s

युवा पलायन रोक्न रोल्पाका स्थानीय सरकारले थाले अभियान

युवालाई गाउँघरमै स्वरोजगार बनाउने उद्देश्यका साथ जिल्लाको एक स्थानीय निकायले युवा लक्षित स्वरोजगारमूलक कार्यक्रम ल्याएको छ । 
 
पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाले युवालाई स्वदेशमै स्वरोजगार बनाउँदै विदेश पलायन रोक्न यस्तो कार्यक्रम थालनी गरेको जनाएको छ । युवाका लागि गाउँपालिकाले आरन प्रवर्द्धन, ड्राईभिङ, अल्लो भांगो प्रवर्द्धन, मुडा र नमकिन बनाउनेलगायतका तालीम सञ्चालन गरिरहेको छ ।
 
तालीमपश्चात नियमित अनुगमनसमेत गर्दै तालीमलाई जीवन उपयोगी बनाउने सोचका साथ अगाडि बढेको गाउँपालिकाले जनाएको हो । 
 
गाउँपालिको दलित बाहुल्य सिउरी गाउँका १० दलित युवाका लागि परम्परागत पेशा प्रवर्द्धनमा युवाको आकर्षणसमेत बढाउन एक महिने आरन प्रवर्द्धन प्रशिक्षक प्रशिक्षण आयोजना गरेको छ । 
 
परम्परागतरुपमा सञ्चालन हुँदै आएको पेशालाई आधुनिकीकरण गर्न तालीम आयोजना गरेका हाैं गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले भन्नुभयो । परम्परागत पेशालाई स्तरोन्नति गर्दै साना उद्योगको रुपमा विकास गरी अन्य युवालाई समेत रोजगारी सिर्जना गर्ने गरी काम थालिएको उहाँले जानकारी दिनुभयो । 
 
जिल्लामा भित्री सडक विस्तारसँगै गाडी चालकको समेत माग भएको हुँदा गाउँपालिका महिला र पुरुष गरी २५ युवालाई सवारी चालक तालीम दिने तयारीमा छ । तालीमबाट दक्षता हासिल गरेसँगै सबै युवाले सहजै पेशामा आबद्ध हुन सक्छन् अध्यक्ष पुनले भन्नुभयो । 
 
गाउँपालिकाले महिलाका लागिसमेत नमकिन बनाउने, मुडा बनाउने र अल्लो भांगो प्रवर्द्धन तालीम सञ्चालन गरेको छ । घरको चुलोचौकामा सीमित हुने महिलालाई सीप सिकाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ तालीम सञ्चालन गरिएको हो । 
 
युवाका लागि गाउँमै रोजगारी सिर्जना नगरे विदेश पलायन भइरहेको युवा जनशक्ति रोक्न नसकिने भएकाले अल्पकालीन योजनाका रुपमा युवामा सीप र क्षमता विकास गरी स्वरोजगार बनाउने र दीर्घकालीनरुपमा कृषिलाई व्यवसायीकरण तथा स्थानीय अल्लो भांगोको उद्योगसमेत स्थापना गर्ने सोच बनाएका छौँ अध्यक्ष पुनले भन्नुभयो । 
 
स्थानीय सरकारको लगानी र प्रत्यक्ष निगरानीमा युवा लक्षित कार्यक्रम भइरहेको घरेलु तथा साना उद्योग विकास समितिका उद्योग अधिकृत बालकृष्ण आचार्यले बताउनुभयो । गाउँपालिकाले युवालाई स्वदेशमै स्वरोजगार बनाउने गरी काम थालनी गरेको हुँदा आगामी दिनमा युवा जनशक्ति विदेश पलायन हुनबाट रोकिने उहाँले आशा व्यक्त गर्नुभयो । 
 
रोल्पाका ४० हजार बढी युवा वैदेशिक रोजगारीको सिलसिलामा खाडीको विभिन्न मुलुकमा मजदूरी गरिरहेका छन् ।
 
Published on: 20 March 2018 | Ujyaaloonline

Back to list

;