s

युवा विदेशिएपछि रोपाइँमा समस्या

राजकरण महतो

‘धान रोप्न कामदार पाइँदैन । ट्र्याक्टरको जोताई त्यतिकै महँगो छ । मल पाउन मुस्किल भयो’, धान रोपाइँका लागि ब्याडमा बीउ उखेल्दै गरेका बर्दिबासका विष्णु फुयाँलले भने, ‘दश कठ्ठामा धान रोप्न पनि समस्या भयो ।’

लामो खडेरीपछि बर्खा लाग्यो । रोपाइँ चलिरहेको छ । दुःखका साथ रोपाइँका लागि विष्णुले खेत तयारी गरेका छन् । तर, ज्यामी पाइँदैन । पाए पनि तीन घण्टाकै तीन सय ५० रुपैयाँ ज्याला माग्छ । ‘युवा सबै कमाउन विदेश गए । कामदार पाइन छाड्यो’, उनले भने, ‘गाउँमा भएका युवाले कृषि कर्म गर्न चाहँदैनन् ।’ खाने मान्छे बढेको, उत्पादन घट्दै गएको र खाद्यान्नमा परनिर्भरता बढेको उनले बताए ।
 
बर्दिबासका ५५ वर्षीय किसान नरबहादुर कार्कीलाई यतिबेला भ्याइनभ्याइ छ । रोपाइँका लागि उनी बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म खट्छन् । १७ कठ्ठामा रोपाइँ सक्न उनलाई सकस छ । रोपाहार र खेताला नपाएर घरका सबै परिवार रोपाइँमा व्यस्त छन् । ‘खाजा र खाना खेतकै आलीमा खाइन्छ’, उनले भने, ‘कामदार पाउनै मुस्किल छ । वर्षभरीको बाली लगाउनै पर्यो ।’
 
सरकारले प्रदान गर्ने सहुलियत दरको मलखाद बीउवीजन ग्रामीण भेगको किसानको हात नपरेको कृषक इन्दिरा कार्कीले बताइन् । ‘बजारबाट ल्याएको धान बीउ राम्रो हुँदैन । कहिले फल्छ । कहिले दाना लाग्दैन’, उनले भनिन् ।
 
गाउँभरी नै रोपाइँ चलेको छ । पहिलाजस्तो हलगोरुबाट आजकल धान खेत जोतिँदैन । गाउँमा गोरु पाल्ने चलन हटिसक्यो । धनीले ट्र्याक्टर किनेका छन् खेती गर्न । उनीहरूलाई रोपाइँमा सजिलो छ । तर, गरिब किसानलाई न गोरु पाल्न सहज छ न त सरकारले सहुलियत दरमा हाते ट्र्याक्टर नै दिएका छन् । धान रोप्न समस्यै समस्या रहेको बिजलपुरा किसान हरी महतोले जनाए ।
 
वर्षाको पानीको भरमा धान खेती गर्दै आएका किसानलाई रोपाइँपछि पानी नपर्दा समस्या हुँदै आएको बर्दिबासका अर्का किसान हरि पौडेल बताउँछन् । ‘सबैभन्दा ठूलो समस्या सिँचाइकै छ’, उनले भने ।
 
परिश्रम गरेर किसानले उब्जाएको धानको उचित मूल्य नपाउँदा किसान कृषि खेतीबाट निराश बनेका अर्का किसान रामप्रसाद फुँयालले सुनाए । ‘मरीमरी किसानले उब्ज्याउँछन् । उत्पादन बिक्री गर्ने बेला बिचौलिया मालामाल हुन्छ । किसान जस्ताको त्यस्तै ।’ सरकारले कृषि उत्पादनको भाउँ तोक्नु पर्ने उनले माग गरे ।
 
महोत्तरीमा करिब ४६ हजार हेक्टरमा धान खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत दिनेशप्रसाद यादवले जनाए । यहाँ सर्व सव १, सम्भ सव मंसुली १, बासमती, हर्दिनाथ, रामधानजस्ता जातका धानको खेती हुने गरेको छ ।
 
अद्र्धसिञ्चित भूमिका कारण सुक्खा भए धान खेती पूर्णरुपले प्रभावित हुन्छ भने, बढी पानी परे धान खेती डुबानमा पर्ने अर्को खतरा रहन्छ ।
 
Published on: 14 July 2018 | Annapurna Post

Back to list

;