४ फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकामा गैरकानुनी रुपमा बसेका नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउनका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा उनले बिना भेदभाव, समानता, स्वतन्त्रता र मानवीय मर्यादाको अधिकारको विश्वव्यापी घोषणापत्रमा नै भनिएको जिकिर गरे ।
अमेरिकाले भारतीय नागरिकलाई हातखुट्टामा नेल, जन्जीर हत्कडी लगाएर उनीहरूको मयार्दाको ठाडो उल्लंघन गरेर स्वदेश फिर्ता गरेको भन्दै नेपालीहरू पनि सचेत रहनुपर्ने बताए ।
‘अमेरिकाले भारतीय नागरिकलाई हातखुट्टामा नेल, जन्जीर हतकडी लगाएर उनीहरूको मयार्दाको ठाडो उल्लंघन गरेर स्वदेश फिर्ता (डिपोर्ट) गर्ने कार्यले पश्चिमाहरूले दुहाइ दिँदै आएको मानव अधिकारको विश्वव्यापी रुपमै धज्जी उडेको छ,’ उनले भने, ‘भारतीय नागरिकलाई हातखुट्टामा नेल, जन्जीर हतकडी लगाउने अमेरिकाको घोर अमानवीय र मानव अधिकार विरोधी हर्कत हो ।’
नेपालीहरूले पनि सोही घटना ब्यहोर्न नपरोस् भनेर सचेत हुनुपर्ने उनले बताए ।
‘नेपाली नागरिकहरूलाई पनि मानव अधिकार हनन हुनेगरी अमेरिकाद्वारा नेल, जन्जीर र हतकडी लगाएर अमानवीय तरिकाबाट फिर्ता पठाउने कार्य नहोस् भनेर अहिलेदेखि नै सचेत हुनुपर्ने आवश्यकता छ,’ सांसद केसीले भने, ‘यदी यो विषयमा ध्यान नदिएमा विश्व समुदायकाबीच नेपालको प्रतिष्ठामा समेत आँच पुग्नसक्छ । यदी अमेरिकामा गैरकानुनी तवरबाट नेपाली नागरिक लुकिछिपि बसेका छन् भने नेपाल फिर्ताका लागि आवश्यक व्यवस्था मिलाउन सभामुखज्यूबाट सरकारको ध्यानाकर्षण गराउँछु ।’