s

युवती लुट्ने अधिकृतहरुलाई छुट!

सुन्दर खनाल

साउदी अरबबाट फर्केकी भोजपुरकी युवतीबाट सबैभन्दा बढी २०-२० हजार रुपैयाँ लिएका अध्यागमनका शाखा अधिकृतद्वय रामप्रसाद कोइराला र टीका पोखरेल काण्ड पर्दाफास भएको निकै दिनपछि मात्र फरार भए ।  काण्डका मुख्य योजनाकार नासु सोमनाथ खनालले पोलेपछि पनि उनीहरू खनाल धरौटीमा रिहा भइहाले आफूहरूलाई पनि सजिलै उन्मुक्ति मिल्ने सोचाइले बसिरहेका थिए । देशव्यापी विरोधसँगै खनाललाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि उनीहरू भागे ।

यतिखेर कोइराला र पोखरेललाई खोज्न नेपाल प्रहरीले उच्चस्तरीय अनुसन्धान सुरु गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको विशेष टोली र महानगरीय प्रहरी अपराध महाशाखा समेत यसमा लागेका छन् । अभियुक्तहरू फरार भएको लामो समयपछिको यस्तो पहल आफैंमा हास्यास्पद भएको सम्बद्ध अधिकारी बताउँछन् । मंसिर १ को घटना एक महिनापछि सार्वजनिक भयो । खनाल पक्राउ परे । गृह मन्त्रालयले सहसचिवस्तरीय समितिबाट छानबिन गरायो । कोइराला र पोखरेल दुवैले समितिमा बयान दिँदै आफूमाथिको आरोप खण्डन गरे । साथै उनीहरूले महानगरीय प्रहरी परिसर हनुमानढोकामा गएर हाजिरजमानीमा कागजसमेत गरे । अधिकृतस्तरका कर्मचारी र राजनीतिक रूपमा प्रभावशाली पनि भएका कारण उनीहरूलाई गृहप्रशासन र प्रहरी दुवैले भाग्ने मौका दियो । पक्राउ त परै जाओस्,  निगरानीसमेत गरिएन । प्रधानमन्त्री कार्यालयको छानबिनले उनीहरूको ठाडो संलग्नता देखाइसकेको छ । अदालतले पनि अभियुक्त कायम गर्दै पक्राउ आदेश दिइसकेको छ ।  अध्यागमनका माथिल्ला तहका कर्मचारी मुछिएर पहुँचकै आधारमा पक्राउ हुनबाट बच्दै सहज उन्मुक्तिको पहल गरेको यो दोस्रो चर्चित प्रकरण हो । दुई वर्षअघि रातो पासपोर्ट प्रकरणमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख षडानन्द ढकाल लामो समय फरार भई अन्ततः अदालतमा हाजिर भएर धरौटीमा छुटेका थिए । स्रोतका अनुसार भोजपुरकी युवती लुटपाट, बलात्कार प्रकरणमा कोइराला र पोखरेललाई जोगाउन राजनीतिक स्तरबाट ठूलै शक्ति प्रयोगसमेत भएको थियो । दोषीमाथि कारबाही माग गर्दै देशव्यापी प्रदर्शन हुन थालेपछि प्रधानमन्त्रीले यो प्रकरणसँगै तत्कालीन अवस्थामा सार्वजनिक भएका अन्य महिला हिंसासम्बन्धी घटनामा विशेष छानबिनका लागि निर्देशन दिएका थिए । 

कोइराला र पोखरेल दुवै यतिखेर भारतमा लुकिरहेको भन्ने सूचनालाई प्रहरीले प्रमाणीकरण गर्न खोजिरहेको छ । 'तर जहाँ पनि हुन सक्छन्, बलियो आधार भेटिएको छैन,' एक अनुसन्धान अधिकृतले भने । कोइराला कांग्रेसनिकट कर्मचारी युनियनका केन्द्रीय सल्लाहकार हुन् । उनी अघिल्ला दुई केन्द्रीय निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका थिए । राजनीतिक पहुँचकै आधारमा उनले चौथोपल्ट अध्यागमनमा पोस्टिङ पाएका थिए । 

पोखरेल एमाओवादी समर्थित कर्मचारी युनियनका अध्यागमन विभाग इकाई अध्यक्ष हुन् । उनले प्रकरणका मुख्य योजनाकार खनाललाई सचिव बनाएका थिए । दुवैले माओवादी प्रवेश गरी विभाग पोस्टिङको बाटो खुलाएका थिए । 

राजनीतिक लाइनकै कारण दुवैको गृह प्रशासनमा विशेष प्रभाव थियो । उनीहरू भोजपुरकी युवती लुटपाट, बलात्कार प्रकरणका प्रत्यक्ष दोषी हुन् भनेर पत्याउन सुरुमा गृह प्रशासनलाई गाह्रो परेको थियो । भोजपुरकी युवतीलाई २० हजार रुपैयाँमा रिहा गर्ने क्रममा उनीसँग भएको एक लाख रुपैयाँभन्दा बढी पैसा खोसेर लिएपछि विभागको कानुन शाखाका कोइराला, पोखरेल र खनालले उनलाई एक प्रहरीको जिम्मा लगाएर छाडेका थिए । प्रहरी जवान पर्शुराम बस्नेतले युवतीलाई घर जान बसपार्कसम्म छाडिदिने बहानामा गोंगबुस्थित एक गेस्टहाउसमा लगी बलात्कार गरेका थिए । 

स्रोतका अनुसार कोइराला, पोखरेल र खनालले ती युवतीमाथि यतिसम्म अन्याय गरेका थिए कि उनी एक महिनापछि गुनासो गर्न विभाग आउँदा उल्टै हप्काइ, दप्काइ फर्काएका थिए । 

प्रधानमन्त्री कार्यालयद्वारा सचिव राजुमानसिं मल्लको संयोजकत्वमा गठित छानबिन समितिले गत माघ ३ मा सार्वजनिक गरेको प्रतिवेदनले उक्त प्रकरणमा तत्कालीन विभागका महानिर्देशक सुरेश अधिकारी र निर्देशक लेखनाथ पोखरेलको पनि चरम लापरबाही देखिएको उल्लेख गर्दै कारबाहीका लागि सिफारिस गरेको छ ।

Published on: 24 February 2013 | Kantipur

Back to list

;