काठमाडौं, भदौ २ गते । अफगानिस्तानबाट बुधबार बिहानसम्म २७२ जना नेपाली नागरिकको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । बुधबार बिहान अफगानिस्तानबाट कतार एयरवेजको जहाजबाट थप ६१ जना नेपालीको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।
उहाँले जजिरा एयरलाइन्सको चार्टर्ड बिमानबाट मङ्गलबार दिउँसो ११८ नेपाली र नौ भारतीयसहित १२७ र राति १० बजे ८४ जना नेपालीको उद्धार गरिएको जानकारी दिनुभयो । त्यस्तै, अफगानिस्तानबाट नेपाल फर्किन चाहने नेपालीले अनलाइन रजिस्ट्रेसनमा आफ्नो विवरण दर्ता गर्न सक्नेछ । प्रवक्ता पोखरेलका अनुसार अहिलेसम्म अगानिस्तानबाट नेपाल फर्किन चाहने २५६ जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् ।
उहाँले कन्सुलर सेवा विभागको वेभसाइटमा अनलाइन पोर्टलमा रहेको नामसहितका विवरण दर्ता गर्न भाइबर र ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बर उपलब्ध गराइएको जानकारी दिनुभयो । कन्सुलर सेवा विभागको ९७४९३२६४५८, परराष्ट्र मन्त्रालयको ९७४९३२६४५९ र नेपाली दूतावास नयाँ दिल्लीको ८९२९६०११२५ नम्बरको प्रयोग गरी आफ्नो विवरण टिपाउन अनुरोध गरिएको छ ।