अंगभंग भई वैदेशिक रोजगारीबाट फर्कनेको संख्या बढ्दै

10 Oct, 2022

सविता खड्का

वैदेशिक रोजगारीका क्रममा अंगभंग भई फर्कनेको संख्या बढ्दै गइरहेको छ। गत आर्थिक वर्षमा २ सय ७४ जना कामदार अङ्गभङ्ग भएर नेपाल फर्किएका छन्। आर्थिक वर्ष २०६५/६६ यता वैदेशिक रोजगारीको क्रममा अङ्गभङ्ग हुनेको संख्या २ हजार २ सय ५३ पुगेको छ।

त्यस्तै अङ्गभङ्ग हुने पनि सबैभन्दा बढी पुरूष कामदारहरू छन्। वैदेशिक रोजगारीको क्रममा मृत्यु हुने नेपालीको संख्या २ हजार नाघेको छ। प्रदेश नम्बर १ र २ बाट मृत्यु हुनेको संख्या तथा अङ्गभङ्ग हुनेको संख्या बढिरहेको छ।

यो संख्या वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगार कल्याणकारी कोषबाट आर्थिक सहायता पाएका कामदारको संख्या मात्रै हो। यस आर्थिक वर्षमा बोर्डबाट आर्थिक सहायता नपाएका थुप्रै संख्यामा कामदारहरूले ज्यान गुमाएका तथा अङ्गभङ्ग भएका हुन सक्ने अनुमान गरिएको छ।

प्राकृतिक मृत्यु, कार्यस्थलमा दुर्घटना, आत्महत्या, सडक दुर्घटना, हत्या, झैझगडा, हृदयघात, तथा कोभिड १९ जस्ता खतरनाक रोग लगायत विभिन्न कारणबाट वैदेशिक रोजगारीका क्रममा नेपाली युवायुवतीहरूले ज्यान गुमाउने गरेका छन्। कार्यस्थल दुर्घटना, सडक दुर्घटना लगायतकै कारणबाट ठूलो संख्यामा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरू अङ्गभङ्ग हुने गरेका छन्।

वैदेशिक रोजगारीबाट विदामा स्वदेश फर्किएको बेलामा अन्य दुर्घटना, कुटपिट, हत्या लगायत अन्य विभिन्न कारण ज्यान गुमाएका व्यक्तिका हकवालालाई भने आर्थिक सहायता उपलब्ध गराउन नसकिएको बोर्डका कार्यकारी निर्देशक टिकामणी न्यौपानेले जानकारी दिए।

त्यस्तै वैदेशिक रोजगारीका क्रममा अंगभंग भएका कामदारहरूको अंगभंगको प्रकृति हेरेर बोर्डले आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ।

कतार, मलेसिया, साउदी, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया, जापान लगायत मुलुकहरूमा ठूलो संख्यामा नेपाली कामदारहरूले ज्यान गुमाउने तथा अंगभंग हुने गरेका छन्। वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारले ७ लाखसम्म आर्थिक सहायता प्राप्त गर्छन्।

२०७४ साउन १५ गतेभन्दा अगाडि ज्यान गुमाएका व्यक्तिका परिवारलाई बोर्डले ३ लाख आर्थिक सहायता उपलब्ध गराउँदै थियो भने २०७४ साउन १६ देखियता ज्यान गुमाउने व्यक्तिका परिवारलाई बोर्डले ७ लाख आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ।

वैदेशिक रोजगारीका क्रममा रही करार अविधि भित्रै स्वदेश फर्किएको अवस्थामा ज्यान गुमाएका ३ सयभन्दा बढी परिवारले आर्थिक सहायताका लागि बोर्डमा निवेदन दिएका छन्।

बिदाको समयमा स्वदेश फर्किएर आत्महत्या, प्राकृतिक मृत्यु, सडक दुर्घटना, हत्या, झैझगडा लगायत अन्य कारणबाट ज्यान गुमाएका धेरै व्यक्तिका हकवालाले आर्थिक सहायता पाउन सकेका छैनन्।

सबैभन्दा बढी नेपालीहरू वैदेशिक रोजगारका लागि मलेसिया जाने गरेको वैदेशिक रोजगार बोर्डको निर्देशक दिपक ढकालले बताए। अहिलेसम्मको तथ्याङ्कअनुसार मलेसियामा सबैभन्दा बढी अङ्गभङ्ग हुने देखिएको छ। वैदेशिक रोजगारी वोर्डको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०/७१ देखि चालु आर्थिक वर्ष असोज १२ गते सम्म मलेसियामा ६४३ जनाको अङ्गभङ्ग भएको छ।

त्यस्तै गरी अङ्गभङ्ग हुनेमा २०७०/७१ देखि चालु आर्थिक वर्षको असोज १२ सम्म साउदी अरवियामा ५०४ जना र कतारमा ४२९ जना रहेका छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024