अर्थतन्त्रलाई रेमिट्यान्सकै भरथेग

27 Sep, 2024

काठमाडौँ — निर्यात, पर्यटन, विदेशी लगानीलगायत विदेशी मुद्रा आर्जनका मुख्य स्रोतमा अपेक्षित सुधार नहुँदा पनि रेमिट्यान्स लगातार बढ्दा समग्र अर्थतन्त्रको बाह्य क्षेत्र निरन्तर सबल बन्दै गएको छ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको गत साउनको मासिक आर्थिक तथा वित्तीय प्रतिवेदनले विदेशी मुद्रा सञ्चिति, शोधनान्तर, चालु खातालगायत बाह्य सूचक निरन्तर बलियो बन्दै गएको देखाएको हो ।

गत साउनमा मात्र १ खर्ब ३६ अर्ब ९३ करोड रेमिट्यान्स नेपाल भित्रिएको प्रतिवेदनमा उल्लेख छ । गत वर्षको साउनको तुलनामा रेमिट्यान्स १८ प्रतिशतले बढेको छ । ०८० साउनमा रेमिट्यान्स आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । ‘अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १ अर्ब २ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख थियो,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६ हजार ९ सय २८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६ सय ४७ छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९ हजार १ सय ५२ र १६ हजार ४ सय २३ थियो ।

आर्थिक वर्ष ०८०/८१ मा रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले बढेर १४ खर्ब ४५ अर्ब ३२ करोड नेपाल भित्रिएको छ । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह २३.२ प्रतिशतले बढेको थियो । पछिल्लो डेढ वर्षयता हरेक महिना एक खर्बभन्दा बढी रेमिट्यान्स भित्रिइरहेको छ । यहीकारण विदेशी मुद्राका अन्य स्रोत निर्यात, पर्यटन, विदेशी लगानी, विदेशी अनुदान तथा सहायताको अवस्था नाजुक हुँदा पनि अर्थतन्त्रका बाह्य सूचक निरन्तर बलियो बन्दै गएका हुन् ।

The economy depends on remittancesअर्थतन्त्रका सूचंकाकले आर्थिक वृद्धिको बाटो समात्न अझै सहयोग पुगेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए । ‘मूल्यवृद्धि नियन्त्रित रहेको, विदेशी विनियम सञ्चिति बढ्ने क्रममै रहेको, रेमिट्यान्स आप्रवाह राम्रो रहेको, ब्याजदर न्यून रहेकोलगायत सूचकले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको देखाउँछन्,’ उनले भन । यस्तो अवस्थामा निजी र सरकारी क्षेत्रको साधन परिचालन प्रभावकारी ढंगले गर्न सकियो भने आर्थिक वृद्धिमा टेवा पुग्ने उनको भनाइ छ ।

गत साउनमा विदेशी विनिमय (मुद्रा) सञ्चिति २० खर्ब ९२ अर्ब २२ करोड पुगेको छ । गत असारको तुलनामा यो २.५ प्रतिशतले बढेको हो । ०८१ असार मसान्तमा यो २० खर्ब ४१ अर्ब १० करोड थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति ०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा ०८१ साउन मसान्तमा २.० प्रतिशतले वृद्धि भई १५ अर्ब ५८ करोड पुगेको छ ।

आर्थिक वर्ष ०८१/८२ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ । बाह्य क्षेत्रका सूचकांकमा सुधार भए पनि समग्र अर्थतन्त्रका सूचकमा अपेक्षित सुधार नभएको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए । ‘गत वर्षको तुलनामा आयात बढेको छैन, राजस्व पनि अपेक्षाअनुसार वृद्धि हुन सकेको छैन, सेयर बजारको वृद्धि पनि दिगो हुन नसकेर फेरि ओरालो लागेको छ, निजी क्षेत्रको कर्जा विस्तार पनि बढ्न सकेको छैन,’ थापाले भने, ‘मनसुनका कारण कृषिमा केही सुधार भए पनि सरकारी खर्च बढ्न सकेको देखिन्न । यसकारण अहिलेकै अवस्थामा राम्रो आर्थिक वृद्धिको सम्भावना कम छ ।’

बाह्य क्षेत्रको सुधार हाम्रो नीतिको भन्दा अरू कारणले नै भएको हो । आन्तरिक अर्थतन्त्रका गतिविधिमा सुधारको थालनी नदेखिएको थापाको भनाइ छ । ‘निजी क्षेत्रको आर्थिक गतिविधि २/३ वर्षयता नाजुक छ, त्यसमा सुधार नआएसम्म अर्थतन्त्रमा नयाँ रक्तसञ्चारको सम्भावना छैन,’ थापाले भने, ‘निजी क्षेत्रमा रहेको निराशामा पनि सुधार भएको छैन ।’ यो अवस्थाबाट सुधार ल्याउन सरकारले तिर्नुपर्ने दायित्वहरूमा तत्काल धमाधम भुक्तानी गर्नुपर्छ । यसले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्छ । ‘सरकारले निजी क्षेत्रसँग निरन्तर सम्बाद गर्नुपर्छ, उनीहरूको समस्या राम्रोसँग सुनिदिनुपर्छ,’ उनले भने ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ४३ अर्ब ४५ करोड (०.७ प्रतिशत) ले घटेको छ । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप १ खर्ब ३३ अर्ब २४ करोड (२.३ प्रतिशत) ले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा ०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १४.९ प्रतिशतले बढेको छ ।

गत साउनमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १४ अर्ब ११ करोड (०.३ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४ अर्ब ३५ करोड (०.१ प्रतिशत) ले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.२ प्रतिशतले बढेको छ ।

त्यसो त गत वर्षको तुलनामा यस वर्षको दुई महिनासम्म चालु खर्च घटेको छ भने राजस्व संकलन र पुँजीगत खर्च बढेको छ । अर्थसचिव रामप्रसाद घिमिरेले पनि पछिल्ला महिनामा सरकारको खर्च र आयमा सुधार भएको बताए । ‘अर्थतन्त्र केही चलायमान भएको छ । निजी क्षेत्रको आत्मविश्वास बढेको हो कि भन्ने छ । निजी क्षेत्रले पनि आत्मविश्वास बढेको जनाएको छ,’ घिमिरेले भने ।

०८१ साउनमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर ४.१० प्रतिशत छ । गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ७.५२ प्रतिशत थियो । सो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ६.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको २.९४ प्रतिशत छ । गत वर्ष सोही अवधिमा यी समूहहरूको मूल्यवृद्धि क्रमशः ८.९० प्रतिशत र ६.६२ प्रतिशतले वृद्धि भएको थियो ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024