s

युवालाई भिजिट भिसामा यूएई लगेर अलपत्र पार्ने ५ जना पक्राउ

१६ जेठ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले नेपालीहरुलाई यूएई पुर्या्एर अलपत्र पार्ने काममा संलग्न ५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्युरोका एसएसपी कुवेर कडायतले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई भेटी भिजिट भिसामा यूएई पुर्याएर अलपत्र पार्ने काममा संलग्न मुख्य अभियुक्तहरु पक्राउ गरिएको जानकारी दिएका छन् ।

कडायतका अनुसार मुख्य आरोपी त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका संचालक कोमलराज उपाध्यायलाई युएई प्रहरीले दुवईमा पक्राउ गरेको छ । उनलाई नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरेको थियो । उपाध्यायकी श्रीमती रञ्जना ढकाललाई आइतवार सर्लाहीबाट पक्राउ गरिएको छ । ताल्चा लगाएको घरभित्र लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको कडायतले बताए ।

साथै रोजगारीको प्रलोभन देखाएर नेपाली युवालाई भिजिट भिसामा यूएई पुर्याउने कार्यमा संलग्न मधुविलास सापकोटा, खुमबहादुर खड्का र सन्तोष प्याकुरेल पनि पक्राउ परेका छन् । उनीहरुले भिजिट भिसाको नाममा करिव २ करोड ५० लाख ठगी गरेको भन्दै ७६ जना पीडितले उजुरी दिएका थिए ।

एसएसपी कडायतले ठगीमा संलग्न कम्पनी वा व्यक्तिलाई कारवाहीको दायरा ल्याउन उनिहरुबारे जानकारी गराइ सहयोग गर्न केन्द्रीय अनुसन्धान व्युरोले अपील गरेको बताए ।

आकर्षक रोजगारी लगाइदिने भन्दै ‘भिजिट भिसा’मा यूएईसहित विभिन्न मुलुक पुर्याएर अलपत्र पार्ने काममा संलग्न मेनपावर कम्पनी, कन्सल्ट्यान्सीहरु. ट्राभल्स सञ्चालकहरु, दलाल तथा बिचौलियालाई कारवाहीको दायरामा ल्याउनुपर्ने मन्त्री श्रेष्ठले बताए ।

Published on: 30 May 2022 | Onlinekhabar

Link

Back to list

;