अब वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खाजा/खानाको व्यवस्था

26 Apr, 2024

वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा नै खानाखाजा तथा पानी सहितको उचित व्यवस्था गर्न वैदेशिक रोजगार विभागले पत्र काटेको छ।

विभागले बुधबार नै पत्राचार गरी हवाई टिकटमा नै खानाखाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरेको हो।

कमाउन बिदेसिएका श्रमिकहरूको हवाईभाडा तथा सुविधाको उचित व्यवस्थापन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवसायी महासंघ र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभललाई आग्रह गरिएको हो।

मलेसिया तथा मध्यपूर्वका मुलुकहरूमा वैदेशिक रोजगारीका लागि श्रमिकहरुले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ। उडान समय भन्दा तीन घण्टा अगाडि नै विमानस्थल भित्र प्रवेश गर्नुपर्ने हुन्छ। यसरी घण्टौँको यात्रामा पनि श्रमिकले न्यूनतम खाना खाजा तथा पानी समेत नपाउने गरेको गुनासो आउन थालेपछि विभागले सम्बन्धित निकायलाई डाकेर छलफल गरेको विभागका महानिर्देशक डुण्डुराज घिमिरले बताए।

‘बजेट एयरलाइन्स भन्ने तर, मूल्य चर्काे नै तिर्नु अनि न्यूनतम खाना खाजा तथा पानीको पनि नपाउँदा श्रमिकहरु भोक भोकै यात्रा गर्नुपर्ने अवस्था रहेछ। यस्तो धेरै गुनासो सुनियो। त्यसैले सबैलाई बोलाएर छलफल गर्‍यौ,’ उनले भने।

छलफलको निर्णय पनि सम्बन्धित निकायलाई पत्राचार गरी जहाजको टिकट तथा टिकटमा यस्तो सुविधा तोक्न आग्रह गरेको विभागले बताएको छ।

त्यस्तै, विभागले म्यानपावर व्यवसायीले नै व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा पठाउन थालेको गुनासो आएको भन्दै व्यवसायीलाई आफ्नो क्षेत्रअधिकार भित्र रहेको काम गर्न सचेत गराएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024