अमेरिकाबाट ‘डिपोर्ट’ भुटानी शरणार्थीलाई राख्ने कि फिर्ता पठाउने भन्नेमा अन्योल

31 Mar, 2025

पर्वत पोर्तेल

विराटनगर, झापा — अमेरिकाबाट ‘डिपोर्ट’ भई मूलथलो भुटान ओर्लिएका १० शरणार्थीमध्ये तीन जना शुक्रबार नेपाल पसेका छन् । करिब एक दशकअघि छाडेर हिँडेको दमकको बेलडाँगी शरणार्थी शिविर आइपुगेका उनीहरूलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका आशिष सुवेदी, सन्तोष दर्जी र रोशन तामाङलाई अहिले अध्यागमन कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान गरिँदै छ ।

उनीहरूलाई शरणार्थीकै दर्जामा शिविरमा बस्न दिने या पुनः भुटान पठाउने भन्नेबारे अहिले गृह प्रशासनका अधिकारी अन्योलमा परेका छन् । ‘उनीहरूलाई राख्ने कि पठाउने भन्ने अन्योल छ,’ अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालले कान्तिपुरसँग भने, ‘हामी अझै निष्कर्षमा पुगिसकेका छैनौं ।’ भिसाबिनै प्रवेश गरेका उनीहरूमाथि अनुसन्धान भइरहेको रिजालले जानकारी दिए ।

सन् १९९० को दशकमा भुटानबाट लखेटिएका करिब डेढ लाख भुटानी झापा र मोरङका शरणार्थी शिविरमा बस्थे । एक दशकअघि उनीहरू संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोग (यूएनएचसीआर) को पहलमा पुनर्वास भई अमेरिका, क्यानडा, नर्वे, अस्ट्रेलियालगायत देश गएका थिए । अहिले झापाको बेलडाँगी र मोरङको पथरी–शनिश्चरेमा करिब १० हजार हाराहारी शरणार्थी छन् । शिविरमा रहेका अधिकांश शरणार्थी भुटान फर्किने मनसायका साथ बसेका हुन् । ‘हामी अधिकांश पुनर्वास त्यागेर भुटान फर्किने आशामा बसेका हौं,’ अधिकारकर्मी दिल भुटानीले भने, ‘अन्तिम सास रहेसम्म भुटान फर्किन चाहन्छौं ।’

अमेरिकाका विभिन्न राज्यबाट हालै ४० भुटानी शरणार्थीलाई पक्राउ गरिएको थियो । अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट’ (आईसीई) का अनुसार ती व्यक्ति आपराधिक गतिविधिसँग जोडिएको पुराना रेकर्डका आधारमा पक्राउ परेका थिए । उनीहरू सन् २०१२ पछि आपराधिक घटनामा मुछिएर पक्राउ परेका हुन् । पेन्सिलभेनिया राज्यका ३० भन्दा बढी भुटानी शरणार्थी आईसीईको हिरासतमा छन् ।

उनीहरूको गिरफ्तारीपछि ‘डिपोर्टेसन’ (निर्वासन) गन्तव्य कहाँ भन्ने विषय पेचिलो बनेको छ । भुटान फर्काइएका १० शरणार्थीलाई भुटानी सरकारले नेपालतिर फर्काएपछि समस्या झनै गम्भीर बनेको हो । ‘डिपोर्ट’ भएकालाई भुटानले आफ्नो नागरिकका रूपमा स्वीकारेर उनीहरूलाई नागरिकको दर्ता दिएर भुटानमै पुनःस्थापित गर्नुपर्ने माग शरणार्थी पक्षको छ । तर, भुटानले उनीहरूलाई नागरिकका रूपमा स्विकार्ने कुरा असम्भव रहेको दिल भुटानी बताउँछन् । ‘भुटानले नागरिक मानेको भए भारतीय सीमामा पुर्‍याएर पक्कै छाड्ने थिएन,’ उनी भन्छन्, ‘भुटानले पुनः एक पटक गम्भीर मानवअधिकार उल्लंघन गरेको छ ।’

भुटानले पठाएको लिखित कागजात पनि उनीहरूसँग छैन । ‘उनीहरूलाई पठाइदिने या यतै राख्ने चाँडै निर्णयमा पुग्छौं,’ रिजालले भने । अमेरिकाबाट डिपोर्ट गरेर पठाइएका १० शरणार्थीलाई भुटान सरकारले ‘आफ्नो नागरिक’ मान्न अस्वीकार गरेपछि उनीहरूलाई भारतीय सुरक्षा निकायको सहयोगमा नेपाल–भारतको सीमा नाका पानीट्यांकीमा छाडिएको थियो । अन्य ७ शरणार्थी कहाँ छन् भन्ने खुलेको छैन ।

पछिल्लो समय अमेरिकाले भुटानलाई आफ्नो ट्राभल रेस्ट्रिक्सन (यात्रा प्रतिबन्ध) सूचीमा समेटेको छ । जसले भुटानी शरणार्थी र तिनीहरूको भविष्यमा प्रत्यक्ष असर पार्ने सम्भावना छ । यस सूचीमा भुटानलाई समेट्नुका पछाडि अमेरिकी प्रशासनको कडा दृष्टिकोण र भुटानी शरणार्थीका आपराधिक गतिविधिसँगको सम्बन्ध हो ।

भुटानी शरणार्थी अगुवाले यस घटनामा कूटनीतिक दबाब र न्यायपूर्ण समाधानको पक्षमा आवाज उठाउन जरुरी रहेको जनाएका छन् ।

‘यस घटनाले भुटानी शरणार्थी समुदायमा एक पटक फेरि असुरक्षित र अनिश्चित भविष्यको त्रास पैदा भएको छ,’ अमेरिकामा रहेका भुटानी अधिकारकर्मी तिलक निरौलाले भने, ‘यो विषयलाई चाँडो हल गरिएन भने भविष्यमा समस्या जटिल बन्न सक्छ ।’

निरौलाले केही दिनअघि पेन्सिलभेनियाका गभर्नर जोस सापिरो, सिनेटर जोन फेटरम्यानको कार्यालय, कंग्रेसम्यान पेरी र संयुक्त राष्ट्र शरणार्थी उच्च आयोगका प्रतिनिधिसँग भेटेर शरणार्थी समस्याबारे ध्यानाकर्षण गराएको बताए । अमेरिकामा हाल १ लाखभन्दा बढी भुटानी शरणार्थी बस्दै आएका छन् । जसमध्ये ७० हजारभन्दा बढी पेन्सिलभेनिया राज्यमा बसोबास गर्छन् ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024