अमेरिका यात्राको भुलभुलैया

12 Mar, 2025

होम कार्की

काठमाडौँ — जाजरकोटका वीरेन्द्र विक र रुकुम, आठबिसकोटका थोमसविक्रम शाह (रेशम) बीच काठमाडौंमा भेट भयो । अमेरिका बस्ने गोपाल सिंहले रेशमसँग सम्पर्क गराइदिएका थिए । दिन थियो १३ भदौ २०७९ । रेशमले दुई महिनाभित्रै अमेरिका पुर्‍याइदिने आश्वासन दिए ।

उनले थपे, ‘एक सय ५० जनाभन्दा बढीलाई तल्लो बाटोबाट अमेरिका पठाइसकेका छौं, तपाईं ढुक्क हुनुस् । सबै जिम्मा लिन्छौं ।’

रेशमले अमेरिका पुग्ने रुट पनि सुनाए । ‘दुबई हुँदै अजरबैजान पुग्नुपर्छ । त्यहाँबाट टर्की (तुर्किए)–स्पेन–ब्राजिल लगिन्छ । ब्राजिलबाट बोलिभिया, पेरु, कोलम्बिया, पानामा हुँदै मेक्सिको पुगिन्छ । त्यसपछि हिँड्दै अमेरिका प्रवेश गर्नुपर्छ । गाडी, घोडा, डुंगामा वा पैदल यात्रा हुन्छ ।’

‘अमेरिका पुग्न कति पैसा लाग्छ त ?,’ भर्खरै प्लस टु सकेका २३ वर्षीय वीरेन्द्रले सोधे ।‘सुरुमा १५ लाख दिनुपर्छ । हरेक देश पुगेपछि थप पैसा लाग्छ,’ रेशमले भने । रेशमसँग भेट भएको एक महिना नपुग्दै वीरेन्द्रले नगद १५ लाख रुपैयाँ बुझाए । रकम बुझाउनेबित्तिकै रेशमले संयुक्त अरब इमिरेट्स (यूएई) को भिजिट भिसा र टिकट थमाए ।

१० असोज २०७९ मा वीरेन्द्र काठमाडौंबाट उडेर दुबई पुगे । विमानस्थलमा उनलाई लिन मंगलपुर–३, चितवनका ३२ वर्षीय कैलाश अधिकारी आएका थिए । उनले एउटा होस्टलमा ७ दिन राखेर वीरेन्द्रलाई अजरबैजान उडाए । अजरबैजानमा केही दिन मात्रै बस्ने भनिएको थियो । त्यहाँबाट कुन देश जाने भनिएको थिएन । अजरबैजानको भिजिट भिसाको म्याद एक महिना मात्रै थियो । अर्को मुलुक जाने पर्खाइमा बस्दाबस्दै भिसाको म्याद सकियो ।

‘ओभरस्टे’ भएको १८ औं दिनमा उनी अरू ११ नेपालीसहित स्थानीय प्रहरीबाट समातिए । अध्यागमनले ७ दिन हिरासतमा राखेर डिपोर्ट गरिदिने निर्णय सुनायो, ‘तिमीहरू यहाँ बस्न पाउँदैनौ । अर्को देश पनि जान पाउँदैनौ । अब सिधै नेपाल जाने हो ।’

अजरबैजानले ७ मंसिरमा उनीहरूमध्ये केहीलाई नेपाल फर्काइदियो । टिकट दुबई ट्रान्जिट हुँदै काठमाडौंको थियो । त्यो टिकट रेशम र कैलाशले नै पठाइदिएका थिए । अजरबैजानको अध्यागमन पास भएपछि वीरेन्द्रले एउटा मेसेज पाए, ‘तिमी नेपाल जाने होइन । दुबई पुगेपछि नेपालको उडान मिस गर्नू । त्यहाँभित्रै बस्नू । तिमीलाई इथियोपिया पठाउँछौं ।’

दुबई विमानस्थलमा आइपुगेपछि वीरेन्द्र नेपाल जाने जहाज चढेनन् । एयरलाइन्सले दर्जनौं पटक आफ्नो नाम उद्घोष गर्दा पनि थाहा नपाएझैं गरे । बरु शौचालयतिर गएर बसे । ‘हामी दुबई विमानस्थलको टर्मिनलमै बसिरह्यौं । खाना खाने पैसा थिएन । पानी पिउँथ्यौं । कहिलेकाहीं भने नेपालीले खाना दिन्थे,’ वीरेन्द्रले सुनाए ।

दुबई विमानस्थलको टर्मिनलमा उतिधेरै जाँच हुँदैनथ्यो । उनीहरू तीन घण्टासम्म एउटा जोन (अन्तिम बोर्डिङ जाँच गर्ने क्षेत्र) मा गएर बस्थे । त्यहाँ बोर्डिङ सुरु भएपछि अर्को जोनमा रहेका यात्रुसँग मिसिन्थे । ‘थाहा पाउलान् भनेर शौचालय गएर ज्याकेट फर्दै बस्थ्यौं । मुखमा मास्क लगाउँथ्यौं,’ वीरेन्द्रले भने । तीन दिन कटेपछि इथियोपियाको भिसा र टिकट हात पर्‍यो ।

वीरेन्द्र दुबई ट्रान्जिटबाट ११ मंसिरमा इथियोपियाको आडिस आबबा पुगे । उनलाई एउटा अपार्टमेन्ट होटल लगियो । होटलमा उनी चकित भए । त्यहाँ ६ थरी दलालबाट पठाइएका ५२ नेपाली थिए । वीरेन्द्र त्यही समूहमा मिसिए । इथियोपियामा व्यवस्थापन गर्नेलाई कसैले चिनेका थिएनन् । प्रत्यक्ष भेट हुँदैनथ्यो, ह्वाट्सएपबाटै कुरा हुन्थ्यो ।

काठमाडौंबाट रेशमले नधम्क्याएको दिन हुँदैनथ्यो । ‘जसजसले थप पैसा दिन्छ, ऊ मात्र ब्राजिलबाट तल्लो बाटो हुँदै अमेरिका जाने टोलीमा पर्छ । ढिला गर्नेहरू पछि जान पाउँछन् कि पाउँदैनन्, थाहा छैन,’ रेशमको मेसेज आउँथ्यो, ‘मैले भनेको मानेनौ र नेपाल फर्कियौ भने म पैसा फिर्ता दिन सक्दिनँ ।’

रेशमले पवन बस्नेतका नाममा सेन्चुरी बैंकमा रहेको खाता नम्बर पठाइदिएका थिए । वीरेन्द्रले दिदी रमितामार्फत पवनको खातामा १० लाख रुपैयाँ जम्मा गरिदिए । यो उनको दोस्रो किस्ता थियो । पैसा जम्मा भएपछि १६ मंसिरमा ब्राजिलको भिसा र टिकट पाए । ब्राजिल उड्न विमानस्थल पुग्दा अध्यागमनले रोक्यो । होटल फर्केर उनले रेशमलाई नेपाल फर्किने टिकट बनाइदिन अनुरोध गरे । रेशमले सेटिङ बिग्रिएको भन्दै थुमथुम्याए । त्यहाँ अरू एजेन्टले पनि कोसिस गर्दै छन् भन्ने ‘भ्वाइस मेसेज’ आउन थाल्यो ।

‘आज भएन भने भोलि हुन्छ, भोलि नभए पर्सि हुन्छ,’ आश्वासन आउँथ्यो, त्यही आश्वासनका भरमा उनले दिन कटाउन थाले । रेशमले पैसा नभएर काम रोकियो भन्दै थप पैसा मागे । उनले उमेशकिशोर बरालका नाममा रहेको एनआईसी एसियाको खाता नम्बर पठाएदिए । वीरेन्द्रले दिदी रमितामार्फत उमेशकिशोरको खातामा तीन लाख ६० हजार रुपैयाँ जम्मा गरिदिए । त्यसपछि २१ चैतमा रेशमले इथियोपियाबाट ब्राजिल पठाउन सेटिङ नमिलेको भन्दै उनीसहित ६ जनालाई किर्गिस्तान पठाए । विमानस्थलमा उनीहरूलाई लिन पाकिस्तानी एजेन्ट आएका थिए ।

किर्गिस्तानमा ७ दिन मात्रै बस्नुपर्ने भनिएको थियो तर ६ महिना बस्नुपर्‍यो । हरेक स्थानमा नयाँ साथी भेटिन्थे, पुराना साथीभाइ छुट्थे । कसको कति खेर पालो आउँछ, कसको टोलीमा को पर्छ भन्ने पैसा भुक्तानीमा निर्भर हुन्थ्यो ।

वीरेन्द्रलाई राजधानी बिस्केकको एउटा अपार्टमेन्टमा राखिएको थियो । रेशमले फेरि अगाडि बढ्न पाँच लाख रुपैयाँ मागे । ‘थप पैसा दिन सक्दिनँ । नेपाल फर्किन्छु । बरु मलाई नेपाल फर्किने टिकट हाल्दिनुस्,’ वीरेन्द्रले अनुनय गरे । ‘यो चोटि तिमी जसरी भए पनि जान्छौ । ग्यारेन्टी भो,’ रेशमले आश्वासन दिए, ‘पठाउन सकिनँ भने यो पैसा तिमीलाई तु फिर्ता गरिदिन्छु ।’

रेशमले कैलाश अधिकारीको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर पठाइदिए । वीरेन्द्रले दिदी रमितामार्फत पाँच लाख रुपैयाँ जम्मा गरिदिए । इस्तानबुल ट्रान्जिट भई भारत जाने टिकट हात लाग्यो । तर, इस्तानबुल विमानस्थलको टर्मिनलबाट स्पेन, पेरु, बोलिभिया हुँदै ब्राजिल जाने आश्वासन दिइएको थियो ।

वीरेन्द्रसहित चार नेपाली १ भदौ २०८० मा इस्तानबुल विमानस्थल पुगे । त्यहाँबाट भारत उड्ने विमान चढेनन् । टर्मिनलभित्र उनीहरूजस्तै अरू ४० नेपाली थिए । अर्को देशको भिसा नआउन्जेल टर्मिनलभित्रै लुकेर बस्ने योजना थियो । तर, अध्यागमन प्रहरीको जाँचमा परे । उनीसहित ५ जनालाई ७ दिन हिरासतमा राखेर अध्यागमनले सिधै नेपाल पठाइदियो ।

दुई महिनाभित्र अमेरिका पुग्ने सपना बोकेर हिँडेका वीरेन्द्र बीचबाटोमा अलमलिँदै ११ महिनामा काठमाडौं फर्किएका थिए । त्यस क्रममा ३३ लाख रुपैयाँ दलाललाई बुझाइसकेका थिए । योबीचमा उनको आफ्नो खर्च पनि भएको थियो । काठमाडौं आइपुगेपछि वीरेन्द्र कोहलपुर गेस्ट हाउसमा बसे । रेशम आफैं त्यहाँ आए अनि दुई सातासम्म सँगै बसे । ‘अमेरिका पठाउन नसक्ने भए पैसा फिर्ता दिनुस्,’ वीरेन्द्रले रेशमसँग पटक पटक भने ।

रेशमले पैसा फिर्ता दिनुको साटो उल्टै आश्वासन दिए, ‘यसपल्ट जसरी पनि पठाउँछु । बरु तिमीसँग म थप पैसा माग्दिनँ । तिमीलाई जसरी भए पनि एक साताभित्र ब्राजिल पुर्‍याउँछु ।’ रेशमकै विश्वासमा परेर वीरेन्द्र २२ भदौ २०८० मा फेरि दुबई उडे । दुबईमा २० दिन बसेपछि उनी अर्का नेपालीसहित उज्बेकिस्तान पुगे । राजधानी तास्कन्दको एउटा होटलमा उनीहरूलाई पुर्‍याइयो, जहाँ ४० नेपाली भेटिए । त्यसमध्ये कसैको त अमेरिका जाने चक्करमा हिँडेको ५ वर्ष भइसकेको थियो ।

एक महिनाको भिसा सकिनु अघिल्लो दिन दलालले उनीहरूलाई तुर्किएको इस्तानबुल पुर्‍याए । त्यहाँबाट ब्राजिल जाने टिकट र भिसा नमिल्दै उनीहरू अध्यागमनको नियन्त्रणमा परे । १८ दिन हिरासतमा राखियो । तुर्किएले छोड्ने भएपछि कैलाशले दुबई ट्रान्जिट हुँदै नेपाल आउने टिकट पठाइदिए । दुबई उत्रिएपछि उनी नेपाल उडेनन्, रेशमकै सल्लाहमा विमानस्थलबाट बाहिरिए । ‘कैलाश अधिकारी र निशा थापाले ब्राजिलको भिसा लगाइदिन्छु भन्दै पासपोर्ट लिएर गए,’ उनले सुनाए ।

दुबईमा ब्राजिलको भिसा लगाउन दुई साता पर्खनुपर्ने भनिएको थियो । तर तीन महिनासम्म बस्नुपर्‍यो । निशाले भिसा लगाउन नसकिएको भन्दै पासपोर्ट फिर्ता गरिन् । दुबईबाट फेरि ५ दिनका लागि भनेर किर्गिस्तान पठाइयो । रेशमले वीरेन्द्रलाई किर्गिस्तानबाट तुर्किए, स्पेन, पेरु, ब्राजिल हुँदै लैजाने भनेका थिए । तर, ५ महिनापछि रेशमले ‘यो रुट बन्द भयो, अब तिमी श्रीलंका जानू, त्यहाँ मलेसियन राहदानी बन्छ अनि कतार हुँदै ब्राजिल लैजान्छु’ भने । रेशमकै भनाइमा लागेर वीरेन्द्र १९ जेठ २०८१ मा कोलम्बो पुगे ।

श्रीलंकामा ३० दिन बसेपछि रेशम, कैलाश र निशा सम्पर्कविहीन भए । होटलधनीले दुई साता जति बन्धक बनाएर राखे । उनी पैसा नदिई नछाड्ने अडानमा थिए । आफैंले होटलको खर्च तिरेर वीरेन्द्र कैलाशलाई भेट्न दुबई गए तर उनी भेटिएनन् । रेशमको समूहबाट ठगिएका वीरेन्द्र, जाजरकोटका गणेशबहादुर पुन, बझाङका वीरेन्द्रबहादुर कुँवर, दाङका भूपबहादुर डाँगी, संकल्प मल्ल र जाजरकोटका शिवराज सिंह दुबईमा जोडिए । अमेरिका जान पाउने आसमा गणेशबहादुरले ३२ लाख, वीरेन्द्रबहादुरले ३८ लाख ४० हजार, भूपबहादुरले ३० लाख, संकल्पले ५ लाख र शिवराजले ३३ लाख ५० हजार रुपैयाँ दलाललाई बुझाइसकेका थिए ।

पैसा माग्न थालेपछि निशाले भेट्न बोलाइन् । वीरेन्द्र, गणेशबहादुर, भूपबहादुर र शिवराज गए । ‘त्यहाँ पुगेपछि हामीले पैसा माग्न थाल्यौं । निशा बाहिरबाट चुकुल लगाएर हिँडिन् । त्यसको केही समयपछि हामी बसेको ठाउँमा प्रहरी आइपुग्यो,’ वीरेन्द्रले सुनाए, ‘हामीविरुद्ध शरीर बन्धक बनाएको उजुरी हालिएको रहेछ । हामीलाई प्रहरीले पक्राउ गरेर लग्यो । हामी नेपालमा चौकीसम्म नगएको मान्छेलाई हतकडी लगाएर राखियो ।’

दुबईको जेलमा बसेको तीन महिना एक सातापछि अदालतबाट निर्दोष सावित भएर उनीहरू २७ मंसिर २०८१ मा जेलमुक्त भए । एक साता दुबई बसेर उनीहरू आफैंले टिकट काटेर नेपाल फिर्ता भए । उनीहरूले रेशम, कैलाश र निशाविरुद्ध मानव तस्करी र ठगीमा जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उजुरी दिएका छन् । रेशम पनि पक्राउ परेका छन् । तर अन्य रेशमहरूको प्रलोभनमा परेर वीरेन्द्रहरू ठगिने क्रम भने जारी छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024