s

युवालाई विदेशकै मोह, स्वदेशमा हटेन दक्ष कामदार अभाव

अमृत सुवेदी
 
‘म त विदेश जाँदैछु,’ स्थानीय रमेश सिग्देलले भने ।
 
‘किन, यहाँ राम्रै कमाइ हुन्थ्यो त ?’
 
‘भनेजस्तो काम नै पाइँदैन । नेपालमा बसेर केही हुँदैन । विदेश गएर २/४ वर्ष दुःख गर्छु,’ उनले निराशा व्यक्त गरे, ‘बरु, पछि फर्केर आफ्नै व्यवसाय गर्ने सोचिरहेको छु ।’
 
सिग्देल नेपाली समाजको एक आम पात्र हुन् । हरेक युवाको मुखबाट सिग्देलकै जस्तो जवाफ निस्किन्छ, ‘देशमा कामै पाइँदैन, पाए पनि भनेजस्तो हुँदैन । काम गर्‍योगर्‍यो सुको बच्दैन । विदेश गएर २/४ वर्ष दुःख गरे २/४ लाख त कमाइन्छ ।’
 
सुरक्षित आप्रवासन परियोजना (सामी) कास्की प्रमुख माया मनांगी भने बिदेसिन चाहने युवालाई फरक सुझाव दिन्छिन् । ‘नेपालबाट देखेको सपना र अरब गएर भोग्ने वास्तविकतामा आकाश र जमिनको फरक हुन्छ,’ उनी भन्छिन्, ‘यहाँ भनेजस्तो नपाएजस्तै विदेश पुगेर पनि त्यस्तै हुने सम्भावना हुन्छ । काम पाए पनि समयमा तलब नपाउने, भाषा र सीपको अभावले हुने शोषण र कामदाले पाउने सास्ती र पीडा भयानक छ ।’
 
चरम शोषणमा पर्ने र ज्यान गुमाउनेसम्मका घटना एक दशकयता त नौला लाग्न छाडिसकेका छन् । तर, युवाको विदेश पलायन रोकिनुको साटो अझ बढ्दो छ । समाजशास्त्री तथा वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङका अनुसार नेपालमा सक्रिय जनशक्ति ५७ प्रतिशत छ । कुल जनसंख्याको झण्डै ३० प्रतिशत जनसंख्या (करिब ८० लाख) अर्ध-बेरोजगार छन् । अर्थात्, पर्याप्त काम नपाएको यो समूह सधैं कामको खोजीमा रहन्छ । ‘ह्वाइट कलर जब’ खोज्ने प्रवृत्तिका कारण अर्ध-बेरोजगारी बढेको डा. गुरुङको विश्लेषण छ । देशभित्रै मजदुरी गर्न नचाहने धेरैजसो सानोतिनो घरायसी काम गरेर बसेका छन् ।
 
कामलाई सानो देख्ने तर आकांक्षा ठूला
 
पलायन भएका युवा, पोखराका व्यवसायी र लगानीकर्ताको भनाइ भने ठीक विपरित छ । युवा भन्छन्, ‘कामै पाइँदैन ।’ व्यवसायी भन्छन्, ‘कामदारै पाइँदैन ।’
 
लगानीकर्ता र व्यवसायीहरुका अनुसार निर्माण र उत्पादनमूलक उद्योगमा दक्ष मात्र होइन, अदक्ष कामदारसमेत पाउन मुश्किल छ । कामदार र व्यवसायीबीच किन यत्रो खाडल त ? ‘पहिलो त अहिलेका युवा यहाँ काम गर्नै चाहँदैनन् । उनीहरुको आकांक्षा नै ठूलो हुन्छ । यहाँको कामलाई सानो देख्छन्,’ निर्माण व्यवसायी सुरेश श्रेष्ठ भन्छन्, ‘दोस्रो, पाइएका कामदार पनि धेरैजसो अदक्ष हुन्छन्, काम गर्दै जाँदा दक्ष भएपछि उनीहरु पनि पलायन हुन्छन् । र, यहाँ कामदारको अभाव रहिरहन्छ ।’
 
पोखरा र आसपासका क्षेत्रमा कामदारको चर्को अभाव छ । साना-ठूला निर्माणका काम तथा परियोजना समयमै सक्न नसकिने समस्या सोही कारण उत्पन्न हुने गरेको व्यवसायीहरु बताउँछन् ।
 
मौसमी कामले पनि कामदार पलायन बढाइरहेको छ । हिउँदमा काम पाउने र बर्खामा खाली बस्नुपर्ने समस्याले उनीहरुमा निराशा बढाउँछ । घर निर्माण, जलविद्युत, कृषि, उद्योगलगायत थुप्रै क्षेत्रमा काम गर्न कास्की आसपासमा दैनिक हजारभन्दा बढी कामदार आवश्यक छ । निर्माण क्षेत्रले त यसअघि नै कामदार नपाउने समस्या भोगिरहेको छ ।
 
अनुभवी मजदुरलाई रोक्न नसक्दा र नयाँको प्रवेश नहुँदा जनशक्तिको चरम अभाव देखिनु स्वाभाविकै हो । मौसमी कामले पनि कामदार पलायन बढाइरहेको छ । हिउँदमा काम पाउने र बर्खामा खाली बस्नुपर्ने समस्याले उनीहरुमा निराशा बढाउँछ । ‘यहाँ बहुवर्षे योजनाहरु छैनन्, त्यसैले पनि कामदार धेरै वर्ष टिक्दैनन्,’ निर्माण व्यवसायी श्रेष्ठ भन्छन् । उनका अनुसार पोखरामा १५ देखि २० हजारको हाराहारीमा कामदार छन् ।
 
निर्माण क्षेत्रमा मात्र त्यसको एक चौथाइ कामदारको अभाव सधैं छ । ‘दक्ष कामदार त यहाँ बस्दै बस्दैनन् । अलिअलि काम जानेपछि विदेशको भूत चढिहाल्छ,’ श्रेष्ठ भन्छन्, ‘काम सानो हुँदैन । विदेशमा गर्ने कमाइ यहीं गर्न सकिन्छ भन्ने चेतनाको खाँचो छ ।’ पोखराको निर्माण क्षेत्रमा अधिकांश कामदार भारतीय छन् । रोजगारीको खोजीमा युवा बिदेसिँदा नेपालका गाउँ भने रित्ता हुँदै गएका छन् ।
 
विदेशमा हुने कमाइ यहीं
 
पारिश्रमिक कम हुने भएकाले कामदारको अभाव भएको हो कि ? त्यो पनि होइन । एउटा मिस्त्रीले विदेशमा हुने कमाइ यहीं गर्न सक्छ । समाजशास्त्री डा. गुरुङका अनुसार विदेश जानेहरुमध्ये १० प्रतिशत मात्र दक्ष कामदार हुन्छन् । ‘बाँकी ९० प्रतिशत लेबरमा जाने हुन् र उनीहरुले पाउने पारिश्रमिक मासिक १८ हजारदेखि ३० हजारसम्म हुन्छ,’ डा. गुरुङ भन्छन् ।
 
निर्माण व्यवसायी श्रेष्ठका अनुसार नेपालमै काम गर्ने अदक्ष कामदारले पनि दैनिक चार सयदेखि ६ सय कमाउँछ । र, दक्ष कामदारको कमाइ दैनिक एक हजारदेखि दुई हजारसम्म हुन्छ । ‘स्वदेशमै कामदारले मासिक १५ हजारदेखि ६०/७० हजारसम्म कमाउन सक्छ,’ श्रेष्ठ भन्छन् ।
 
दैनिक १२ घण्टा काम गर्दा ज्याला पनि सोहीअनुसार बढ्छ । कमाइका हिसाबले यो पारिश्रमिक नराम्रो होइन । ‘कामदारलाई टिकाएर राख्नै सकिन्न,’ अर्का निर्माण व्यवसायी वासु गौचन भन्छन्, ‘अलिअलि काम सिकेपछि विदेशतिर हिँडिहाल्छन् । परियोजनापिच्छे नयाँ कामदार खोज्नुपर्ने र उनीहरूलाई काम सिकाउनुपर्ने अवस्था छ ।’
 
हरेक क्षेत्रमा अवसरै अवसर
 
विनासले अवसर पनि साथमै ल्याउने भनाइ छ । भूकम्पपछिको पुनर्निर्माण त्यस्तै एउटा अवसर हो । यतिखेर थुप्रै दक्ष कामदार आवश्यक छन् । तर, अभाव उस्तै रहेको निर्माण व्यवसायी ऋषि गौतम बताउँछन् ।
 
कामदार अभावको समस्या सबैजसो क्षेत्रमा छ । टी टाइम रेस्टुराँका सञ्चालक हरि बस्ताकोटी हरेक क्षेत्रमा अवसरै अवसर देख्छन् । पर्यटनको पर्यायवाची पोखरामा होटेल र रेस्टुराँले मुश्किलले दक्ष कामदार जुटाएका छन् । ‘दक्ष कामदारले यहीं राम्रो कमाइ गर्न सक्छ तर अभावले सधैं समस्या पार्छ,’ बिजी बी क्याफेका ज्याक तामाङ भन्छन् । उद्योग, होटेल, कृषि, रेस्टुराँ, पदयात्रा, प्रेसलगायत हरेक क्षेत्रमा अवसर रहेको उनको भनाइ छ ।
 
Published on: 21 November 2017 | OnlineKhabar

Back to list

;