अमेरिका जाँदै गरेका १७६ जना नेपाली रोकिए ब्राजिलमा

28 Aug, 2024

अवैध रूपमा संयुक्त राज्य अमेरिका जाँदै गरेका १७६ नेपाली ब्राजिलमा फसेका छन्।

तर उनीहरू सुरक्षित रहेको मंगलबार ब्राजिलस्थित नेपाली दूतावासले प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ।

ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७०० विदेशीहरू रोकिएका समाचार केहीदिनअघि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको थियो।

त्यहाँ भएका नेपालीहरूलाई दूतावासले आवश्यकताअनुसार मानवीय सहायता पुर्‍याउने तयारी गरिरहेको दूतावासको विज्ञप्तीमा उल्लेख छ।

ब्राजिल लगायतका मुलुक हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्ने प्रवृत्ति बढ्दो छ।

संगठित रुपमा संचालित मानव तस्करहरूको प्रलोभन र उक्साहटमा परी नेपालबाट युवाहरू यस क्षेत्रमा आउने गरेको दूतावासले जनाएको छ।

यही प्रलोभनमा परेर कयौं नेपालीले ठूलो धनराशी खर्च र अकल्पनीय पीडा व्यहोर्नुपरेको विज्ञप्तिमा उल्लेख छ।

यसैबीच ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाल लगायत केही देशका राहदानी बाहेकलाई प्रवेशाज्ञा लिएमा ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ।

नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तब्य मुलुकतर्फ उड्न पाउने, र त्यसरी नगएमा सोही विमानमार्फत् फिर्ता पठाइनेछ। विमानस्थलमा शरणर्थीको मान्यता नदिइने पनि बताइएको छ।

साथै दूतावासले मानव तस्करहरुको संजाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने भएकाले यसरी नहिँड्नसमेत अनुरोध गरेको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024