s

युवाहरूले देशभित्रै काम पाउने वातावरण सिर्जना गर्न 'श्रमाधान रोजगार मेला'

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गोविन्द रिजालले दीर्घकालीन रूपमा आन्तरिक रोजगारीलाई बढावा दिन सरकारले सातै प्रदेशमा श्रमाधान रोजगार मेला आयोजना गरेको बताएका छन्। युवाहरूले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उदेश्यले मेला आयोजना गरिएको उनले बताए।

'मेलाको मुख्य उदेश्य भनेको रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रवर्द्धन गरेर लैजाने हो। त्यस्तै, सीप तथा क्षमता विकासका सम्भावना र त्यसका उपयोगको बारेमा तालमेल गर्ने र समग्रमा हामीले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्नका लागि भूमिका खेल्ने उदेश्य हो,' उनले भने।

मेला कामको खोजीमा रहेका युवाहरू र रोजगारदाताको मिलन बिन्दु हुने अपेक्षा मन्त्रालयले राखेको छ।

'यस पटकको रोजगार मेलामा जति कामको खोजीमा रहेका युवाहरू आउनुहुन्छ सबैले अपेक्षा अनुसारको रोजगारी पाउनुहुन्छ भन्ने सोचेका छैनौं। तर मेलाले पक्कै केही रोजगारी सिर्जनामा सघाउँछ। आगामी दिनमा यो मेला रोजगारदाता र रोजगारी खोजिरहेकाहरूका लागि मिलन बिन्दु हुनसक्छ भन्ने अपेक्षा छ,' उनले भने।

मेलामा श्रमिकहरू तथा सरोकारवालाले रोजगारीसँग जोडिएका गुनासा पनि राख्न सक्ने छन्। यससँग सम्बन्धित निकायले रोजगारीका क्षेत्रमा देखिएका समस्या तथा आएका गुनासा सुनेर समाधानका लागि उपाय निकाल्ने वातावरण बन्ने उनको भनाइ छ।

मेलाको उदेश्य आन्तरिक रोजगारी प्रवर्द्धनसँगै वैदेशिक रोजगारी व्यवस्थित गर्नु पनि भएको सहसचिव रिजालले उल्लेख गरे।

'वैदेशिक रोजगारीको सन्दर्भमा कतिपय कुराहरू तल्लो तहसम्म पुर्‍याउन पनि नसकेको होला। त्यो खालको सूचना-सन्देश हामीले सम्प्रेषण गर्छौं। ठगी भइरहेका छन् भने त्यसको गुनासो पनि संकलन गर्ने काम मेलाबाटै गर्छौं। कहाँनिर सुधार गर्नुपर्ने छ पता लागि सकेपछि समाधानमा पनि सहज हुन्छ,' उनले थपे।

यसका लागि वैदेशिक रोजगार बोर्ड, सामाजिक सुरक्षा कोष विभिन्न म्यानपावर कम्पनीका छाता संगठनले पनि मेलामा स्टल राख्ने उनको भनाइ छ।

मेलामा श्रम मन्त्रालय र मातहतका सबै निकाय, विभिन्न तालिम प्रदायक संस्थाहरूको उपस्थिति रहनेछ। सामी परियोजना, रेमी योजना, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल व्यवसायी महासंघ लगायतले मेलामा स्टल राख्नेछन्।

मेला हरेक प्रदेशमा दुई दिन चल्नेछ। जेठ १७ गते कोशी प्रदेशबाट सुरू हुने यो मेला बागमती प्रदेशमा जेठ ३० गते समापन गरिनेछ।

कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते मेला चल्नेछ। मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २० गते मेला आयोजना हुनेछ। गण्डकीको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णालीको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते र बागमतीको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ।

आगामी वर्षहरूमा यो मेलालाई धेरै तयारी गरेर थप व्यवस्थित गर्ने गरी मन्त्रालयले योजना बनाएको सहसचिव रिजालले बताए।

'आगामी वर्षको बजेटमा पनि हामीले यो कार्यक्रम प्रस्ताव गरेका छौं। हाम्रो परिकल्पना सबै स्थानीय तहसम्म यो कार्यक्रम पुर्‍याउनुपर्छ भन्ने हो,' उनले भने।

Published on: 27 May 2024 | Setopati

Link

Back to list

;