अमेरिका हिँडेका दाङका युवक घानामा अस्ताए

7 Mar, 2025

Hom karki

अमेरिका हिँडेका दाङका ३८ वर्षीय पूर्णबहादुर डाँगीको घानाको राजधानी आक्रामा बुधबार निधन भएको छ ।

गैरआवासीय नेपाली संघ घानाका अध्यक्ष विकास सुवेदीका अनुसार डाँगीको होटलमा निधन भएको हो । ‘उनका साथीले होटलमा हृदयाघात भएर मृत्यु भएको बताएका छन् । पोस्टमार्टम रिपोर्ट आइसकेको छैन,’ उनले कान्तिपुरसँग भने, ‘मृत्यु भएको खास कारण मृत्यु प्रमाणपत्र आइसकेपछि मात्रै खुल्नेछ ।’उनको शव प्रहरी अस्पतालमा राखिएको छ ।

मलेसियाको रोजगारीबाट फर्केको केही समयपछि डाँगी अमेरिका जान ‘तल्लो बाटो’हिँडेका थिए । उनका आफन्त तोपेन्द्र डाँगीका अनुसार उनी अमेरिका जान घरबाट हिँडेको तीन वर्ष भएको थियो । ‘विभिन्न एजेन्ट हुँदै घाना पुगेको हुन्,’ उनले भने, ‘यसबीच करोडभन्दा बढी खर्च भइसकेको छ ।’

कहिलेदेखि घाना रोकिएको भन्ने विषय खुलिसकेको छैन । उनको शव पठाउन एनआरएनले घाना मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावाससँग समन्वय गरेको छ ।

इजिप्टका लागि नेपाली राजदूत सुशील लम्सालले शवलाई छिटो पठाउन सम्बन्धित पक्षसँग अनुरोध गरिएको बताए । ‘हामीले एनआरएन र डाँगीका साथीसँग मृत्युबारे थप सोधखोज भइरहेको छ,’ उनले भने, ‘शव पठाउन लाग्ने खर्च बेहोर्न सम्बन्धित पक्षलाई नै आग्रह गरेका छौं ।’

डाँगीका साथमा अरु नेपाली पनि अमेरिका हिँडेको बुझिएको छ । ‘डाँगीको टोलीमा अरु नेपाली पनि छन् तर, संख्या यकिन भएको छैन,’ गैरआवासीय नेपाली संघ घानाका अध्यक्ष विकास सुवेदीले बताए ।

डाँगीले बोकेको राहदानीको म्याद गत डिसेम्बरबाट नै सकिएको छ । ‘राहदानीको म्याद गुज्रेको दुई महिना भइसकेको छ । यो हेर्दा डाँगीसहितको टोली घानाको ट्रान्जिटमा बसेको धेरै समय भएको देखिन्छ,’ सुवेदीले भने ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024