अमेरिका र युरोप पठाउने भन्दै ठगी गर्ने तीन पक्राउ

11 Jan, 2024

वैदेशिक रोजगारीमा अमेरिका, पोर्चुगल र टर्की पठाउने प्रलोभन पारी ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेर कारबाहीका लागि वैदेशिक रोजगार विभागलाई हस्तान्तरण गरेको हो।

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ भंगाल चपली काठमाडौंकी ३४ वर्षीया बेन्जु महत, चौबिसे गाउँपालिका–६ घर भई हाल कीर्तिपुर बस्ने ४८ वर्षीया उर्मिला चेम्जोङ र बर्दघाट नगरपालिका–१५ नवलपरासी (बर्दघाट सुस्तापूर्व) का २६ वर्षीय महेश तामाङ छन्।

वैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारमा पक्राउ गर्न पत्राचार भएपछि अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरेर बुझाएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए।

पक्राउ परेकी महतविरुद्ध अमरबहादुर पुनले आफूलाई मासिक तलब चार लाख पाइने गरी अमेरिका पठाइदिन्छु भन्दै २३ लाख ५० हजार रकम लिएर सम्पर्कविहीन भएको आरोप लगाएका छन्।

प्रहरीका अनुसार पुनलाई महतले अमेरिकाको प्रतिष्ठित कम्पनीमा मासिक चार लाख तलब पाउनेगरी रोजगारीका लागि पठाइदिने आश्वासन दिएकी थिइन।

यस्तै अर्को घटनामा पक्राउ परेकी चेम्जोङले संगत थापासहितका दुई जनासँग पोर्चुगल पठाउने भन्दै १० लाख ५० हजार लिई सम्पर्कविहीन भएको आरोप छ।

पोर्चुगलमा सवारी चालकको काम पाइने र मासिक तलब एक लाख पाइने भन्दै प्रलोभनमा पारेर उक्त रकम लिएको पीडितहरूको आरोप छ।

यस्तै अको घटनामा तामाङले टर्की पठाइदिने भन्दै रमेश थापासहित तीन जनासँग पटक–पटक गरी पाँच लाख ५० हजार लिएर ठगी गरेको आरोप छ।

जसमा प्रतिव्यक्ति चार लाख ५० हजार लाग्ने र टर्की पुगेपछि मासिक एक लाख तलब आउने जागिर पाइने आश्वासन दिएको पीडितले जाहेरी दिएको प्रहरीले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024