अरबमा उपचार गर्दा दुई करोड ३० लाख सकियो

6 Jul, 2012

वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका चन्देश्वर मुखियाको उपचारमा दुई करोड ३० लाख रुपैयाँ -१० लाख रियाल) त्यहीको कम्पनीले खर्च गरेको छ । तर बिरामीको अवस्थामा सुधार देखिएको छैन ।

साउदीको दमामस्थित मौवासात अस्पतालको आईसीयूमै उपचाररत मुखिया बेहोस अवस्थामै छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई गत डिसेम्बर २८ मा भर्ना गरिएको थियो । ‘उपचारमा दुई करोड ३० लाख रुपैयाँ खर्च भइसकेको छ,’ गैरआवासीय नेपाली संघ, साउदीका अध्यक्ष धरम केसीले भने, ‘तर अवस्थामा कुनै परिवर्तन भएको छैन ।’  उनी इमार अल हदिद कम्पनीमा कार्यरत थिए । उपचारमा हालसम्म लागेको सबै खर्च कम्पनी र बिमा कम्पनीले बेहोरेको केसीले जानकारी दिए । ‘तर अब थप बेहोर्न नमिल्ने रोजगारदाता कम्पनी र बिमा कम्पनीले जानकारी दिएको छ,’ उनले भने । उनी युनिक ओभरसिज म्यानपावरबाट गएका हुन् ।  सोही अस्पतालमा उपचाररत अर्का दुई जना नेपाली विजय लिम्बू र गौतम लावतीको स्थिति चिन्ताजनक छ । दुर्घटनामा परेका लिम्बूको टाउकोको एक भाग दबिएको छ । उनी बोल्न सक्तैनन् भने शरीरको एक भाग चल्दैन । उपचार नगर्ने रोजगारदाता कम्पनीविरुद्ध मौवासात अस्पतालले मुद्दा गरेको थियो । अस्पतालले मुद्दा जितेपछि कम्पनीले उपचार खर्च दिन तयार हुनुको साथै मेडिकल स्कटिङमा विजयलाई स्वदेश पठाउने तयारी गरेको छ । ‘सुरुमा विजयलाई मर्न नदिएको भन्दै रोजगारदाता कम्पनी अस्पतालविरुद्ध आक्रोशित भएको रहेछ,’ अध्यक्ष केसीले भने, ‘पछि अस्पतालले मुद्दा नै लडेपछि सम्पूर्ण उपचार खर्च बेहोर्न र स्वदेश पठाउन तयार भएछन् ।’ काठमाडौं पुरानो बानेश्वरस्थित शर्मा कन्सल्टेन्सीबाट साउदी गएका लिम्बूका परिवारले क्षतिपूर्ति पाउन सकेका छैनन् ।  त्यस्तै दुवै मृगौला र कलेजोले काम गर्न छाडेर चिन्ताजनक अवस्थामा पुगेका गौतम लावतीको जन्डिसले शरीर पूरै पहेंलो देखिएको छ । डायलोसिस गरेर मृगौलालाई क्रियाशील बनाउने डाक्टरहरूको प्रयत्न जारी रहेको केसीले बताए । अलओसाइस कम्पनीमा कार्यरत उनको उपचारका लागि कम्पनीले उपचार खर्चको जिम्मेवारी लिएको छैन । गैरआवासीय नेपाली संघले रियादस्थित नेपाली दूतावासलाई ‘पीडित बिरामीलाई थप उपचारमा सहयोग पुर्‍याउन’ अनुरोध गरेको छ ।  

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024