अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु

1 Feb, 2023

संखुवासभामा निमार्णाधीन ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत गृहस्थल केराबारीमा कार्यरत एक जना मजदुरको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का २२ वर्षीय सूर्य गोले तामाङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।

विद्युत गृहस्थल चिचिला गाउँपालिका–३ स्थित केराबारीमा मंगलबार राति ३ बजे सुरुङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर घाइते भएका तामाङको उपचारका क्रममा मंगलबार बिहान ८ बजे जिल्ला अस्पताल संखुवासभामा मृत्यु भएको हो।

सुरुङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा अन्य दुई मजदुरसमेत घाइते भएका छन्। घाइते हुनेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ३८ वर्षीय मंगोल तामाङ र भोजपुर नगरपालिका–४ सिद्धेश्वरका ५४ वर्षीय भीमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

घाइते सिन्धुपाल्चोकका मंगोलको दाहिने खुट्टा र हातमा चोट लागेको छ भने भोजपुरका भीमको हातखुट्टा र कुममा चोट लागेको छ। घाइतेको जिल्ला अस्पताल संखुवासभामा उपचार भइरहेको छ। अरुण आयोजनास्थलमा अहिलेसम्म एक दर्जन बढी मजदुरले ज्यान गुमाइसकेका छन्। परियोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024