काठमाडौं : वैदेशिक रोजगारका लागि अमेरिका र माल्टा पठाइदिने भन्दै रकम लिई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नगरपालिका-७ वेलटार घर भई हाल ललितपुर गोदावरी नगरपालिका-१४ बस्ने ३७ वर्षीया सुनिता न्यौपाने श्रेष्ठ र मुगु छाँयानाथ रारा नगरपालिका-३ घर भई हाल काठमाडौँ महानगरपालिका-१४ कलंकी बस्ने ३४ वर्षीय प्रवीन खड्का रहेका छन्।
श्रेष्ठले ओमनाथ मैनालीलाई वैदेशिक रोजगारका लागि अमेरिका पठाइदिने त्यसका लागि ३१ लाख लाग्ने र अमेरिका पुगेपछि मोबाइल सफ्टवेयर कम्पनीमा काम लगाइदिने तथा मासिक तीन लाख ५० हजार तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक पटक गरी जम्मा छ लाख २१ हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको आरोपमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
यसैगरी, खड्काले कर्णबहादुर बुढासमेत दुई जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति ११ लाख ५० हजार लाग्ने तथा माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भन्दै विश्वास दिलाई प्रलोभनमा पारी निज पीडिहरूबाट पटक पटक गरी जम्मा नौ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भई ठगी गरेको आरोपमा आज काठमाडौं महानगरपालिका-१४ कुलेश्वरबाट प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रेग्मीले बताए।