s

'युवालाई स्वदेशमै रोजगारी दिऊँ'

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा स्वदेशमै रोजगारको अवसर उपलब्ध गराउनसक्ने हुनुपर्ने बताएकी छन्। त्रिभुवन विश्वविद्यायको ४१ औं दीक्षान्त समारोहकी प्रमुख अतिथि भण्डारीले उच्च शिक्षाप्राप्त युवालाई देशमै रोजगारको अवसर मिलाउनुपर्नेमा जोड दिइन्।
उनले विश्वविद्यालयमा प्राज्ञिक मूल्य, मान्यता र मर्यादालाई मजबुत बनाउन कुनै कसर बाँकी नराख्न राष्ट्रपतिले आग्रह गरिन्। विश्वविद्यालयको दीक्षान्त समारोहमा सधैं विदेशी प्राज्ञलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्दै आएको त्रिविले यस वर्ष प्रथम राष्ट्रपति महिलालाई प्रमुख अतिथि बनाएको हो। यसबाट विदेशी विज्ञको स्वागत र भत्तामा खर्च हुने करिब १५ लाख रुपैयाँ बचत भएको त्रिविले जनाएको छ।
 
उनले देश द्रुत विकासतर्फ उन्मुख भइरहेको समयमा सरकार, राजनीतिक पार्टी, सरकारी–गैरसरकारी संस्था, निजी क्षेत्र, पेशागत संघ–संगठन, निजी क्षेत्र तथा आम जनसमुदायको हातेमालोबाट मात्र सम्भव नहुने भएकाले यस पुनीत कार्यमा विश्वविद्यालयको भूमिका अहम् हुने बताइन्। उनले त्रिभुवन विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न आग्रह गरिन्।
 
विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी ओलीले अनुसन्धानमूलक शिक्षाको कमीले डिग्री हासिल गरेका विद्यार्थीलाई प्रतिस्पर्धी विश्व समाजमा अब्बल प्रमाणित गर्नु चुनौती भएको बताए। उनले संविधानले शिक्षा र रोजगारीलाई मौलिक हकको रुपमा सुनिश्चित गरिसकेको अवस्थामा नेपालीलाई सीप र दक्षतामा समेत सर्वश्रेष्ठ तुल्याउन विश्वविद्यालयले महŒवपूर्ण भूमिका खेल्नुपर्ने आवश्यक्ता औंल्याए।
 
प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीले हासिल गरेको ज्ञान र सिप समाजका लागि उपायोग गर्न आग्रह गरे। 'आफू को हुँ भन्ने नबिर्सौं, कर्तव्य सम्झौँ,' प्रधानमन्त्री ओलीले भने, 'गुणस्तरीय शिक्षाको माध्यमद्वारा सक्षम जनशक्ति तयार पार्ने किसिमको शिक्षा उपलब्ध गराउने वातावरण बनाउनुस्।'
 
विश्वविद्यालयका सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उच्च शिक्षाको गुणस्तर कायम गर्न विश्वविद्यालयको संरचनात्मक परिवर्तन आवश्यक रहेको बताए। नेपालमा विभेदमुक्त शिक्षा प्रणाली कायम गर्न आर्थिक रूपमा विपन्न जनता र बस्तीमा उच्च शिक्षा विस्तार गर्नुपर्ने उनको भनाइ थियो।
 
 
Published on: 3 December 2015 | Nagarik
 

Back to list

;