अदक्ष श्रमिककै बाहुल्य

20 Dec, 2022

तुलसी सुवेदी

काठमाडौं : स्वदेशमा रोजगारी नपाउँदा बाध्य भएर वैदेशिक रोजगारीमा जानेको बाहुल्य बढेको छ। सीप नसकेर जाने श्रमिकको हिस्सा ठूलो रहेको प्रतिवेदनले जनाएको छ।

श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले जारी गरेको श्रम, आप्रवासन प्रतिवेदनले सीप र दक्षता कम हुँदा नेपाली नेपाली श्रमिक वर्गविहीन क्षेत्रमा काम गर्न बाध्य भएको देखाएको छ। त्यस्तै महिलाहरूको ठूलो हिस्सा सरसफाइमा संलग्न हुने गरेको पाइएको छ। प्रतिवेदनअनुसार ५४ प्रतिशत बढी अदक्ष श्रमिक वैदेशिक रोजगारीमा गएका छन्।

आर्थिक वर्ष २०७६/०७७ मा ५७.८ प्रतिशत अदक्ष श्रमिक विदेश जाँदा दक्ष श्रमिक ३२.६ प्रतिशतमात्रै थिए। अर्धदक्ष ९.५ प्रतिशत, व्यावसायिक श्रमिक ०.०९ प्रतिशत, उच्च दक्षता भएका श्रमिक ०.०१ प्रतिशत मात्रै बिदेसिएकाले रेमिट्यान्स पनि संख्याको तुलनामा कम आइरहेको जानकारहरू बताउँछन्। २०७७/०७८ मा ५६.२ प्रतिशत अदक्ष श्रमिक बिदेसिँदा ३६.४ प्रतिशतमात्रै दक्ष श्रमिक बिदेसिएका छन्। अर्धदक्ष ७.३, उच्च दक्षता भएका ०.०२ प्रतिशत र व्यावसायिक पेसाका लागि ०.१ प्रतिशत नेपाली वैदेशिक रोजगारीमा गएका थिए। आर्थिक वर्ष २०७८/७९ मा ५४.२ प्रतिशत अदक्ष श्रमिक बिदेसिए। ३८.३३ प्रतिशत दक्ष, ७.४ प्रतिशत अर्धदक्ष, ०.०१ प्रतिशत उच्च दक्षता भएका र ०.०६ व्यावसायिक कामका लागि वैदेशिक रोजगारीमा गएका छन्।

प्रतिवेदनअनुसार ४० प्रतिशत पुरुष अवर्गीकृत क्षेत्रमा काम गर्छन्। निर्माण क्षेत्रमा ६.१, सवारी चालक (मेसिन अपरेटर) ८ प्रतिशत र औद्योगिक उत्पादनमा ८.९ प्रतिशत पुरुष संलग्न हुने गरेका छन्।

त्यस्तै ३९.९ प्रतिशत महिला सरसफाइमा संलग्न हुने गरेको प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिवेदनअनुसार सेवा क्षेत्र पेसामा महिला २५.६ प्रतिशत सहभागी हुने गरेका छन्। सेवा क्षेत्रअन्तर्गत हेरचाहजन्य सेवा क्षेत्रमा २.८ प्रतिशत संलग्न हुने गरेको पाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सीप सिकाएर पठाइने बताए। सातै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न लागिएकाले अब श्रमिक सीपयुक्त भएर जाने उनले बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024