s

युवा रहे न मुलुक रहने हो

गाउँघर किन युवाविहीन छ ? गाउँ बस्नलायक नभएर हो, या अवसर नभएर ? युवा भन्छन्, ‘मेरो सीपअनुसार काम भएन । कामको सम्मान भएन । कसरी जीवन धान्नु ? न रोजगारी छ, न कुनै आम्दानी ! एउटा, गरिखाने शिक्षा छैन । अर्को, शिक्षित हुँदा पनि रोजगारी छैन । न आफ्नो उत्पादनले खान पुग्ने जमिन नै छ ।’

म अघिल्लो वर्ष मधेश र लुम्बिनी प्रदेश (सप्तरी, धनुषा, सर्लाही, रौतहट, कपिलवस्तु, दाङ, रोल्पा र बाँके) पुगेको थिएँ, अध्ययनका सिलसिलामा । महिला, युवा र सीमान्तकृत समुदायबारे अध्ययन गर्नु थियो । झन्डै आठ सयजति युवाबिच गरिएको छलफलमा ७५ प्रतिशतले ‘विदेश जाने’ योजना सुनाए । गाउँको छलफलमा युवा खासै भेटिएनन् । युवाहरू बजारमा भेटिए । ‘गाउँबाट सहर र सहरबाट विदेश पलायन’ हुँदै गर्दा ।

गाउँमा ज्येष्ठ नागरिक र महिला मात्र भेटिन्छन् । स्वदेशमै रोजगारी नपाएपछि पुरुषहरू कामका लागि बिदेसिएका छन् । यही कारण परम्परादेखि गरिँदै आएको कृषिको पूरै बोझ महिलामाथि थपिएको छ । कतिपय सीमान्तकृत समुदायका युवा आफू वा परिवारका सदस्यले लिएको ऋण चक्रमा फसेका कारण बिदेसिन बाध्य छन् । स्वदेशमै रोजगारीका अवसर नपाउँँदा युवाहरू विदेशमा आधारभूत स्वतन्त्रता र मानव अधिकार हनन हुने स्थितिमा समेत काम खोज्न र गर्न बाध्य छन् ।

आर्थिक अवस्था कमजोर छ, विद्यालय टाढा छ । युवाको शैक्षिक पहुँच फितलो छ । एकातिर व्यावहारिक शिक्षाको अभाव छ । अर्कातिर परम्परागत सीप प्रवद्र्धन गर्ने वातावरण छैन । युवाले आफ्नो रुचि, क्षमताअनुसारको प्रगति खोजेका छन् । उनीहरू प्रतिस्पर्धा चाहन्छन् । आफ्नै मुलुकमा हैसियत बनाउन चाहन्छन् । तर, उनीहरूले अवसर नै पाएनन् ।

रोजगारीका नाममा होस् या अध्ययनको बहाना, हरेक दिन हजारौँ युवाले देश र हरेक वर्ष सयौँ युवाले गाउँ छाडिरहेका छन् । यो युवा पलायनको कारुणिक दृश्य हो । उनीहरू घर, परिवार, आफन्त, गाउँ र देश छोड्न किन मरिहत्ते गरिरहेका छन् ? उनीहरूका लागि विदेश किन मूल्यवान् हुँदै छ ? आफ्नै गाउँ आफ्नै देशमा आफ्नै व्यवसाय सञ्चालन गरेर यहीँ भविष्य किन देखिरहेका छैनन् तिनले ?

गत फागुनमा प्युठान पुगेको थिएँ, अर्काे एक अध्ययनका लागि । अध्ययनको विषय थियो— युवा रोजगार र बजार । माथिको प्रश्न विजुवार बजारका ‘बचेका’ युवालाई सोधेँ । युवाको जवाफ ‘आफ्नै गाउँठाउँमा केही गर्न नखोजेका होइनौँ । फलाएको तरकारीले बजार पाएन । सीप छ, रोजगारी छैन । गाउँमा बसौँ, उच्च शिक्षाका लागि बजार झर्नुपर्छ । अवसर कि सहरमा छ, कि विदेशमा ।’

अहिलेको युवा पलायनले सबैभन्दा ठुलो समस्या निम्त्याएको भनेको नै प्रतिभा पलायन हो । ‘नेपालमा केही हुँदैन’ भन्ने एक किसिमको नकारात्मक भाष्य निर्माण भएको छ । ‘यहाँ गरेर केही हुँदैन’ भन्ने हाउगुजी जहाँकहीँ सुनिन्छ । यही भाष्यका कारण शिक्षित तथा सीप भएका युवाको प्रतिभा पलायन बढिरहेको छ र यसको असर हाम्रो स्थानीय अर्थतन्त्रमा परेको छ । अहिले होटेल व्यवसाय, व्यापारी तथा उद्यमीलाई दक्ष कामदारको अभाव छ । प्रतिभा पलायनका कारण अहिले समाजमा बालश्रम फस्टाएको छ । होटेल व्यवसाय, उद्योग, निर्माण र अन्य व्यवसायमा विपन्न तथा गरिब परिवारका बालबालिकालाई देख्न सकिन्छ ।

गाउँ शून्य छ । चाहपहल कम छ । आजकाल भान्टाङभुन्टुङ बालबालिका देखिँदैनन् । ‘छोरो विदेश । बुहारी नातिनातिना पढाउन र बढाउन सहर झरेकी छिन् ।’ गाउँ पुग्दा हरेक वृद्धवृद्धाको मुखबाट यस्तै जवाफ सुनिन्छ । सहर बजारमा केही युवा भेटिन्छन् । जब, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्छु । साँच्चै युवा नेपालमा छन् त ? भन्ने प्रश्न उब्जिन्छ । गाडीबाट भारत जानेको ताँती पनि उस्तै छ, पश्चिमका पहाडी गाउँहरूबाट । अवसर र रोजगारी अहिले निकै बहसका विषय हुन् ।

नेपालजस्ता देशमा त झन् अवसर र रोजगारीको बहस सडकदेखि सरकारसम्म हुने गर्छ । नेपालका युवा मध्यपूर्व, युरोपदेखि अमेरिकामा अध्ययनको अवसरका लागि बिदेसिने गरेका छन् । अझै प्रस्ट भन्दा रोजगारीका लागि लाखौँ युवा खाडी मुलुक पुगेका छन् । युवाहरू स्पष्ट मार्गनिर्देशको अभावमा भौँतारिरहेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ वटै स्थानीय तहबाट संकलन गरेको तथ्यांकअनुसार मुलुकमा १७ लाख बेरोजगार छन् । यो संख्या कुल श्रमशक्तिको २१.५४ प्रतिशत हो ।

पछिल्लो तथ्यांक हेर्दा आर्थिक वर्ष ०८०/८१ मा सात लाख ४१ हजार २९७ श्रम स्वीकृति लिएर बिदेसिएका छन् । तर, यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४० प्रतिशत कम हो । तर, युवा बिदेसिने प्रतिशत घट्यो भनेर दंग परेर बस्ने वेला छैन । राष्ट्रका लागि एक–एक युवाको महत्व छ । राष्ट्रिय जनगणना ०७८ अनुसार नेपालमा कुल जनसंख्याको ४२.५६ प्रतिशत युवा छन् । युवा नवप्रवर्तन र दृढ संकल्पका मुहान हुन् । परम्परागत सीमाहरू भत्काउने, असंख्य सामाजिक पहलमार्फत परिवर्तन ल्याउन सक्ने शक्ति हुन् । त्यसैले युवालाई सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा सहज पहुँचको व्यवस्था मिलाई देश विकासका विभिन्न क्षेत्रमा परिचालन गरे मात्र ‘सक्षम युवा समृद्ध राष्ट्र’ बनाउन सकिएला ।

संविधानको धारा १८, समानताको हकले ‘कानुनको दृष्टिमा सबै नागरिक समान हुनेछन्’ भनेको छ । यसको विस्तृत व्याख्याले युवालाई उनीहरूको संरक्षण सशक्तीकरण वा विकासको आवश्यकतालाई ध्यानमा राख्दै उनीहरूका लागि विशेष प्रावधान लागू गर्ने बाटो खुल्छ । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा युवाको महत्वपूर्ण भूमिका रहने कुरा सबैको चर्चाको विषय बन्छ । तैपनि, तीनै तहकै सरकारले युवा लक्षित कार्यक्रम खासै बन्नाउन सकेका छैनन् ।

संख्यात्मक र गुणात्मक दुवै दृष्टिकोणले युवालाई मुलुकको सबैभन्दा महत्वपूर्ण जनसंख्याका रूपमा लिइन्छ । युवा राष्ट्रका अमूल्य सम्पत्ति हुन् । युवा आर्थिक, सामाजिक, राजनीतिक र संस्कृतिक रूपान्तरणका अग्रदूत हुन् । साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवम् उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहर मानिन्छ । यिनीहरू राष्ट्र निर्माणका प्रमुख स्रोत हुन् । युवाशक्तिलाई जनशक्तिको सर्वाधिक महत्वपूर्ण शक्तिका रूपमा स्वीकार गरिएको तथ्यलाई बिर्सनुहुँदैन ।

युवा शक्तिलाई देश विकासको मेरुदण्डका रूपमा लिन सकिन्छ । हालको अवस्थामा बेरोजगार युवाको संख्या उल्लेख्य छ । यस वर्गलाई विभिन्न पेसा व्यवसायमा संलग्न गरी उत्पादन वृद्धि गर्न सके बेरोजगार समस्या समाधान गर्न सकिन्छ । खासगरी व्यावहारिक र रोजगारमूलक शिक्षाको अभाव तथा व्यावसायिक सीप र प्रविधिमा न्यून पहुँच भएका कारण श्रमका लागि बिदेसिने युवाको संख्या दिनानुदिन बढ्दै गएको छ ।

यसको अर्थ नेपालमा युवा रोजगारीका सम्भावना तथा अवसर छैनन् भन्ने होइन । पछिल्ला दिनमा विकासमा अर्थपूर्ण सहभागिता, कृषि, पर्यटन, जलस्रोतलगायत प्राकृतिक साधनस्रोतको उपलब्धतामा वृद्धि र बैंकिङ सेवा–सुविधामा विस्तार भएको छ । यसका आधारमा लक्षित समूह एवं भौगोलिक क्षेत्र केन्द्रित गरी कार्यक्रम विस्तार गर्न सकिन्छ । साथै वैदेशिक रोजगारीबाट प्राप्त सीप, अनुभव र साधनस्रोतको प्रयोग गरी आन्तरिक रोजगारी सिर्जना गर्न सकिने सम्भावना उत्तिकै छ ।

फलफूल, ताजा तरकारी, नगदेबाली तथा पशुपालनजस्ता कृषि व्यवसायलाई सम्मानजनक उद्यम, व्यवसायका रूपमा विकास गर्न सके यसबाट प्रशस्त रोजगारी सिर्जना हुन सक्छ । यो व्यवसाय आयमूलक तथा रोजगारीमूलकसमेत हुने हुँदा यसबाट युवाको जीवनस्तरमा ठुलो परिर्वतन ल्याउन सकिन्छ । साथै धेरै पहाडी क्षेत्रका जमिन बाँझो छ । त्यस्तो जमिनमा बेसारखेती गर्न सकिने सम्भावना छ । यसरी बेसारखेती गर्दा बाँझो जमिन पनि उपयोगमा आउने र युवा कृषकले रोजगारी प्राप्त गर्न सक्ने सम्भावना छ ।

कृषि पेसालाई सम्मानजनक, मर्यादित र प्रतिष्ठित बनाई कृषि क्षेत्रमा थप रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ । उद्योग क्षेत्रमा १७.५ प्रतिशतले रोजगारी पाएको देखिन्छ । कुल राष्ट्रिय रोजगारीमा उद्योग क्षेत्रको योगदान ८.१ प्रतिशत छ । नेपालमा बढ्दै गएको युवा बेरोजगारीमा कमी ल्याउन कम्तीमा आउँदो एक दशकसम्म कृषि, वन, पर्यटनमा आधारित उद्योगधन्दा, कलकारखाना तथा व्यापार व्यवसायका माध्यमबाट थप रोजगारी सिर्जना गर्न विशेष जोड दिनुपर्ने देखिन्छ । यस्ता अवसर सहरमुखी मात्र होइन, गाउँमुखी पनि हुनुपर्छ ।

नेपालको पर्यटन क्षेत्र रोजगारीका मुख्य स्रोतमध्ये एक हो । सन् २०१८ मा कुल पाँच लाख ७३ हजारले यस क्षेत्रमा रोजगारी प्राप्त गरेका थिए । जुन कुल रोजगारीको आठ प्रतिशत हो । नेपालको प्राकृतिक, धार्मिक, मौलिक, पुरातात्विक एवं सांस्कृतिक सम्पदा, हिमाली मनोरम दृश्य, पर्वतारोहण, पदमार्ग, तराईका फाँट, वन्यजन्तु, निकुञ्ज, जलसम्पदा आदि पर्यटनका मुख्य आधार क्षेत्र हुन् । यिनको संरक्षण, संवद्र्धन र विविधीकरण गरी नयाँ–नयाँ पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रमा थप रोजगारी सिर्जना गर्न सकिन्छ ।

राजनीतिक दल र तीनै तहका सरकारले शिक्षा प्रणालीलाई रोजगारमूलक बनाउँदै युवालाई रोजगारीयोग्य बनाउन जोड दिनुपर्छ । कृषि, पर्यटन, सूचना प्रविधि, उद्योग आदि क्षेत्रमा रोजगारीका अवसर बढाउन आवश्यक छ । युवा उद्यमीलाई आवश्यक पर्ने वित्तीय सहयोग, तालिम, र पूर्वाधार उपलब्ध गराउनुपर्छ । युवालाई स्वदेशमै रोक्न राजनीतिक दल, तीन तहका सरकार र युवा स्वयंले प्रभावकारी भूमिका खेल्न सक्नुपर्छ ।

युवा राष्ट्रका खम्बा तथा भविष्यको आशाका पुञ्ज हुन् । परिवर्तनका संवाहक हुन् । खम्बा बलियो हुँदा सम्पूर्ण संरचना बलियो भएजस्तै युवा शक्तिशाली, गतिशील र सिर्जनशील हुँदा राष्ट्र पनि बलियो हुन्छ । देश अगाडि बढ्छ । र, साँच्चै देश र जनताको भविष्य उज्ज्वल बन्छ । युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवतर्नका संवाहक शक्ति हुन् ।

साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरका रूपमा रहेको हुन्छ । जसलाई राष्ट्र निर्माणको प्रमुख स्रोतसमेत मानिन्छ । गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रका मेरुदण्ड भएकाले युवाको सर्वाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउनु जरुरी छ ।

Published on: 14 September 2024 | Naya Patrika

Link

Back to list

;