अमेरिकाले निष्कासन गरेपछि झापामा फेरि बल्झियो भुटानी शरणार्थी समस्या

31 Mar, 2025

पार्थ मण्डल

झापा : भुटान सरकारले नेपालीभाषी नागरिकको नागरिकता खोसेर जबरजस्ती लखेटेको घटना बितेको पनि साढे तीन दशक भयो।

भुटानले देश निकाला गरेपछि उनीहरू भारतको बाटो हुँदै झापाको काँकडभिट्टा नाका हुँदै नेपाल छिरेका थिए। सयौंको सङ्ख्यामा भुटानी शरणार्थीहरू नेपाल छरेपछि ठूलै समस्या उत्पन्न भएको थियो। समस्या समाधानका लागि त्यस बेला भुटानी शरणार्थीहरूलाई झापा र मोरङमा शिविर बनाएर आश्रय दिएको थियो।

भुटानले आफ्नो नागरिक फिर्ता लिन अस्वीकार गरेपछि संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्च आयोगको रेखदेखमा शिविरमा बसेका शरणार्थीहरूलाई कानुनी प्रक्रिया पुर्‍याएर उत्तरी अमेरिका, ओशिनिया र युरोपमा पुनर्वास गराइएको थियो। कानुनी प्रक्रिया र कागजात नमिलेका भुटानी शरणार्थीहरू भुटान फर्किने आशामा अहिले पनि दमक नगरपालिका-३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमै बसेका छन्। तर, अमेरिका पुगेका भुटानी शरणार्थीहरूमध्ये १० जनालाई अमेरिकाले देश निकाला गर्दै भुटान फिर्ता पठाए पनि त्यो समस्या झापामा बल्झिएको छ।

अमेरिकाले भुटान डीपोर्ट गरेका १० जनामध्ये तीन जना काँकडभिट्टा-पानीट्यांकी नाका हुँदै शुक्रबार दमक-३ बेलडाँगी शिविर पुगेका थिए। शनिबार प्रहरीले शिविरबाट ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङलाई नियन्त्रणमा लिएर जिल्ला अध्यागमन कार्यालय काँकडभिट्टा पुर्‍याएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए।

‘नियन्त्रणमा लिएका तीनै जनासँग कुनै कागजात छैन,’ डीएसपी खड्काले भने, ‘उनीहरू अमेरिकाबाट डीपोर्ट भएर भुटान पुगे र त्यहाँबाट निकालिएपछि झापा आइपुगेका हुन्।’

उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिए पनि अध्यागमन कार्यालयले अनुसन्धान प्रक्रिया अघि बढाएको उनको भनाइ छ। भुटानले आफ्नो देशमा बस्न नदिएको शरणार्थीहरूलाई कहाँ लगेर छोड्ने भन्ने विषयमा समस्या उत्पन्न भएको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईले बताए। भारतबाट नेपाल छिरेका उनीहरूलाई भारततिरै फर्काउने कि शिविरमा पठाउने बारेमा अध्यागमन विभागसँग छलफल भइरहेको उनको भनाइ छ।

करिब ८/९ वर्षअघि उनीहरू नेपालबाटै अमेरिका पुगेका थिए। बेलडाँगी शिविरमा बसेका उनीहरूलाई संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्च आयोगले अमेरिका लगेको शिविर व्यवस्थापन समितिका सचिव संचहाङ सुब्बाले बताए। अमेरिकाले १० जनालाई डीपोर्ट गरेको बुझ्नमा आएको बताउँदै सचिव सुब्बाले भने, ‘अमेरिका र भुटान सरकारबीच समन्वयमा उनीहरू भुटान ओर्लिएका थिए।’

अमेरिकाबाट डीपोर्ट भएका उनीहरू भारतको दिल्ली हुँदै थिम्पुको पारो विमानस्थलमा मार्च २७ तारिखमा ओर्लिएका थिए। उनीहरूलाई भुटान प्रशासनले साढे ६ घण्टा दूरीको यात्रा गराएर भारत-भुटानको फुन्छ्योलिङ-जयगाउँ नाकामा ल्याएर छाडिदिएको थियो। त्यसपछि भारतीय सुरक्षाकर्मीले उनीहरूलाई पूर्वी नेपालको काँकडभिट्टा-पानीट्यांकी नाकामा ल्याएर छाडिदिए र उनीहरूमध्ये तीन जना नेपाल प्रवेश गरे। सात जना अझै सीमा क्षेत्रमै रहेको बुझिएको छ।

अमेरिकाले आफ्नो नागरिक फिर्ता लैजाऊ भनी भुटानसँग कुराकानी गरेर पठाएको रहेछ। भुटानको विमानस्थलमा ओर्लिएकाहरूको आफन्तजन कोही नभएपछि उनीहरू झापा आइपुगेको हुनसक्ने सचिव सुब्बाले बताए। प्रहरीले नियन्त्रणमा लिएकामध्ये सुवेदीको बुबा शिविरमै रहेको उनको भनाइ छ। अमेरिकाले डीपोर्ट गरेर यसरी पठाउन थालेपछि यहाँको शिविरमा समस्या पक्कै आउँछ।

‘संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्च आयोग र नेपाल सरकारले प्रक्रिया पुर्‍याएर भुटानी शरणार्थीहरू तेस्रो देश पुनर्स्थापना गरिसकेको अवस्था छ,’ सचिव सुब्बाले भने, ‘भुटानले हाम्रो नागरिक हो भनेर अमेरिकासँग कुराकानी गरेर फिर्ता बोलाउँछ, अनि भुटान आइपुगेपछि नेपालतर्फ खेदिदिन्छ भने यसले ठूलो समस्या निम्त्याउँछ।’ यी समस्याको बारेमा तत्काल समाधान खोज्न नेपाल सरकारसँग उनले माग पनि राखेका छन्।

यसअघि सन् १९९० मा भुटान सरकारले आफ्ना नागरिकलाई देश निकाला गर्दा भारतमा ल्याएर छोडेको थियो। भारतले नेपालतिर पठाइदिएको थियो। तिनीहरूलाई भारतको बाटो हुँदै पुनः भुटान फर्काउन खोज्दा भारतीय सरकारले अवरोध गरेको थियो। अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासीहरूमाथि कडा नीति ल्याएर लगातार विभिन्न देशका आप्रवासीहरूलाई डीपोर्ट गरिरहेको अवस्थामा भुटानी शरणार्थी समस्या फेरि आउनसक्ने आकलन गरिएको छ।

यसैबीच भुटानमा बसोबास गर्दै आएका अन्य ४ महिला र २ जना पुरुष गरी ६ जना पनि शनिबार नेपाल प्रवेश गरेका छन्। काँकडभिट्टा नाका हुँदै नेपाल आउनेहरूमा ६४ वर्षीय नारद शर्मा, ६१ वर्षीया निरा तिमिल्सिना, २२ वर्षीय राजकुमार गुरुङ, ४१ वर्षीया शान्तिमाया गुरुङ, ४५ वर्षीया चन्द्रमाया गुरुङ र ६४ वर्षीया सोममाया गुरुङ रहेका छन्। अध्यागमन कार्यालय काँकडभिट्टाले रुजु गरी ३० दिनको प्रवेश आज्ञा दिएपछि उनीहरू आफन्त भेटघाटको लागि दमक गएको प्रहरीले जनाएको छ। अमेरिकाले डीपोर्ट गरेका सात जना भारतमै रहेको बुझिएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024