विश्वव्यापीकरणको एउटा महत्वपूर्ण तत्व श्रमको गतिशीलता हो। यसले विश्वभरका मानिसको जीवनशैलीमा सकारात्मक/नकारात्मक परिवर्तन ल्याएको छ।
सूचनाप्रविधिको चरम विकासले विकसित देशहरूमा प्रविधिले केही बाँकी कमसल काम श्रमिक मजदुरद्वारा गर्न तथा इमर्जिङ राष्ट्रहरू प्रत्यक्ष वैदेशिक लगानी मार्फत वस्तु तथा सेवाहरू उत्पादन गरी विश्व बजारमा पुर्याउन सस्तो श्रम शक्तिको खोजी गरिरहेको समय हो यो।
पूँजीवादी उपभोक्ता संस्कृतिले गाँजेको कारण नेपाल जस्ता विकासोन्मुख मुलुकबाट युवाहरू विदेशिने लहर बढ्दो छ। हरेक वर्ष अध्ययनका लागि भन्दै विदेशिने एक लाख हाराहारी नेपालीमध्ये अधिकांशको प्राथमिकता पढाइभन्दा रोजगारी हुन्छ। सुरक्षित भविष्यको खोजीमा विद्यार्थी बनेर विदेशिने र उतै बस्ने प्रवृत्ति पछिल्ला दिन अझ तीव्र देखिएको छ।
नेपालबाट अत्यास लाग्ने गरी युवाहरू विदेशिनुको मुख्य कारण बेरोजगारी, विना आम्दानी खर्च गर्ने संस्कृति र आय वृद्धिको गोरेटो नहुनु नै हो। राष्ट्रिय जनगणना २०७८ अनुसार हाल नेपालमा काम गर्न सक्ने उमेरका ८६ लाख व्यक्तिले योग्यता र सीप अनुसारको रोजगारी पाएका छैनन्।
जनसंख्याका आधारमा ३४.२ प्रतिशत नागरिक मात्र रोजगार छन्। रोजगार पाएका पनि आफ्नो पेशामा सन्तुष्ट छैनन्। व्यापार–व्यवसाय चौपट छ, साना तथा घरेलु उद्योगहरू घटिरहेका छन्।
गुनासो, तनाव, डिप्रेसन र आत्महत्याको बढ्दो संख्या सामाजिक सञ्जालमा छरपष्ट देखिन्छ। भौतिक सुविधाको खोजीले उत्तम किसिमको अन्तरदेशीय सम्बन्ध स्थापित भएतापनि आफ्नो देशमा जमिनसँगको सम्बन्ध टुटेर उत्पादन र उत्पादकत्वमा तीव्र ह्रास भइरहेको छ।
पारिवारिक विछोड, विद्यालयदेखि क्याम्पसहरूमा विद्यार्थीको अभाव तथा चरम राजनीतिक विकृतिको कारण आर्थिक, सामाजिक रूपमा विपदोन्मुख समाजको डिस्कोर्सले आम सचेत नागरिकहरू चिन्तित देखिन्छन्।
अध्ययनमा के देखियो ?
सामुदायिक कलेजहरूबाट विद्यार्थी किन ड्रप आउट हुन्छन् र युवाहरू किन विदेश जान आकर्षित हुन्छन् ? यसको जवाफ खोज्न पंक्तिकारले परिमाणात्मक विधि प्रयोग गरी दोलखामा एउटा अध्ययन गरेको थियो। दोलखा जिल्लाका विद्यार्थी धेरै भर्ना भएका सामुदायिक कलेजहरू क्रमशः गौरीशंकर, चरिकोट र हनुमन्तेश्वरको स्नातक तहमा नियमित अध्ययन गर्ने करिब ७०० विद्यार्थीमध्ये ११२ जना नमूनाको रूपमा छनोट गरियो। विद्यार्थीहरूलाई विदेशिन प्रेरित गर्ने खासगरी घचेट्ने तत्व र तान्ने तत्व समावेश गरी अवधारणागत रूपरेखा निर्माण गरें।
विदेश जान घचेट्ने (पुस) तत्वहरू अन्तर्गतका बेरोजगारी, गरिबी, कम गुणस्तरीय शिक्षा, पारिवारिक द्वन्द्व, राजनैतिक हस्तक्षेप, कमसल विकास गतिविधि देखियो। त्यस्तै, विदेशमा तान्ने (पुल) तत्वहरूमा विदेशमा अध्ययन गर्ने अभिलाषा, फेशन, कमाउने सँगसँगै सिक्ने, धनी हुने अभिलाषा, नातेदारको प्रभाव र साथीहरूको प्रभाव जस्ता ६/६ वटा लिकर्ट स्केल भेरिएबलहरू निर्धारण गरी संरचनागत प्रश्नावली मार्फत सर्भे गरें।
कलेजमा स्नातक पढ्ने विद्यार्थीहरूको जातजाति अनुसार नमूना छनोटमा २७ प्रतिशत क्षेत्री, १२.५ प्रतिशत ब्राह्मण, ६ प्रतिशत तामाङ, २५ प्रतिशत थामी, ७.५ प्रतिशत नेवार, ५.४ प्रतिशत दलित र ६.८ प्रतिशत अन्य जाति रहेका छन्। अध्ययनको क्रममा जिल्लाको सबै पालिकाका विद्यार्थीहरू उत्तरदाताको रूपमा समेटिएको छ।
उत्तरदाताको रूपमा ४१.५ प्रतिशत भीमेश्वर नगरपालिकाबाट, १४.३ प्रतिशत वैतेश्वरबाट, १३.४ प्रतिशत कालिन्चोक गाउँपलिकाबाट, ९.८ प्रतिशत गौरीशंकरबाट, शैलुंगबाट ६.३ प्रतिशत, मेलुंगबाट २.७ प्रतिशत, बिगुबाट ५.४ प्रतिशत, तामाकोशी गाउँपालिकाबाट १.८ प्रतिशत र जिरी नगरपालिकाबाट ०.९ प्रतिशत विद्यार्थी समेटिएका छन्।
तपाईंहरूलाई विदेश जानको लागि कसले सल्लाह/सुझाव दिने गर्दछ भन्ने प्रश्नमा, आफ्नै चाहनामा ५३.६ प्रतिशत, अभिभावकले २४ प्रतिशत, साथीभाइहरूले ११.६ प्रतिशत, नातेदारहरूको सुझावमा ६.३ प्रतिशत र अन्यमा ४.४ प्रतिशत रहेको छ। यसरी हेर्दा, विदेश जानको लागि सबैभन्दा बढी आफैं तयारी भएको देखिन्छ।
वर्तमान नेपालको राजनीतिक प्रणाली प्रति कति सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नमा ८३ प्रतिशतले धेरै असन्तुष्ट र १७ प्रतिशतले मात्र सन्तुष्ट भएको जवाफ पाइयो। वर्तमान कलेजको अध्ययन छोड्न चाहनुहुन्छ भन्ने प्रश्नमा ३१.५ प्रतिशतले छोड्न चाहेको र ६८.५ प्रतिशतले छोड्न नचाहेको जवाफ प्राप्त भयो र विदेश जान चाहनुहुन्छ भन्ने प्रश्नमा ७०.५ प्रतिशतले विदेश जाने इच्छा भएको र २९.५ प्रतिशतले अहिलेसम्म जाने इच्छा नभएको बताए।
विद्यार्थीलाई विदेशिन प्रेरित गर्नेमध्ये धकेल्ने तत्व अन्तर्गत कुन मुख्य कारण हो भन्ने प्रश्नमा, बेरोजगारीमा २० प्रतिशत, गरिबीमा १७ प्रतिशत, पारिवारिक द्वन्द्वमा १० प्रतिशत, कमसल शिक्षा प्रणालीमा १७ प्रतिशत, राजनैतिक हस्तक्षेपमा १८ प्रतिशत र कमसल विकास निर्माण प्रक्रियामा १९ प्रतिशतले मत जाहेर गरे। यसरी हेर्दा विदेशिनुको मुख्य कारण बेरोजगारी समस्या देखिन्छ।
आकर्षणको लागि तान्ने कुन मुख्य कारण हो भन्ने प्रश्नमा विदेश पढ्ने अभिलाषामा १८ प्रतिशत, फेशनमा १३ प्रतिशत, पढ्ने सँगसँगै कमाउनेमा २० प्रतिशत, धनी हुनमा २० प्रतिशत, विदेशबाट आफन्तको निम्तामा १५ प्रतिशत र साथीहरूको निम्तामा १४ प्रतिशत देखियो।
यसरी विश्लेषण गर्दा, पढ्ने सँगसँगै कमाउने र धनी हुने अभिलाषामा अलि बढी मत देखिएकोले बेरोजगारी र गरिबी नै मुख्य कारण देखिन्छ। अध्ययनको मुख्य तत्वहरूमा घचेट्ने तत्व र तान्ने तत्वहरूको औसत जोडा नमूना टि टेस्ट निकाल्दा घचेट्ने तत्वको औसत मान ३.७ र तान्ने तत्वको औसत मान ३.४ प्राप्त भयो। यसरी घचेट्ने तत्वको औसत ०.४ ले बढी भएको देखिन्छ। तथ्यांक विश्लेषण गर्दा मुलुकको आर्थिक, राजनैतिक र सामाजिक अवस्थाका कारण विकर्षण भई विदेश गएको देखिन्छ।
निष्कर्ष
विश्वविद्यालय अन्तर्गतका कलेजहरूमा विद्यार्थी भर्ना कम र भएका पनि पढाइ छोड्ने (ड्रप आउट) दर बढ्दै गएको छ। युवा विदेश जानेको लहर देखिएकै छ। नेपालको ग्रामीण भेगमा श्रम शक्तिको अभावले गर्दा उत्पादनमा ह्रास देखिन्छ भने पारिवारिक एक्लोपन बढेको छ। दक्ष जनशक्ति पनि विदेश पलायन भइरहेका छन्। फलतः मुलुकको विकासमा अवरोध बढेको छ।
यसरी दैनिक वैदेशिक रोजगारीको लागि तानिने र सामाजिक मनोभाव पनि यसरी विकास भइरहेको छ। दोलखा जिल्लाका स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरूको मनोभावलाई तथ्यांकीय विधिबाट विश्लेषण गर्दा पनि विदेशमा तान्ने आकर्षण भन्दा मुलुकको आर्थिक-सामाजिक र राजनैतिक कारणले युवाहरूलाई आफ्नो मुलुकबाट घचेटिरहेको देखिन्छ।
समाजको डिस्कोर्स हेर्दा अस्थिर संघीय सरकार, अनुत्पादक खर्चिलो प्रदेश सरकार र पूँजी निर्माणको अभाव रहेको स्थानीय सरकारको कारण आम युवाहरू राजनीतिक प्रणालीप्रति असन्तुष्ट देखिएका छन्। तसर्थ मुलुकका तीनवटै सरकारले गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्छ। उत्पादनशील क्षेत्रमा लगानी गरी रोजगारीको अवसर बढाउनुपर्छ र आम नागरिकहरूको विश्वास जित्न मिहिनेत गर्नुपर्छ।