अमेरिकामा अवैध नेपाली : नेपाल फर्कन अनुनय गरिरहेछन् प्रविण

13 May, 2025

देवेन्द्र बस्नेत

६ महिनाअघि तल्लो बाटो हुँदै अमेरिका छिरेका घोराहीका प्रविण (नाम परिवर्तन) लाई अमेरिकाको धर्ती टेक्दा नयाँ जीवनको प्रारम्भ भएको महसुस भयो। आर्थिक स्तर उकासिने अनि भविष्यमा परिवारलाई अमेरिका लैजाने सुनौलो सपनाका तानाबुना बुन्न थाले उनी। नयाँ जीवनको परिकल्पनासहित अमेरिकाको बाटो लागेका प्रविण अहिले घर फर्कन आत्तिइरहेका छन् र परिवारलाई चाँडो नेपाल फर्काउन अनुनय गरिरहेका छन्। ‘केही उपाय लाग्छ भने मलाई चाँडै घर फर्कने वातावरण मिलाउनु भन्नुहुन्छ’, प्रविणपत्नीले भनिन्, ‘हामीले चाहेर कसरी नेपाल फर्काउन सकिन्छ र?’

अमेरिका पुगेको अवधि ६ महिनादेखि जेलमै छन् प्रविण। जेलमुक्त भएर रोजगारीमा लाग्ने परिकल्पना गरेका ६ महिनासम्म जेलमुक्त त भएनन्।

प्रविण नेपाल फर्काइने सूचीमा परिसकेको परिवार बताउँछ। अमेरिकी जेलभित्रै रहेका प्रविण र उनको परिवारबिच बेलाबेला संवाद हुन्छ। प्रविणले परिवारसँगको कुराकानीमा आफू नेपाल फर्काइने सूचीमा परिसकेको बताउने गरेका छन्। ‘म डिपोट सूचीमा परिसकेको छु। अब नेपाल फर्कने पक्काजस्तै हो’, प्रविणले परिवारसँगको कुराकानीका क्रममा भन्ने गरेका छन्, ‘बरु चाँडै फर्कन पाए हुन्थ्यो।’

प्रविणपत्नीका अनुसार प्रविणलाई डिपोटका लागि राख्ने गरिएको थुनुवा स्थलमा राखिएको छ। डिपोटका लागि सूचीमा रहेकाहरूलाई छुट्टै थुनास्थलमा राख्ने गरेको भन्दै उनकी पत्नीले भनिन्, ‘दिनदिनै मान्छे फर्काइरहेको छ। मेरो पालो आएको छैन भन्नुहुन्छ।’

केही दिनअघि उनका एक साथी फर्काइए। उनका ती साथीले प्रविणको घरपरिवारसँग फोन सम्पर्क गरेका थिए। ६ महिनादेखि जेलमै रहेका प्रविण धेरै आत्तिएको जानकारी उनले गराएका थिए। ‘६ महिनादेखि जेलभित्रै बसिराखेका कारण धेरै आत्तिनुभएको छ’, प्रविणपत्नीले भनिन्, ‘केही दिनअघि श्रीमानसँगै जेलमा रहेका साथी नेपाल फर्किएका रहेछन्। उहाँले मलाई फोन गरेर धेरै आत्तिनुुभएको छ, चाँडै घर आउन खोजिरहनुभएको छ भनेका थिए।’

अवैधानिक तवरबाट बसिरहेका गैरअमेरिकी नागरिकलाई त्यहाँको सरकारले डिपोट गर्ने नीति अगाडि सारेको छ। यस क्रममा धेरै नेपाली घर फर्काइएका छन्। अवैध रूपमा अमेरिका पुगेर आर्थिक स्तर उकास्ने कैयन् नेपालीको सपना अमेरिकाको नीतिका कारण ध्वस्त बनेको छ। अमेरिकाको यही नीतिका कारण दाङका प्रविणको डलर कमाउने सपना ध्वस्त बन्ने निश्चित बनेको छ।

घोराहीमा व्यापार व्यवसाय सञ्चालन गरेर थेरथोर कमाइ गरिरहेका थिए प्रविणले। डेकोर पसल सञ्चालन गरेका उनले व्यवसायबाट त्यतिसाह्रो फाइदा लिन सकेनन्। व्यवसायबाट हात झिकेर वैदेशिक यात्रामा निस्कने निर्णयमा पुगे उनी। ‘व्यवसाय खासै राम्रो चलेको थिएन’, उनकी पत्नीले भनिन्, ‘व्यवसाय नगरेर विदेश जाने मनसाय बनाउनुभयो अनि वैदेशिक यात्राको तयारीस्वरूप दौडधुपमा लाग्न थाल्नुभयो।’

वर्ष दिनअघि तल्लो बाटो हुँदै अमेरिका हिँड्नेहरूको लहड थियो। प्रविण त्यही लहडमा मिसिने निर्णयमा पुगे। एक दलालमार्फत तल्लो बाटो नाप्न सुरु गरेका उनी ६ महिनाअघि अमेरिकाको टेक्सास राज्य पुगे। त्यहाँ टेकेलगत्तै जेलभित्र रहनुपर्‍यो। डलर कमाउने उनको सपनामा अमेरिकी नीति वाधक बनिदियो।

यात्राका क्रममा उनको झन्डै डेढ करोड रूपैयाँ खर्च भयो। उनकी पत्नीका अनुसार यो रकम सबै ऋणमार्फत जुटाएको हो। ‘नेपालबाट हिँडेदेखि अमेरिका पुग्दासम्म झन्डै डेढ करोड रूपैयाँ खर्च भयो’, ‘प्रविणपत्नीले भनिन्, ‘यो रकम सबै ऋण हो।’

अमेरिकाको डिपोट सूचीमा परिसकेका प्रविण चाँडै घर फर्के हुन्थ्यो भन्नेमा परिवार छ। केही दिनअघि परिवारकै तर्फबाट अमेरिकी दूतावासलाई पत्र लेखेर चाँडै नेपाल फर्काइदिन अनुरोधसमेत गरिएको छ। ‘अमेरिकी दूतावासमा पत्र लेखेपछि चाँडै घर फर्काइदिन्छ कि भनेर हामीले दूतावासलाई पत्रसमेत लेख्यौं’, प्रविणका भाइले भने, ‘घर फर्कन धेरै आत्तिएका कारण उहाँलाई चाँडै नेपाल आउने वातावरण बने हुन्थ्यो भन्नेमा हामी छौं।’

अमेरिका पुगेका प्रविणलाई नेपाल फर्काउन हतार गरिरहेको प्रविणको परिवारमाथि थपिएको डेढ करोड ऋणको भारीबाट कसरी उम्कने भन्ने पिरलो पनि छ। अमेरिका जाँदा लागेको यो ऋणको ब्याज थपिएको थपियै छ। ‘अमेरिका जाँदा लागेको ऋणको भारी कसरी फुक्का गर्ने भन्ने ठुलो चिन्ता छ। ऋण लिएको रकमको ब्याज बढिरहेको छ। कमाउन गएको मान्छे फर्कने भएपछि अब त्यो ऋण कसरी तिर्ने भन्ने साह्रै चिन्ता लाग्छ’, प्रविणकी पत्नीले भनिन्, ‘तैपनि मान्छे चाँडै आइदिए यतै केही न केही उपाय गरेर बस्न सकिन्थ्यो। चाँडै पठाइदिए हुन्थ्यो।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024