s

युवावस्थाको चिन्ताले जब ९ वर्षीय बालकले एमाले अध्यक्ष ओलीलाई बुझाए चिठ्ठी

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली यतिबेला मध्यपहाडी लोकमार्कमा संकल्प यात्राको अभियानमा सरिक छन्। बैतडीको झुलाघाटमा यात्रा थालनी गरेका अध्यक्ष ओली सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बास बसे।

मंगलबार विहानै सुर्खेतबाट जाजरकोट हिँडेका अध्यक्ष ओलीलाई बीच बाटोमा एक बालकले रोके। गुर्भाकोट नगरपालिका-१० भेडाबारीका ९ वर्षीय किशोर पौडेलले अध्यक्ष ओलीलाई कागजमा लेखेको चिट हस्तान्तरण गरे। चिटमा लेखिएको छ, 'सम्मानीय पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यु, म र मजस्ता बालबालिकाहरू युवा अवस्थामा पुग्दासम्म पेट पाल्नको लागि विदेश जानैपर्ने अवस्थाको अन्त्य गरिदिनिहुन अनुरोध गर्दछु।' ती बालकले देशकै एक शक्तिशाली नेतालाई आफू युवा अवस्थामा आइपुग्दा स्वदेशमै कमाइको वातावरण बनाउन सल्लाह दिएका थिए।

सोही चिट सामाजिक सञ्जालमा साझा गर्दै अध्यक्ष ओलीले एमालेको मध्यपहाडी यात्रा यसकै निम्ति थालिएको प्रस्ट पारेका छन्। उनले मध्यपहाडी क्षेत्रमा अहिले चिल्ला सडक बनेको बताउँदै ती बालको सपना पूरा गर्न सघाउने प्रतिवद्धता जाहेर गरेका छन्।

ती बालकको पत्र पढेपछि ओलीले भनेका छन्, 'मैले सोचें- हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो। भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो। यसलाई छिटो सम्पन्न गर्नुपर्छ। ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेका हौं। सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन्। यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ।'

Published on: 6 December 2023 | Annapurna Post

Link

Back to list

;