अबुधाबी बस दुर्घटना : तीन नेपाली महिलाको मृत्यु

18 Jan, 2020

संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी अबुधाबीमा भएको बस दुर्घटनामा तीन नेपाली महिलाको मृत्यु भएको छ।

स्थानीय समय अनुसार बिहीबार भएको दुर्घटनामा रोजगारीका लागि अबुधाबी पुगेका नेपालीको मृत्यु भएको हो। अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार दुर्घटनामा मृत्यु भएका ६ मध्ये तीन नेपाली महिला रहेको पुष्टि भएको छ। मृत्यु हुनेमा झापाकी कृष्णा अधिकारी, प्युठानका भावना कुँवर र बाराकी अमिसा मोक्तान रहेको नेपाली राजदूतावासले जनाएको छ। मृत्यु हुने अन्यमा पाकिस्तानी बस चालक र श्रीलंकाका महिला रहेको बताइएको छ।

दुर्घटनामा १४ नेपाली घाइते भएका छन्। घाइतेहरूको अबुधाबीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरूमा चितवनकी निर्मला प्रजा, सुजला विश्वकर्मा, मनकवानपुरकी रीता सिवाकोटी, मिना सिंह, ललितपुरकी कमला नेपाली, दाङकी आशा घर्ती, सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई छन्। त्यस्तै, नुवाकोटकी सरिता तामाङ, सुनसरीकी वर्षा विश्वकर्मा पनि घाइते भएको दूतावासले जनाएको छ। अधिकांश घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ। केही घाइते उपचारपछि कोठामा फर्किसकेको अबुधाबीमा काम गर्ने सञ्जय गुरुङले बताए। एमबिएम नामक कम्पनीमा काम गर्ने श्रमिक चढेको बस अल रहा भन्ने स्थानमा गुडिरहेको लरीमा ठोक्किएको थियो। बसमा चालकसहित २४ सवार थिए। तीमध्ये २३ जना महिला थिए। श्रम स्वीकृति लिएर तीन लाख ६३ हजार नेपाली कार्यरत युएईमा बेलाबेला विभिन्न दुर्घटनामा नेपालीले ज्यान गुमाउने गर्छन्। कहिले सडक पार गर्दा त कहिले यात्रा गरिरहेको बस नै दुर्घटनामा परी नेपालीले ज्यान गुमाउने क्रम जारी छ। गत असोजमा पनि अबुधाबीमै सडक दुर्घटनामा परी ६ नेपालीले ज्यान गुमाएका थिए।    युएईमा कहिले सडक पार गर्दा त कहिले यात्रा गरिरहेको बस नै दुर्घटनामा परी नेपालीले ज्यान गुमाउने क्रम जारी छ।

श्रम स्वीकृति लिएकाबाहेक युएईमा अरु एक लाख नेपाली अवैध तरिकाले काम गरिरहेको  अनुमान गरिन्छ। अवैध तरिकाले वैदेशिक रोजगारीमा गएका श्रमिक कुनै दुर्घटना वा अन्य समस्यामा परेको खण्डमा सरकारले उपलब्ध गराउने कुनै पनि सुविधा तथा बीमाको रकम पाउँदैनन्। श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा गएका व्यक्तिको मृत्यु भएको खण्डमा आफन्तलाई बैदेशिक रोजगार बोर्डले सात लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने गर्छ। त्यस्तै बिरामी वा अंगंभग भएको खण्डमा बोर्डले नै सात लाख रूपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउँछ। श्रम स्वीकृतिसँगै म्यादी जीवन बीमा गरेका कामदारको मृत्यु हुँदा बीमा कम्पनीहरूले करिब १५ लाख रूपैयाँ आफन्तलाई उपलब्ध गराउँछन्। वैदेशिक रोजगारीमा जाने हरेकलाई सरकारले अनिवार्य म्यादी जीवन बीमा गर्नुपर्ने नियम बनाएको छ। दुई वर्ष श्रम स्वीकृति जारी हुने गन्तव्य मुलुक जाने श्रमिकले उमेर अनुसार औसतमा चार हजार रूपैयाँ तिरेर म्यादी जीवन बीमा गर्नुपर्छ भने बोर्डको कल्याणकारी कोषमा एक हजार पाँच सय रूपैयाँ संकलन गर्नुपर्छ। श्रमिक समस्यामा परेको खण्डमा बोर्डले कल्याणकारी कोषमा जम्मा भएको रकमबाट आर्थिक सहायता वितरण गर्ने गर्छ। तर, नेपालमा अझै पनि कतिपय युवायुवती श्रम स्वीकृति नलिई तेस्रो मुलुक हुँदै वैदेशिक रोजगारीमा जाने र गन्तव्य मुलुकमा श्रम स्वीकृतिभन्दा बढी समय बस्दा आर्थिक सहायता पाउन कठिन हुने गर्छ। वैदेशिक रोजगार विभाग र बोर्डका अधिकारीहरूले विदेश जानुअघि अनिवार्य रूपमा श्रम स्वीकृति लिन र म्यादी जीवन बीमा गर्न आग्रह गर्दै आए पनि कतिपयले युवायुवतीले त्यस्तो आग्रहलाई अटेरी गर्दै आएका छन्। विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ४६ लाख पुगेको छ। तीमध्ये करिब २५ लाखले गन्तव्य मुलुकमा काम गरिरहेको अनुमान छ। विभागले विदेश जानेको विवरण राख्ने तर फर्कनेको विवरण नराख्दा विदेशमा रहेका श्रमिकको संख्या यकिन हुन नसकेको हो। पछिल्ला केही वर्षयता वर्षमा करिब पाँच लाख नयाँ र पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने गरेका छन्। गत आर्थिक वर्ष नयाँ र पुराना गरी पाँच लाख युवा वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024