s

युवाविहीन बन्दै गाउँबस्ती

बझाङ, माघ २५ गते । खप्तडछान्ना गाउँपालिका–३, धडागाउँका रामबहादुर सार्कीको घरमा ताला लागेको छ वर्ष भयो । उहाँको घरको रेखदेख गर्ने कोही छैनन् । उहाँका तीन छोरी, दुई छोरा र श्रीमती छिमेकी देश भारतमा छन् ।

गाउँघरमा छाक टार्न धौ धौ भएपछि धडागाउँमा बस्ने अधिकांश सार्की परिवार रोजगारीको सिलसिलामा भारत पलायन भएका हुन् । गाउँघरमा रोजगारीको अवसर तथा खेतीपाती गर्दा राम्रो उब्जाउ नहुने भएकाले यसरी पलायन हुनु परेको स्थानीयको भनाइ छ ।

यहाँका अधिकांश युवा कामको खोजीमा बाध्य भएर गाउँ छोडेर अन्यत्रै पलायन भएका छन् । कतिपय झोलीझिम्टा बोकेर र घरमा ताला ठोकेर तराई तथा भारत पस्ने गरेका छन् । स्थानीय राजे सार्कीको घरमा पनि ताला लागेको वर्षौं भयो । उहाँ पनि सपरिवार भारत पस्नुभएको छ । केही महिनाअघि गएको भूकम्पका कारण घर चर्किए पनि पुनर्निर्माणका लागि राजे सार्की गाउँ फर्किने सम्भावना देखिँदैन ।

अधिकांश नागरिक भारत जानुको मुख्य कारण आम्दानीको स्रोतको अभाव, खेतीयोग्य जमिन तथा स्वरोजगार नहुनु मुख्य कारण देखिएको छ । अर्काको खेतबारीको काम गर्नु, मागेर जीविका चलाउनु र काम गरेर खाने वातावरण नभएपछि भारत पस्ने गरेको देखिन्छ ।

त्यस्तै स्थानीय युवा हिरू सार्की, बने सार्की, सिबु सार्की, कन्तरे सार्की, हर्क सार्कीलगायत १५ परिवारको घरमा ताला लागेको छ । गाउँ सुनसान जस्तै बनेको छ । कसैको घर वृद्धवृद्धा बाआमाले कुरिरहेका छन्, कसैकोमा ताला लागेको छ ।

रोजगारीको खोजीमा भारत नगएको एउटा घर पनि बाँकी छैन । स्थानीय सिद्धराज सार्र्कीले भन्नुभयो, “मेरो आफन्तका १९ घर छन् तर अहिले तीन/चार परिवार मात्रै गाउँमा छौँ । अरू सबै रोजगारीको खोजीमा घरमा ताला लगाएर सपरिवार भारतका विभिन्न सहरमा पुगेका छन् ।

परिवारसहित भारत पसेकाहरू वर्षौं भइसक्दासमेत फर्किएका छैनन् । स्थानीय सरकारले गाउँ गाउँमा सडक, बत्ती र खानेपानीको सुविधा पु¥याए पनि आम्दानीको स्रोतको अभावमा गाउँ छोडेर अन्यत्र पलायन हुनेको सङ्ख्या बढिरहेको छ ।

कहिलेकाहीँ देवीदेवताको पूजाआजा गर्न आउने पनि एक/दुई दिन बसेर भारत नै फर्किने गरेका छन् । रोजगारीको खोजीसँगै भारत पसेका सबै जनाले छोराछोरीसमेत सँगै लैजाने गरेका कारण बालबालिकाको भविष्यसमेत अन्धकार बन्दै गएको बताइन्छ ।

यहाँ गाउँमा बस्ने वातावरण छैन । भारतका विद्यालयमा अध्ययन गराउन आर्थिक अवस्थाले भ्याउँदैन । जसका कारण विद्यालय जाने उमेर समूहका बालबालिका बुवाआमासँग मजदुरी गर्न बाध्य हुने गरेको स्थानीय मदन सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँमा रोजगारीको अवसर नभएका कारण युवा बिदेसिएसँगै मान्छे मर्दा लास घाटसम्म पु¥याउने मान्छे पनि छैनन् । कतिपय युवाका लागि विदेश जानु फेसन जस्तै भएका कारण बझाङका धेरै गाउँ रित्तिएका छन् ।”

खप्तडछान्ना गाउँपालिका–३ का वडाध्यक्ष गौरी अधिकारीले भारत जाने सङ्ख्या धेरै रहेको बताउनुभयो । घरको एक जना रोजगारीका लागि भारत नगएको कुनै गाउँ नै छैन । यस विषयमा वडा र पालिकाभन्दा पनि प्रदेश सरकार र सङ्घीय सरकारले विशेष नीति ल्याएर काम गर्नुपर्ने सुझाव उहाँको छ ।

खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तम रोकाया विदेश जाने युवालाई स्वदेशमै रोक्न विभिन्न सिपमूलक तालिम र अनुदानका कार्यक्रम सञ्चालन गरिएको बताउनुहुन्छ ।

बझाङका विकट साइपाल, तलकोट, मष्टा गाउँपालिका, जयपृथ्वी नगरपालिका, थलारा, छबिसपाथिभेरा, दुर्गाथली, सुर्मा, केदारस्युँ, विथ्थडचिर गाउँपालिका र बुङ्गल नगरपालिकाबाट हजारौँको सङ्ख्यामा युवा भारत पलायन भएका छन् ।

Published on: 8 February 2024 | Gorkhapatra

Link

Back to list

;