अमेरिकाबाट फेरि तीन नेपाली निष्कासित

4 Feb, 2025

काठमाडौं : अमेरिकाले फेरि तीन जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी तरिकाले बसोबास गर्दै आएका उनीहरूलाई अमेरिकाले निष्कासन गरेको हो।

निष्कासनमा पर्नेमा गोपाल ठकुरी, राजकुमार रोका र राहुल थापा क्षेत्री रहेका छन्। उनीहरूलाई गत साता नेपाल फर्काइएको स्रोतले बताएको छ। गोपाल र राजकुमारलाई एयर इन्डियाबाट भारत हुँदै काठमाडौं फर्काइएको हो भने राहुललाई सिंगापुर एयरलायन्सबाट फर्काइएको हो।

स्रोतका अनुसार गोपाल र राजकुमार गैरकानुनी रूपमा अमेरिका बस्दै आएका थिए। पर्यटक भिसामा अमेरिका गएका राहुललाई भने लुकीछिपी बसेको आशंकामा पक्राउ गरी अमेरिकी अध्यागमनले नेपाल फर्काएको स्रोतको भनाइ छ।

अघिल्लो साता पनि तीन जना नेपालीलाई अमेरिकाले निष्कासन गरेको थियो। गैरकानुनी रूपमा अमेरिका छिरेका यमप्रसाद तिवारी, घनश्याम खत्री र भुपाल विकलाई अमेरिकाले निष्कासन गरेको थियो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिएसँगै अमेरिकाको आप्रवासन नीतिमा कडाइ गरेका छन्। उनले अमेरिकामा गैरकानुनी तरिकाबाट बसिरहेका आप्रवासीहरूलाई निसानसमेत साधिरहेका छन्। ट्रम्प प्रशासनले धमाधम त्यस्ता आप्रवासीहरूलाई पक्राउ गरी निष्कासन गरिरहेको छ। अफ्रिकीलगायत कतिपय देशका नागरिकहरूलाई अमेरिकी सेनाको जहाजाटै फिर्ता पठाइएको एजेन्सीहरूले उल्लेख गरेका छन्।

माघको पहिलो साता पनि दुई नेपालीलाई अमेरिकाले निष्कासन गरेको थियो। अध्यागमन कानुन उल्लंघन गरेका शेर शाङ्बु शेर्पा र सारुन श्रेष्ठलाई अमेरिकाले निष्कासन गरेको थियो।

हालैमात्र प्रकाशित एक रिपोर्टअनुसार अमेरिकी अदालतले १ हजार ३ सय ६५ जना नेपालीहरूलाई देश छोड्न आदेश दिएको छ। नेपालको टीपीएस नवीकरण नभए उक्त संख्या ३ हजार पुग्ने अनुमान गरिएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024