठगी भएको प्रहरीले जनाएको छ।

प्रहरीले यस घटनामा थप अनुसन्धान अघि बढाएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024