काठमाडौं : सोलुखुम्बुका ३६ वर्षीय नोर्बु लामा ‘नाम परिवर्तन’ काठमाडौंमा बसेर टुर गाइडको काम गर्छन्। विदेशीहरूलाई नेपाल घुमाउने र यहाँको प्राकृतिक सुन्दरता वर्णन गर्ने काममा उनी खारिएकै छन्। कहिले कताको ट्रेकिङ त कहिले कताको टुरमा उनी प्रायः काठमाडौं बाहिर गई रहन्छन्।
गाइडको कामबाट उनले राम्रै पैसा पनि कमाएका थिए। तर जब उनको भेट ताप्लेजुङका ललित बहादुर लिम्बुसँग भयो। उनको निद बिग्रियो। लिम्बुले उनलाई अमेरिका पुर्याइदिने प्रलोभन दिन थाले, यता लामा बेचैन बन्न लागे।
ललित र उनका भाइ दीपेश लिम्बुले उनीबाट पटक पटक गरी ५३ लाख ठगी गरे। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजी कुमार आचार्यका अनुसार अमेरिका लैजाने भन्दै ठगी गर्ने दाजु भाइलाई नै प्रहरीले नियन्त्रणमा लिएको छ। ताप्लेजुङ सिरिजंगां १ घर भै हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने ४० वर्षीय ललितबहादुर लिम्बु र ३३ वर्षीय दीपेश लिम्बुलाई बूढानीलकण्ठबाट पक्राउ गरिएको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयको वैदेशिक ठगी हेर्ने शाखाका डीएसपी शिवराज बुढाथोकीका अनुसार दीपेश केही समय अघि मात्रै कोरियाबाट फर्किएका हुन्। उनीहरूको ४ जना दाजुभाइ मध्ये २ जना रोजगारीका लागि कोरिया गएका थिए। सुरुमा उनीहरूले सोलुखुम्बुका ती टुर गाइडलाई कोरिया लैजाने भनेर प्रलोभन दिएका छन्।
महिनामा लाखौं कमाइ हुने प्रलोभनमा पारेर उनीहरूले पटक पटक ललितले २८ लाख र दीपेशले २५ लाख ठगी गरेका हुन्। कोरिया लैजान नसकेपछि दाजुभाइ मिलेर उनलाई तलो बाटो हुँदै अमेरिका पुर्याउने बताएका थिए। कहिले एजेन्टलाई बुझाउने त कहिले प्लेन टिकटलाई भनेर उनले ५३ लाख आरोपीहरूको खातामा जम्मा गरेका थिए।
तर उनीहरूले पैसा लिएर सम्पर्कविहीन भएका थिए। प्रवक्ता आचार्यका अनुसार पक्राउ परेको ललित र दीपेशले अन्य धेरैलाई ठगी गरेको सूचना आएको छ। अमेरिका लैजाने भन्दै उनीहरूले पीडितहरूसँग मोटो रकम उठाएका थिए। अन्य पीडितहरूका विषयमा अनुसन्धान भइरहेको आचार्यले बताए।
आचार्य भन्छन्, अमेरिका, क्यानडा तथा युरोपियन देश जाने भन्नासाथ मानिसहरूले आँखा चिम्म गरेर पैसा दिने गरेका छन्। न त कुनै कागज न कुनै लिखित प्रमाण नै विना पीडितहरूले पैसा बुझाउँदा ठगी गर्ने गिरोहलाई सहज भएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयमा दैनिक ८ देखि १० वटा उजुरी आउने गरेको उनले जानकारी दिए।
वैदेशिक रोजगारीका लागि भन्दै प्रमाण भएका उजुरी वैदेशिक रोजगार विभागमा दर्ता हुने गर्छ। प्रमाण नभएका घटनाहरू ठगी मुद्दा लिएर उपत्यका कार्यालय आउनेको संख्या बढ्दो छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी शिवराज बुढाथोकी भन्छन्, ‘उजुरी लिएर आउने पीडितहरूसँग प्रायः प्रमाण नै हुँदैन। फेसबुकमा, टिकटक तथा सोसल मिडियामा विज्ञापन देखेको भरमा व्यक्तिले सजिलै पैसा बुझाउने गर्छन्। यस्तो अवस्थामा मुद्दा दर्ता गर्न पनि प्रमाण पुगिरहेको हुँदैन। पछिल्लो समय वैदेशिक रोजगारको बहानामा स्क्याम गर्ने, अनलाइन ठगी गर्ने गिरोह नै सक्रिय छन्।
नक्कली भिसा र टिकट देखाएर पनि ठगी गर्नेहरू निकै छन्। वैदेशिक रोजगारीको बहानामा अन्तर्वार्ता लिने, प्रक्रिया अगाडि सार्ने भन्दै पनि रकम उठाएका छन्। व्यक्तिगत रूपमा कारोबार गर्ने, पैसा लेनदेनको कुनै पनि कागजात नहुँदा ठगी गर्नेलाई कानुनी दायरामा ल्याउन कठिन हुने डीएसपी बुढाथोकीले बताए। उनी भन्छन्, ‘कारोबार गरेको केही न केही प्रमाण त हुनुपर्यो नि। कतिपय मुद्दामा त कसलाई पैसा दिएको हो भन्ने पनि थाहा नपाउने पीडितहरू हुनुहुन्छ। यस्तो अवस्थामा उजुरी दर्ता गरेर अनुसन्धान अगाडि बढाउन पनि कठिन हुन्छ।’