s

युवा स्वरोजगार सृजना गर्न मध्यविन्दुमा तीन करोडको कोष

ज्ञानु पंगेनी

कावासोती , पुष २५ गते । नवलपरासी पूर्व ( नवलपुरको ) मध्यविन्दु नगरपालिकाले युवालाई स्वरोजगार बनाउन तथा कृषि उत्पादनमा जोड्न कृषि बिकास बैंकसंग ऋण प्रवाह तथा ब्याज अनुदान सम्झौता गरेको छ ।

वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई आफ्नै ठाउँमा आत्मनिर्भर र स्वरोगार बनाउने उदेश्यले युवा उद्यमको क्षेत्रमा मध्यबिन्दु नगरपालिका र कृषि बिकास बैंक ,कावासोती शाखाको संयुक्त साझेदारी कार्यक्रम अन्तर्गत ३ करोड रुपैयाँको कोष खडा गर्नेगरी सम्झौता भएको हो ।

सम्झौता बमोजिम पहिलो चरणमा बैंकमा ग्यारेण्टीको रुपमा नगरपालिकाले एक करोड ५० लाख रुपैया जम्मा गराउनेछ । सो रकमको दुई गुणा सम्म ब्याज अनुदानमा ऋण बैंकले उपलब्ध गराउने कृषि बिकास बैक लिमिटेड गण्डकी प्रदेश कार्यालयका प्रदेश निर्देशक रघुनाथ न्यौपानेले जानकारी दिनुभयो ।

मापदण्ड पूरा गरेका युवाहरुले कर्जाको लागि नगरपालिकामा निवेदन दिन सक्नेछन् । त्यसरी प्राप्त आवेदनहरुबाट नगरपालिकाको कर्जा सिफारिस तथा अनुगमन समितिले योग्य उद्यमी एवं व्यवसायीहरुलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने मध्यविन्दु नगरपालिका प्रमुख चन्द्रबहादुर रानाले बताउनुभयो ।

कार्यक्रम अन्र्तगत ऋण लिन चहानेहरुले उद्यमशील कर्जाको हकमा ६ प्रतिशत र अन्य कर्जामा ५ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन् । यो कार्यक्रम पहिलो चरणमा एक वर्ष सम्म सञ्चालन हुनेगरी बैंकसंग सम्झौता भएको रानाले जानकारी दिनुभयो ।

नगरपालिकाले युवाहरुलाई स्वरोजगार बनाउन ‘युवा स्वरोजगार कार्यक्रम’संञ्चालन गर्ने आफ्नो निति तथा कार्यक्रममा समावेश गरेको थियो । सोही कार्यक्रम अन्तरगत यस कार्यको थालनी गरेको हो । यस कार्यक्रमले नगर क्षेत्रमा कृषि तथा पशुपंछी जन्य व्यवसाय पर्वद्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्न मदत् पुग्ने विश्वास लिईएको नगर प्रमुख रानाले बताउनुभयो ।

शिक्षित बेरोजगार युवाहरुलाई स्वदेशमा रोजगारीका अवसरहरु सृजना गर्न र विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सीप र व्यवसायीक दक्षता उपभोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन सम्झौता अनुसार काम हुने रानाले बताउनुभयो ।

कार्यक्रम मार्फत महिला उद्यमशिल क्षमताको बिकास, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकीकरण एवं प्रवर्धन गरी उद्यमशीलता बिकास र वित्तीय पहुँच तथा साक्षरता बिस्तार गर्दै कृषि बिकास बैंक लिमिटेड र मध्यविन्दु नगरपालिकाको सहकार्यमा यस क्षेत्रको आर्थिक बिकासमा महत्वपूर्ण योगदान पुग्ने रानाले बताउनुभयो ।

Published on: 9 January 2021 | Gorkhapatra

Link

Back to list

;