अमेरिकामा बसेर अनलाइन सट्टेबाजी र क्रिप्टो कारोबार, बिदामा नेपाल आउँदा पक्राउ

10 Mar, 2025

दीपक परियार

पोखरा — १० वर्षदेखि अमेरिकामा काम गर्दै आएका आईटी इन्जिनियर रुपेन्द्र जिसी एक महिनाअघि पोखरा फर्किए । अमेरिकामा पीएचडी गर्दै गरेका उनी बिदामा नेपाल आएका थिए ।

पर्वतको जलजला गाउँपालिका-३ स्थायी घर भएका उनी शुक्रबार पोखरा-१४ अनुपम मार्गमा रहेको घरबाट पक्राउ परे । अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा उनीसहित पाँचजनालाई प्रहरीले पक्राउ गर्‍यो ।

जिसीको घरमा शंकास्पद गतिविधि भइरहेको गोप्य सूचना प्रहरीले पाएको थियो । त्यही सूचनाका आधारमा नेपाल प्रहरीको प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीको टोली खटियो । कास्की प्रहरीको कमान्ड एसपी श्यामबाबु ओलियाले सम्हालेका थिए । संयुक्त टोलीले जिसीसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य अगाडि बढाएको छ । पक्राउ पर्ने अन्य ४ जना जिसीकै आफन्त हुन् ।

अनुसन्धानका क्रममा मुख्य योजनाकारका रूपमा जिसी नै देखिएको कास्की प्रहरी प्रमुख ओलियाले बताए । उनका अनुसार जिसीले एक वर्षदेखि अमेरिकामै रहेर अनलाइन बेटिङ र क्रिप्टोको कारोबार गर्दै आएका थिए । ‘अनलाइन बेटिङतर्फ १५ करोड र क्रिप्टो करेन्सीतर्फ १५ करोड गरी ३० करोडको कारोबार गरेको पाइएको छ,’ उनले भने, ‘दैनिक ३ सिफ्ट खेलाउने र कम्तीमा एक सिफ्टको तीन हजार डलरको दरले अनलाइन ग्याम्बलिङ गरेको पाइएको छ ।’

नेपालमा जिसीले आफ्ना आफन्तलाई परिचालन गर्थे । उनले नेपालको एजेन्टका रूपमा विक्रम बानियाँ र सन्दीप कटुवाललाई प्रयोग गरेका थिए । म्याग्दीको बेनी नगरपालिका–५ घर भई हाल पोखरा–१४ हवेलीमार्गमा बस्ने ३३ वर्षीय बानियाँ पोखराको चिप्लेढुंगामा फेन्सी पसल चलाउँथे । उनी जिसीका फुपूका छोरा हुन् । म्याग्दीको रघुगंगा गाउँपालिका–२ घर भइ हाल पोखरा–१४ चाउँथे बस्ने २८ वर्षीय कटुवाल फुट स्टेप नामक कन्सल्टेन्सी चलाउँथे । उनी जिसीका बहिनी ज्वाइ हुन् ।

विभिन्न बैंकमा खाता खोली रकम जम्मा गर्न रोजन केसी र सज्जन घिमिरे संलग्न रहेको प्रहरीको आरोप छ । म्याग्दी रघुगंगाका १९ वर्षीय केसी पोखरास्थित जिसीकै घरमा बस्दै आएका थिए । स्नातक दोस्रो वर्षमा अध्ययनरत उनी जिसीकी सानी आमाको छोरा हुन् । म्याग्दी बेनीका २२ वर्षीय सज्जन पनि जिसीकै घरमा बस्दै आएका थिए । स्नातक चौथो वर्षमा अध्ययनरत उनी जिसीकी फुपूका छोरा हुन् । प्रहरीले जिसीको घरबाट क्रिप्टो करेन्सी कारोबार र अनलाइन बेटिङमा प्रयोग गरिएका विभिन्न विद्युतीय सामग्री बरामद गरेको छ ।

प्रहरीले मोबाइल फोन ३१ थान, कम्प्युटर मनिटर २ थान, कम्प्युटर सीपीयू ३ थान, ल्यापटप ४ थान, आई प्याड १ थान, किबोर्ड २ थान, माउस १ थान, राउटर ४ थान, पेनड्राइभ ३ थान, हार्डडिस्क १ थान, मल्टिप्लग १ थान, चार्जर ११ थान, यूएसबी पोर्टसहितको स्ट्यान्ड १ थान, छाप १ थान र नगद ७२ हजार ५ सय बरामद गरेको हो । उनीहरूलाई अभौतिक मुद्रा प्रयोग र जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको एसपी ओलियाले बताए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024