s

युवा म्यादी बनेपछि कामदार अभाव

माया अधिकारी
 
ग्रामिण क्षेत्रका अधिकांश युवा मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएपछि धान र कोदो थन्क्याउने मजदुर अभाव भएको छ। एक महिना अघिदेखि युवा म्यादी प्रहरीमा गएपछि बाली भित्याउने समस्या परेको हो। एउटै गाउँबाट पाँचदेखि २० जनासम्म युवा म्यादी प्रहरीमा भर्ती भएका छन्।
 
छोटो समयमै आकर्षक आम्दानी हुने भएकाले घरायसी कामभन्दा पनि उनीहरूलाई त्यसतर्फ आकर्षण बढेको हो। गाउँघरमा यही बेलामा कामको सिजन छ यही बेला सबैजसो बरोजगार युवा म्यादी प्रहरीमा गए ठूलीपोखरीका भुपेन्द्र सापकोटाले भने धान काट्न, दाइँ हाल्न र थन्क्याउन निकै समस्या छ। यतिबेला पर्वतका सबैजसो क्षेत्रमा मुख्य बाली धान काट्ने, झाट्ने र भित्याउने तथा दाइँ हाल्नुका साथै कोदो समेत काट्ने कामले भ्याइनभ्याइ भएको छ। कामको सिजनका कारण मतदाता निर्वाचनमा सक्रिय भएर लाग्नसमेत पाएका छैनन्।
 
उम्मेदवारसमेत प्रचारप्रसारका क्रममा मतदाता खोज्दै खेतबारी चाहार्नुपर्ने अवस्था आएको छ। आगामी निर्वाचनका लागि पर्वतमा झन्डै नौ सय म्यादी प्रहरी भर्ना भएका छन्। यति ठूलो संख्यामा युवा म्यादी प्रहरीमा गएपछि कामदार अभाव हुनु स्वभाविक भएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ। यस वर्ष एकातिर उत्पादन बढेको छ भने अर्कोतिर जनशक्तिको अभावले अझैसम्म पनि धान थन्क्याएर नसकिएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए। पर्वतमा यस वर्ष धान उत्पादन १० प्रतिशत वृद्धि भएको छ।
 
यस्तै जिल्लाको दोस्रो मुख्य बालीका रूपमा रहेको कोदो थन्क्याउने सिजन समेत यही बेला पर्दा कृषकलाई बढी समस्या परेको बताएका छन्। जनशक्तिको अभाव भए पनि मौसम अनुकूल भैदिएकाले विस्तारै विस्तारै थन्क्याउने काम भइरहेको शंकरपोखरीका कुलप्रसाद तिवारीले बताए। उनले भने, ‘गत वर्ष एक-दुई दिनमै थन्क्याएर सकिएको थियो अहिले सबै युवा म्यादीमा जानाले एक-डेढ हप्ता लाग्ने भयो।' अहिले गाउँमा एक दिनको काम गरेबापत युवाको पाँच सय र महिलाको ज्याला तीन सय छ। पैसा तिरेर पनि कामदार पाउन समस्या रहेको फलेवासका कृषक भरत श्रेष्ठले बताए। कामकै सिजनमा निर्वाचन परेकाले बाली थन्क्याउन निकै समस्या पर्‍यो।
 
छोटो समयमै धेरै कमाइ हुने भएकाले शंकरपोखरीबाट मात्रै एक सयभन्दा बढीको संख्यामा म्यादी प्रहरीमा भर्ना हुन गएको स्थानीय सञ्जय रेग्मीले जानकारी दिए। उनका अनुसार घरको कामलाई चटक्कै माया मारेर युवायुवती म्यादीमा भर्ना हुन गएका छन्। म्यादी प्रहरीमा भर्ना हुन आउनेमा अधिकांश सदरमुकाम वरिपरिकै क्षेत्रका छन्। घरपायक हुने भएकाले पनि नजिकका युवायुवतीको आकर्षण बढेको हो।
 
गत कात्तिक १६ गतेदेखि नै काममा खटिएका म्यादी प्रहरी मंसिर २१ गतेको निर्वाचनको परिणाम सार्वजनिक हुने बेलासम्म काम गर्नुपर्ने प्रहरीले जनाएको छ। म्यादी प्रहरीलाई अहिले दैनिक चारदेखि ६ घण्टासम्म ड्युटी तोकिएको छ।
 
Published on: 26 November 2017 | Annapurna Post

Back to list

;