अमेरिकाले निष्कासन गर्छ, भुटानले खेद्छ कहाँ जाने भुटानी शरणार्थी ?

7 Apr, 2025

सुरज भण्डारी

अमेरिका  : अमेरिकाले १० जना भुटानी शरणार्थीलार्ई चैत १२ गते भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छोडिदियो। तर, भुटानले आफ्ना नागरिक स्वीकार गरेन। पुरानै शैलीमा तिनीहरूलाई ‘लखेटेर’ भारतको सीमा नजिक भारतको जयगाउँतर्फ ल्याएर छोडिदियो। त्यहाँबाट भारतीय प्रहरीले नेपालको सीमावर्ती क्षेत्र पानीट्यांकी ल्याएर छोडिदियो। आफ्नै देशमा पाइला टेक्न नपाएका उनीहरू लुक्दै–भाग्दै नेपालतर्फ लागे। चैत १६ गते ४ जना भुटानी शरणार्थी झापाबाट पक्राउ परे। अरूको स्थिति अज्ञात नै छ।

अमेरिकाले निष्कासित गरेकाहरू तेस्रो मुलुक पुनस्र्थापनाअन्तर्गत अमेरिका पुगेका शरणार्थी हुन्। भुटानले लखेटेका शरणार्थीलाई फिर्ता लिन नमानेपछि उनीहरूलाई तेस्रो देश पुनस्र्थापना गरिएको थियो। भुटानी शरणार्थीको सन् २००८ बाट अमेरिका पुनर्वास अभियान सुरु भएको थियो। सन् २०१७ डिसेम्बरसम्म ९५ हजार ४ सय ४९ जना भुटानी शरणार्थीलाई अमेरिका लगिएको थियो। तर, अमेरिकामा पुनर्वास भएका नेपालीभाषी भुटानीलाई अमेरिकाले निष्कासन गर्न थालेपछि शरणार्थी समस्या पुनः बल्झिने जोखिम बढेको छ। किनकी, अमेरिकाले निष्कासन गरेर भुटानमा ल्याएर छोडिदिने, तर भुटानले स्वीकार नगरी नेपालतर्फ नै ‘खेद्न’ थालेको छ।

अमेरिकाले भुटानी समुदायबाट १ सय २२ जना निष्कासनको सूचीमा राखेको छ। त्यतिमात्र होइन, अमेरिकाले भुटानलाई रेड जोनमा राखेको छ। जसका कारण भुटानी नागरिकलाई अमेरिका भ्रमणमा अनुमति रहने छैन। भुटानसहित ११ मुलुक रेड जोनमा परेका छन्। राष्ट्रपति डोनाल्ड जे ट्रम्पको कार्यकालको सुरुवाती चरणमै अमेरिकाबाट निष्कासनको सूचीमा रहेकाहरूलाई निष्कासन गर्ने कार्य द्रुत गतिमा भइरहेको छ। विभिन्न आपराधिक कार्यमा संलग्न रहेका, आप्रवासनसँग जोडिएको मुद्दामा अन्तिम फैसला भई निष्कासनको निर्णय सुनाइएकाहरू र अमेरिकामा बस्ने अनुमति नभएकाहरूलाई अमेरिकाको होम ल्यान्ड सेक्युरिटी र इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्टले पक्राउ गरी अमेरिकाबाट निष्कासन गरिरहेको छ। पहिलो प्राथमिकतामा जुन देशका नागरिक हुन्, सम्बन्धित देशमा नै निष्कासन गर्ने गरिएको छ। तर कतिपय अवस्थामा तेस्रो मुलुकमा समेत लगेर छाड्ने गरिएको छ।

निष्कासनको सूचीमा रहेका नेपालीभाषी भुटानी समुदायका सदस्यहरूलाई भने भुटानमा लगेर छाड्ने गरिँदा त्यसले शरणार्थीसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास, अन्तर्राष्ट्रिय कानुन तथा मानवीय मूल्य र मान्यतामा आधारित मानवअधिकारको विषय जोडिएर चर्चा पाएको छ। हालसम्म भुटानी समुदायका १४ जनालाई निष्कासन गरिएको बताइएको छ। निष्कासनको सूचीमा रहेकालाई डिपोर्ट गरिएको बताइए पनि भुटानको पारो लगी छाडेका कतिपय निष्कासनको सूचीमा नभएको भन्दै भुटानी समुदायका अभियन्ताहरूले आवाजसमेत
उठाउँदै आएका छन्।

अमेरिकाले भारतको दिल्ली र दिल्लीबाट ड्रुक एयरमार्फत उनीहरूलाई भुटानको पारो विमानस्थलमा लगेर छाड्ने गरेको छ। पारो विमानस्थलमा उत्रिएका उनीहरूलाई भुटानको प्रहरीले आवश्यक व्यवस्था गरी भुटान र भारतको सीमा नजिकको भारतीय गाउँ जयगाउँतर्फ ल्याएर छाड्ने गरेको र उनीहरूलाई जयगाउँबाट भारतीय प्रहरीले नेपाल र भारत सीमावर्ती क्षेत्र पानीट्यांकी ल्याई नेपालतर्फ पठाउने गरेको स्रोतले जनाएको छ। जयगाउँ र पानीट्यांकीबीचको दूरी कारमा चार घण्टाको छ भने पारो विमानस्थलदेखि भुटान र भारतबीचको बोर्डर बिन्दुसम्मको दूरी पनि कारमा करिब चार घण्टा नै लाग्ने गर्छ। स्रोतका अनुसार अमेरिकासँग भुटानले सहमति जनाए पनि उसले विगतमा नै नागरिक नस्वीकारेको अवस्था छ।

अहिले पनि भुटानले व्यावहारिक र भावनात्मक रूपमा नागरिक मान्ने अवस्था नरहने भएकाले प्रभाव र दबाबदेखि आश्वासन देखाएर भुटानमा बस्ने अवस्थासमेत नभएकाले विभिन्न तरिकाले पारो उत्रिएकाहरू पनि नेपालमै जान चाहिरहेका छन्। अमेरिकाबाट पारो लगिएकाहरूमध्ये कतिपयका आफन्तसमेत शरणार्थी शिविरमै छन् भने नेपाल लामो समय बसेकाले पुनर्वास गरिएको देशले निष्कासन गर्दा नेपाल नै फर्कने उनीहरूको चाहना हुन सक्ने स्रोतले जनायो। ‘सकभर अमेरिकाबाट निष्कासन गर्नु हुँदैनथ्यो, जाने ठाउँ नै हाम्रो कहाँ छ र ? तर पनि निष्कासन नै गरिएपछि बस्नका लागि सहज त हुर्किएको थलो नेपाल नै हो, त्यसैले निष्कासन भएकाहरू नेपाल गएका हुन्, जान खोजेका हुन्’, निष्कासनमा परेकामध्येका एकका परिवारका सदस्यले भने, ‘नेपालले पनि के गर्छन् भन्ने चिन्ता लागिरहेको छ।’

निष्कासनको सूचीमा रहेकाहरूलाई निष्कासन गरिएको अमेरिकी निकायहरूले बताइरहे पनि भुटानी समुदायमा भने यसले त्रास सिर्जना गरेको छ। समग्र आप्रवासीहरूमा नै अब के हुने होला भन्ने चिन्ता बढिरहँदा नयाँ जीवनको सुरुवात गर्दै अमेरिका पुनर्वास भएको नेपाली भाषी भुटानी समुदाय पनि चिन्तित छ। ‘कमी, कमजोरी, कानुन उल्लंघन, अपराधमा संलग्न रहे कानुनबमोजिम कार्बाही गर्ने कुरा अन्यथा होइन। कानुनी कार्बाही र गल्तीअनुसार सजायको भागीदार जो कोही बन्नुपर्छ। यसमा तलमाथि केही छैन’, भुटानी समुदायका अभियन्ता भुवन प्याकुरेलले भने, ‘तर कार्बाही अमेरिकाभित्र नै गर्नुपर्छ भन्ने हो। अझ भुटानी समुदायको लागि त निष्कासन गर्दा जाने ठाउँ नै कहाँ छ र ? हाम्रो सन्दर्भमा महत्वपूर्ण कुरा यो हो। यसलाई मानवीय रूपमा पनि हेरिनुपर्छ भन्ने नै हो।’

पारिवारिक विखण्डनको अवस्था

अर्कोतर्फ डिपोर्टेसनले परिवारलाई विभाजित गरेको छ। ‘कतिपयको परिवारको कमाउने व्यक्ति नै डिपोर्ट हुँदा घर चल्नसमेत गाह्रो पर्ने अवस्था आइरहेको छ। समुदायका सदस्यहरूमा कतै हामीलाई पनि निष्कासन त गर्ने होइन भन्ने खालको चिन्ता देखिएको छ’, सिटी अफ रेनोल्ड्सवर्ग, ओहायोका काउन्सिल म्यानसमेत रहेका प्याकुरेलले थपे, ‘त्यस्तो होइन भनेर बताउनु परिरहेको छ। डर हटाउन सचेतनाको काम गरिरहेका छौं।’

भुटानी समुदायका लागि त निष्कासन गर्दा जाने ठाउँ नै कहाँ छ र ? हाम्रो सन्दर्भमा महŒवपूर्ण कुरा यो हो। यसलाई मानवीय रूपमा पनि हेरिनुपर्छ । 
भुवन प्याकुरेल, अभियन्ता 

कमसेकम भुटानले मेरा मान्छे हुन् भनेर स्वीकार त गर्‍यो। यो पनि एक अर्थमा राम्रो कुरा हो । तर, अमेरिकामै रहेर कानुनबमोजिम प्रक्रिया अघि बढाउनुपर्छ भन्दै आएका छौं। 
तिलक निरौला,अभियन्ता, पेन्सेलभेनिया गभर्नर सल्लाहकार समिति सदस्य कम्पनी

त्यस्तै, भुटानी समुदायका अभियन्ता एवं पेन्सेलभेनिया गभर्नरका सल्लाहकार समितिका सदस्य तिलक निरौलाले पछिल्ला गतिविधिले चिन्ता बढाएको र यसलाई लिएर सम्बन्धित निकायहरूमा कुरा पुर्‍याइएको बताए। त्यसप्रति छलफलसमेत अगाडि बढेको छ। समुदायमा सही सन्देश प्रवाह गर्दै विषय जटिल भए पनि समाधान खोज्नका लागि प्रयासहरू भइरहेको उनले जनाए। ‘समुदायको निम्ति जे भयो र भइरहेको छ राम्रो त भइरहेको छैन र पनि कमसेकम भुटानले मेरा मान्छे हुन् भनेर स्वीकार त गर्‍यो। यो पनि एक अर्थमा राम्रो कुरा हो’, निरौलाले भने, ‘तर यसको अर्थ डिपोर्ट गर्ने भन्ने होइन। अमेरिकामै रहेर कानुनबमोजिम प्रक्रिया अघि बढाउनुपर्छ भन्दै आएका छौं।’

कुल जनसंख्यासँग तुलना गर्दा सबैभन्दा बढी शरणार्थी बनाउने सूचीमा पहिलो भुटानले, अमेरिकाले भनेको स्वीकारेर नै डिपोर्ट गरेपछि बस्न दिनुपर्नेमा झन् त्यस्तो नगरेको अवस्था देखिएको छ। अर्कोतर्फ भुटानबाट नै भागेर नेपाल आई बसोबास गरी जीवनको महŒवपूर्ण समय बिताई वा त्यही नै जन्मिएर अमेरिका पुनर्वास भएकाहरू डिपोर्ट भएर फेरि भागेर हिँडेको देशमै गएर बस्ने भन्ने मानवीय र भावनात्मक रूपमा पनि सम्भव नहुने ठान्छन् अधिकारकर्मीहरू। शरणार्थीका लागि काम गर्दै आएका अधिकारकर्मीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै राज्यविहीन बन्ने अवस्था नदिन सम्बन्धित सबैमा अनुरोध गरेका छन्। निष्कासनमा परेकाहरूलाई संरक्षण दिने भन्दै जिम्मा लिएको भुटान सरकारले त्यसो नगरी अन्तर्राष्ट्रिय कानुनको समेत उल्लंघन गरेको तथा निष्कासनमा परेकाहरूको मानवअधिकारको ग्यारेन्टी गर्न पनि शरणार्थीको क्षेत्रमा काम गर्दै आएका संघसंस्थाहरूले अपिल गरेका छन्।

भुटान पिपल पार्टीका अध्यक्ष बलराम पौड्याल, डुक नेसनल कंग्रेस प्रजातान्त्रिकका अध्यक्ष रिन्जिन दोर्जी, भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका कार्यवाहक अध्यक्ष तिलक राई, भुटान स्वतन्त्र जनमञ्चका महासचिव डीबी सुब्बा नेसनल रिकन्सिलेसन कमिटी भुटानका अध्यक्ष कृष्णवीर तामाङले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिकासमक्ष आफ्नो नागरिकको रूपमा स्वीकार गरिसकेर भुटान सरकारले पारोमा उत्रिएका नागरिकलाई अन्यत्र पठाउने अमानवीय कार्यको विरोध गरेका छन्। भुटानी नागरिकलाई पटकपटक शरणार्थी बन्नबाट जोगाउन र उनीहरूको मानवअधिकारको रक्षाका लागि आवाज उठाउन पनि नेपाल समक्ष आग्रह गरेका छन्। अमेरिकाबाट पारोमा उत्रिएकामध्ये केही नेपाल पुगे पनि अन्य कहाँ छन् भन्ने समेत थाहा नभएकाले उनीहरूको खोजी गर्न पनि अनुरोध गरिएको छ।

नेपालमा लामो समय शरणार्थी जीवन व्यतित गरी नेपालीभाषी भुटानी अमेरिकासहित विभिन्न देशमा पुनर्वास कार्यक्रमअन्तर्गत आप्रवासन भएका थिए। सन् २००७ देखि पुनर्वास कार्यक्रम सुरु भई अमेरिका, बेलायत, डेनमार्क, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, नर्वे, नेदरल्यान्डलगायतका देशमा स्वेच्छिक रूपमा शरणार्थी पुनर्वास भएका थिए।

सन् १९८५ मा भुटानको नागरिकता ऐनमा गरिएको परिवर्तनसँगै भुटानमा रहेका नेपाली भाषीका लागि भुटानमा रहन अप्ठ्यारो अवस्था सिर्जित भएको थियो। लगत्तै १९८८ मा जनगणनामार्फत नागरिकलाई सात वर्गमा विभाजन गर्दै बस्न असहज वातावरण बनेको केही वर्षभित्रै सन् १९९० बाट नेपाली भाषीमाथि ज्यादती भएपछि उनीहरू भारत हुँदै नेपालको पूर्वी क्षेत्रमा आएर बस्न थालेका थिए। नेपाली भाषी भुटानीहरूलाई नेपालले आ श्रय दिँदै उनीहरूको पुनस्र्थापनाका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा लबिङ गरेको थियो।

भुटानमै पुनस्र्थापित हुने नेपाली भाषी भुटानीहरूको चाहनालाई बुझेर नेपालले भुटानसँग द्विपक्षीय वार्ता गरेको थियो। नेपाल र भुटानका बीचमा १५ पटक वार्ता भएको भए पनि शरणार्थी फर्काउन भुटान अनिच्छुक भएपछि अर्को विकल्पको रूपमा तेस्रो मुलुक पुनस्र्थापनाअन्तर्गत पुनर्वास कार्यक्रम सुरु भएको थियो।

जसअनुसार सबैभन्दा धेरै अमेरिकाले शरणार्थी ल्याएको थियो। कुल १ लाख ५ हजार शरणार्थी पुनर्वास हुँदा करिब ९० हजार अमेरिकामा पुनर्वास भएका थिए। करिब १ लाख १५ हजार शरणार्थी नेपालमा रहेका थिए, जसमा पुनर्वास हुन नपाएका, नसकेका र नचाहेकाहरू नेपालमै शरणार्थी शिविरमै रहेका छन्। पुनर्वास कार्यक्रम सुरु हुनुअघि पूर्वी नेपालको झापा र मोरङका पाँच स्थान झापाको बेलडागी, टिमाई, गोलधाप र खुदुनावारी तथा मोरङको शनिश्चरेमा रहेका ७ शिविरमा उनीहरू बस्दै अँएका थिए। अहिले मोरङको शनिश्चरे र झापाको बेलडागी मात्र शिविर छ।

भुटानी समुदायबाट १ सय २२ जना निष्कासनको सूचीमा रहेका छन् भने १३ सय ६५ नेपाली छन्। कुल १४ लाख ४५ हजार ५ सय ४९ जना निष्कासनको सूचीमा रहँदा ट्रम्पले राष्ट्रपतिको पदबहाल गरे यता एक लाखभन्दा बढी निष्कासन भइसकेका छन्। डिपोर्ट गरिएकाहरूलाई घरबाट, सपिङ मलवाट, लन्ड्रीबाट, इमिग्रेसन कार्यालयबाट पक्राउ गरी आइस्ले डिपोर्ट गरेको थियो। उनीहरू ग्रिन कार्ड होल्डर थिए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024