s

युवा जनसंख्या, वैदेशिक रोजगार र विप्रेषण

विप्रेषणले अल्पकालीन रूपमा गरिबी घटाएजस्तो देखिए पनि यसको दीर्घकालीन असर मुलुकको हितमा छैन

डा. देवीप्रसाद पौडेल

कुनै पनि देशको आर्थिक विकासका लागि युवा जनसंख्या महत्वपूर्ण मानिन्छ । जुन देशले युवा जनसंख्यालाई पूर्ण रूपमा आफ्नो विकासमा उपयोग गर्न सक्छ, त्यही देशको आर्थिक विकास उच्चदरले हुने गर्छ । स्विडेन, नर्वे, फिनल्यान्ड, डेनमार्क, क्यानडा आदि देशको सामाजिक, आर्थिक विकास उच्च हुनुको मूल कारण यी देशका युवालाई राज्यले अधिकतम परिचालन गर्नु हो । जनसंख्या र विकास एकअर्काका परिपूरक हुन् । जनसंख्याको उचित व्यवस्थापनविना विकास सम्भव हुँदैन ।

जनसंख्याको उचित व्यवस्थापनमा युवाको सहभागिता महत्वपूर्ण हुन्छ । नेपालको सक्रिय जनसंख्याको ठूलो हिस्सा रोजगारको खोजीमा विभिन्न देशमा क्रियाशील छ । जबसम्म युवा जनसंख्यालाई राष्ट्रिय विकासको मूलधारमा सहभागी गराउन सकिँदैन, तबसम्म राष्ट्रको समग्र पक्षको विकास हुन सक्दैन । देशमा रहेका बालबालिका तथा वृद्ध जनसंख्याबाट देशको विकास हुने होइन । किनकि यो आश्रित जनसंख्या हो । युवा जनसंख्याको संरक्षणमा मात्र आश्रित जनसंख्याको सामाजिक जीवन सम्भव छ । गुणस्तरीय जीवनयापन गर्न आश्रित जनसंख्यामा प्रशन्नता हुनुपर्छ । त्यस प्रकारको परिवेश परिवार तथा राज्यले सिर्जना गर्नुपर्छ । युवा जनसंख्यामा राष्ट्रका लागि कार्य गर्ने उत्साह, जोस र जाँगर चाहिन्छ । त्यसमा राज्यले चाँजोपाँजो मिलाउनुपर्छ । त्यसो भनेको राज्यले बृहत् रूपमा रोजगारी तथा स्वरोजगारीको अवस्था सिर्जना गर्ने हो । त्यसो हुन सकेमा मात्र रोजगारीका लागि विदेशमा रहेको युवा शक्तिले स्वदेशमा फर्केर तीव्रगतिमा आर्थिक तथा सामाजिक विकास गर्न सक्छन् । यसबाट मात्र राज्यले सोचेको दिगो विकास लक्ष्य हासिल गर्न सक्छ ।
 
नेपालको सन्दर्भमा विदेश जाने चलन जहिलेदेखि सुरु भए पनि यो रहरभन्दा पनि बाध्यता थियो । प्रायः ग्रामीण क्षेत्रका युवालाई गोरखा भर्तीकेन्द्रले भर्ना गर्न थालेपछि युवा बाहिर जाने क्रम बढेको देखिन्छ । ग्रामीण समाजका भरोसा लाग्दा युवा ब्रिटिस आर्मीमा भर्ती भए पनि खुसी मनले घरबाट बिदा हुँदैनथे । तर, पछि भर्ती भएका युवाले विदेशबाट पठाएको विदेशी मुद्रा सटही गरेर नेपाली मुद्रामा रूपान्तरण गरेपछि जम्मा भएको पैसाले बुबाआमालाई समेत आनन्दको महसुस हुन थाल्यो । छिमेकीलाई समेत यसले आकर्षण गरायो । त्यसपछि आर्मीको नोकरी नेपालको ग्रामीण समाजमा आकर्षणको केन्द्र बन्न थाल्यो । युवाको रोजाइ पनि विदेशी सेनामा भर्ती हुने रह्यो । पछि यही क्रम रोजगारीकै खोजीमा विश्वका विभिन्न देशमा नेपाली युवा देखिन थाले । नेपाली समाजमा विदेशमा गई काम गर्ने प्रचलन एउटा स्थापित मान्यता बन्यो । यो नेपाली समाजको एउटा नयाँ संस्कृतिको रूपमा देखा प¥यो । विदेश जाने केही पैसा आर्जन गरी स्वदेश फर्किने र कुनै स्थानमा घरजग्गा किनेर नयाँ बसोवास गर्ने चलन बढ्दै गयो । आजभोलि धेरैजसो घरपरिवारमा आफ्नो युवा छोराछोरीलाई विदेश पठाउनुलाई सामाजिक प्रतिष्ठाको विषय मान्न थालियो । हाल नेपालको १६ देखि ४० वर्ष उमेर समूहको जनसंख्या ४२.६ प्रतिशत रहेको छ । यही उमेर समूहको युवाको ठूलो हिस्सा वैदेशिक रोजगारमा होमिएको अवस्था छ ।
 
वैदेशिक रोजगारीको  इतिहास
 
नेपाली युवा कामका लागि देशबाहिर जान थालेपछि वैदेशिक रोजगारी सुरु भएको इतिहास पाइन्छ । नेपालको एकीकरणपूर्व नै मानिस सीमा वारिपारि ओहोरदोहोर गर्ने गर्थे । उन्नाइसौँ शताब्दीअगाडि पन्जाबका राजा रञ्जित सिंहको फौजमा नेपाली युवा औपचारिक रूपमा भर्ती भएको इतिहास छ । खासगरी सन् १८१६ को सुगौली सन्धिपछि तीन हजार नेपाली युवा भर्ती भएका थिए । सन् १९५० को शान्ति तथा मैत्री सन्धिपछि नेपाली युवा ठूलो संख्यामा रोजगारीका लागि भारत प्रवेश गर्न थाले ।
 
सन् १९८५ मा वैदेशिक रोजगार ऐन लागू भएपछि भारतबाहेकका अन्य देशमा पनि रोजगारीका लागि जान सुरु भयो । सन् १९९० को परिवर्तनपछि नेपालबाट वैदेशिक रोजगारमा जाने युवाको संख्यामा नाटकीय ढंगले वृद्धि भएको देखिन्छ । वैदेशिक रोजगारबाट सन् १९९० को मध्यतिर केवल ५० मिलियन अमेरिकी डलर वार्षिक आय भएकोमा सो आय वृद्धि भएर सन् ०१२/०१३ मा झन्डै ३५ बिलियन अमेरिकी डलर वार्षिक आय आर्जन भएको थियो । विशेषगरी खाडी मुलुकमा पेट्रोलियम पदार्थको व्यापक उत्पादनपछि ठूलो मात्रामा वैदेशिक कामदारको माग भयो । त्यही अवस्थामा नेपाली युवा कामको खोजीमा खाडी मुलुकतर्फ लागे । खाडी मुलुक, मध्यपूर्व, मलेसिया, दक्षिण कोरिया, जापान र अन्य मुलुक रोजगारीका मुख्य गन्तव्य बने । हाल मलेसियामा ३३.३४ प्रतिशत, कतारमा १९ प्रतिशत, सउदी अरबमा १८.९३ प्रतिशत, कुवेतमा १३.२२ प्रतिशत, युएईमा ९.८२ प्रतिशत, दक्षिण कोरियामा १.३० प्रतिशत, ओमनमा ०.५ प्रतिशत, लेवनानमा ०.२३ प्रतिशत र अन्य बाँकी देशमा २.४६ प्रतिशत नेपाली युवा कामदार कार्यरत छन् । यसरी नेपालको सक्रिय जनसंख्या विश्वका विभिन्न देशमा छरिएर रहेको छ । यो सक्रिय जनसंख्या अप्रत्यक्ष तथा प्रत्यक्ष रूपमा आधा करोडको हाराहारीमा छ ।
 
नेपालको यति ठूलो जनसंख्या रोजगारीका लागि अन्य देशमा जानु अवश्य पनि राम्रो होइन । यति विशाल जनशक्तिले आफ्नो मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्न सक्थ्यो । तर, हाम्रो मुलुकको वर्तमान अवस्था युवा रोजगारका लागि उर्वर छैन । आजको विश्वव्यापीकरणको युगमा विभिन्न मुलुकको अनुभव, ज्ञान र सीपलाई आफ्नो मुलुकको विकासमा लगाउन सके राम्रो हुने थियो । तर, स्थिति त्यस्तो छैन । वैदेशिक रोजगारबाट प्राप्त रकम घरायसी प्रयोजन तथा उपभोग्य वस्तुको खरिदमा खर्च हुने गरेको छ । विदेशमा जाने सबै युवाको काम समान प्रकृतिको छैन । कतिपय युवा अवैध तरिकाले श्रम रोजगारमा प्रवेश गर्दा उनीहरूको स्थिति अन्योलपूर्ण छ । त्यसैले नेपालको अर्थतन्त्रलाई केही अर्थशास्त्रीले विप्रेषण अर्थतन्त्र भन्ने गरेका छन् । कृषिमा आधारित अर्थतन्त्र विप्रेषणमा आधारित अर्थतन्त्रमा रूपान्तरण भएको छ । वास्तवमा मुलुकको गरिबी र अवसरको अभावमा युवा जनशक्ति बिदेसिनुपरेको अवस्था छ । सामन्यतया कम पुँजी बोकेका युवा भारत, खाडी मुलुक र मलेसिया तथा धनी युवा जापान, अमेरिका, उत्तर कोरिया, अस्ट्रेलिया र युरोपियन मुलुक जाने प्रवृत्ति देखिन्छ । 
 
विप्रेषणको सामाजिक,आर्थिक प्रभाव
 
विप्रेषणले अल्पकालीन रूपमा गरिबी घटाएजस्तो देखिए पनि यसको दीर्घकालीन असर मुलुकको हितमा छैन । यसले अस्थिर रूपमा घरजग्गा र ‘स्टक मार्केट’को मूल्यमा वृद्धि गराएको देखिन्छ । यसले सर्वसाधारण नागरिकको घरजग्गामा पँहुच घटाएको छ । आप्रवासी जनसंख्याबीच वैदेशिक रोजगारका अवसर तथा लाभ समान रूपले वितरण भएको देखिँदैन । नेपालमा विप्रेषणको प्रवाहको कारण औद्योगिक क्षेत्र ओरालो लागेको छ ।
 
निर्यात व्यापारलाई शिथिल बनाएको छ । नेपालमा विप्रेषणलाई उत्पादनशील कार्यमा प्रयोग गर्न सकेको देखिँदैन । विप्रेषण प्राप्त गर्ने परिवारको उपभोगको स्वरूपलाई मानव पुँजीका लागि लगानी गरेको देखिएको छ । यसले वैदेशिक रोजगारीको परनिर्भरतालाई डोर्‍याउने सम्भावना रहन्छ । यसका साथै विप्रेषण आयको दीर्घकालीन र अल्पकालीन हिसाबले बृहत् आर्थिक सूचकमा पर्न सक्ने प्रभावबारे थप अनुसन्धानको आवश्यकता देखिन्छ । एउटा नयाँ अध्ययनको परिणामअनुसार विप्रेषणको अधिकांश आयलाई दैनिक उपभोग वा बिलासिताका सामान आयातमा खर्च गरेको देखिन्छ । परिणामस्वरूप व्यापार घाटा बढाउने र परिवारले आम्दानीलाई प्रयोग गर्ने तरिकाले विकासका लागि विप्रेषणको आधारभूत भूमिका निर्धारण हुने देखिन्छ । ग्रामीण क्षेत्रका खेतबारी आज श्रमशक्तिको अभावमा बाँझै छ । युवामा मुलुकबाहिर जाने मनोविज्ञानको सिर्जना तथा आफ्नो मुलुकप्रति नै वितृष्णा प्रकट भएको छ । काम गर्ने उमेर समूहका पुरुष मुलुकबाहिर रहेकाले सामाजिक संरचनामा समेत परिवर्तन भइरहेको छ । युवाको अनुपस्थितिले वृद्ध जनसंख्या सहाराविहीन अवस्थामा छन् । सामाजिक कार्य गतिहीन छन् ।
 
आज विश्वव्यापी रूपमै सहरी जनसंख्या तीव्र रूपले बढ्दै गइरहेको अवस्था छ । विकासका हिसाबले सहर निर्माण हुनु राम्रै हो किनभने सहर आर्थिक क्रियाकलापका महत्वपूर्ण केन्द्र तथा अर्थतन्त्रका मेरुदण्ड हुन् । तर, सहरी जनसंख्याको वृद्धि कति व्यवस्थित छ भन्ने बढी महत्वपूर्ण हुन्छ । नेपालको सन्दर्भमा सहरको विकास व्यवस्थित देखिँदैन । बरु यहाँ सहरको विकासमा राज्यको भूमिकाभन्दा पनि घरजग्गा व्यवसायीको भूमिका बढी देखिन्छ । विनामापदण्ड बस्ती विकास तथा कृषियोग्य भूमिको विनाश भएको देख्न सकिन्छ । सहरी बस्ती विकासमा कुनै पनि मोडेल आवश्यक पर्छ, तर नेपालमा त्यस्तो अवस्था छैन । राजनीतिक अस्थिरताका कारण स्थिति फरक प्रकृतिको भएको छ । फलस्वरूप अव्यवस्थित सहरीकरणले नयाँ समस्यालाई जन्माइदिएको छ । सहरी तथा तराई क्षेत्रमा जग्गाको मूल्य नाटकीय ढंगले वृद्धि भएको छ । राज्यले चाहेर पनि तराई तथा सहरी क्षेत्रमा औद्योगिक वा अन्य प्रयोजनका लागि आवश्यकताअनुसार जग्गा खरिद गर्न नसक्ने अवस्था आएको छ । यसले सहरी क्षेत्रमा सर्वसाधारणको जग्गा खरिद गरी बसोवास गर्ने अवस्थालाई समेत अन्त्य गरिदिएको छ ।
 
सम्भावना  र भविष्य
 
कुल जनसंख्यामा १५ देखि ५९ वर्ष उमेर समूहका युवा तथा प्रौढको प्रतिशत उच्च रही जनसांख्यिक लाभ प्राप्त हुन थालेकाले देशको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउन सकिने अवस्था सिर्जना भएको छ । यसलाई सही ढंगले प्रयोग गर्न सकेमा देशको ह्वात्तै विकास हुने देखिन्छ । तर, युवा जनसंख्या उच्च रहे पनि धेरै युवा देशबाहिरै रहेकाले उनीहरूको योगदान मुलुकले प्राप्त गर्न सकेको छैन । सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न नेपाल सरकारले विभिन्न नीति तथा रणनीति तर्जुमा गरेको छ । तर, ती लक्ष्य हासिल गर्न विभिन्न निकायबीच समन्वयको आवश्यकता रहन्छ । नेपाल संघीयतामा प्रवेश गरेको छ । अबका जनसांख्यिक नीति पनि सोहीअनुरूप तर्जुमा गर्नुपर्ने हुन्छ । जनसंख्याको दिगो विकास लक्ष्य पूरा गर्न पनि सहस्राब्दी विकास लक्ष्यमा पूरा हुन नसकेका लक्ष्य पनि समेटेर लैजानुपर्ने अवस्था छ । जनसंख्याको पछिल्लो तथ्यांकले सक्रिय जनसंख्याको स्थिति सबैभन्दा उच्च रहेको देखाएको छ । 
 
विगत ५० वर्षको जनसंख्याको अवस्थालाई हेर्दा सन् २०११ को जनगणनाअनुसार सबैभन्दा बढी सक्रिय जनसंख्या रहेको देखिन्छ । १५ देखि ५९ वर्षको उमेर समूहका सक्रिय जनसंख्या विगत ५० वर्षमा सबैभन्दा बढी हो । सन् १९६१ देखि २०११ सम्म यो उमेर समूहको सक्रिय जनसंख्या क्रमशः ५३.६, ५३.९, ५२.९, ५१.९, ५१.८, ५४.२ र ५६.९६ प्रतिशत रहेको छ । यो सक्रिय जनसंख्याको प्रतिशत बढी हुनु नितान्त सकारात्मक पक्ष हो । तर, यो सक्रिय जनसंख्याको ठूलो हिस्सा रोजगारका लागि अन्य मुलुकमा रहेको छ । विशेषगरी २५ देखि ४० वर्ष उमेर समूहका जोस, उत्साह, श्रम र सीप भएका जुन मुलुकका लागि नभई नहुने जनसंख्या बाहिर रहेको छ । मुलुकलाई चाहिने वास्तविक जनशक्ति देशबाहिरै छ । यही जनशक्तिलाई राज्यले देशको विकासका लागि परिचालन गर्न सके देशको आर्थिक, सामाजिक प्राविधिक विकासमा उच्च फड्को मार्न सक्ने देखिन्छ । तर, त्यसका लागि राज्यले क्रमशः बाहिर रहेको जनशक्तिलाई स्वदेशमा आकर्षक रोजगारको अवस्था सिर्जना गर्ने आकर्षक नीति तथा कार्यक्रमको माध्यमबाट उनीहरूलाई सम्बोधन गर्न सक्नुपर्छ । 
 
जनसंख्या व्यवस्थापनको क्षेत्र बहुपक्षीय सरोकारको विषय हो । हाल नेपालमा जनसंख्याको क्षेत्रीय वितरणमा असन्तुलन बढिरहेको अवस्था छ । युवा तथा ज्येष्ठ नागरिकको संख्या बढेको छ । युवाको बाहुल्य भए पनि यो युवा जनशक्ति विदेश पलायन भएको छ । अव्यवस्थित आन्तरिक बसाइँ–सराइ छ । अन्तराष्ट्रिय बसाइँ–सराइ पनि बढेर गएको छ । यसले आर्थिक तथा सामाजिक विकासमा असन्तुलन सिर्जना गरेको छ । एकातर्फ अव्यवस्थित सहरीकरण, अव्यवस्थित बस्तीको विकास, भएको छ भने अर्कातर्फ ग्रामीण समाज सहाराविहीन वृद्धको आश्रयस्थल बन्न गएको छ । श्रम र सीप भएका युवा शून्य हुँदै गइरहेको अवस्था छ ।
 
ग्रामीण क्षेत्रको उर्वर जमिन बाँझिँदै गइरहेको छ । ग्रामीण क्षेत्रको कृषि तथा पशुपालन व्यवसाय संकटमा पर्दै गइरहेको छ । यस्तो परिस्थितिलाई अन्त्य गर्न ग्रामीण क्षेत्रमा व्यावसायिक कृषि तथा पशुपालन, कृषि वन, ग्रामीण पर्यटन आदिको विकास गर्न युवा जनशक्तिलाई परिचालन गर्न सकिन्छ । हाल धेरैजसो ग्रामीण क्षेत्रमा विद्युत्, खानेपानी, यातायात, शिक्षा सञ्चार आदि जस्ता विकासका पूर्वाधार सिर्जना हुदै गइरहेको देखिन्छ । तर, आन्तरिक तथा बाह्य बसाइँ–सराइका कारण ग्रामीण क्षेत्रमा निर्माण भएका पूर्वाधारको विकासले मात्र आकर्षण गर्न सकेको छैन । जनसंख्यासँग सम्बन्धित समस्या तथा चुनौतीको प्रकृति स्थानअनुसार फरक–फरक हुने हुँदा जनसंख्या व्यवस्थापनसम्बन्धी कार्यक्रम केन्द्रबाट निर्धारण गरिनुभन्दा स्थानीय स्तरबाटै पहिचान गर्दा सम्बोधन गरिनुपर्छ । यसो भएमा युवा जनसंख्याको प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ । यसरी पहिचान भएका कार्यक्रमलाई स्थानीयस्तरको विकास योजना प्रक्रियामा समावेश गरी सञ्चालन गर्न सकिएमा जनसंख्या व्यवस्थापन तथा सन्तुलित विकासको लक्ष्य सहज रूपमा प्राप्त गर्न सकिन्छ । 
 
हाल देशबाहिर रहेको युवा जनसंख्यालाई सरकारले विशेष रणनीतिक योजना तर्जुमा गरेर क्रमशः रोजगारको सिर्जना गरी स्वदेश भित्र्याउन  सके नेपालको आर्थिक तथा सामाजिक विकासले ठूलो फड्को मार्ने देखिन्छ । श्रम आदानप्रदान गर्ने राष्ट्रबीच उनीहरूले निर्वाह गर्नुपर्ने दायित्व तथा जिम्मेवारीको स्पष्ट मार्गचित्रसहित समझदारी गर्न सम्बन्धित निकायलाई पृष्ठपोषण दिनुपर्छ । युवा जनसंख्या नै जनसांख्यिक लाभांश भएकाले तिनबाट राष्ट्रिय उत्पादनमा उचित लाभ प्राप्त गर्न उपयुक्त अवसरको सिर्जना गर्नु अति आवश्यक देखिन्छ । जनसंख्या लाभांश हुने हिस्सा र खासगरी युवा समूहलाई रोजगारमूलक कार्यमा उपयोग गर्नु आवश्यक छ ।
 
रोजगारीका क्षेत्र प्रवद्र्धन गर्दा खासगरी कृषिको आधुनिकीकरण, औद्योगिक विकास र विस्तार, व्यापार एवं युवा जनसंख्याले रोजगारी पाउन सक्ने क्षेत्रलाई पहिचान गरी प्राथमिकता दिनु आवश्यक देखिन्छ । युवालाई स्वावलम्बनका माध्यमबाट हुने स्वरोजगार कार्यक्रमका लागि प्रोत्साहित गरिनुपर्छ । यसका लागि सम्बन्धित मन्त्रालयले अन्य सरोकारवालासित समन्वयको आवश्यकता पर्छ । सरकारी, गैरसरकारी वा निजी क्षेत्र एवं सहकारिताका माध्यमबाट समेत वित्तीय व्यवस्थापन गर्ने निकायमार्फत युवाका लागि रोजगारी सिर्जना हुने गरी ऋण तथा प्राविधिक सहायतालाई प्राथमिकता दिन सकिन्छ । वैदेशिक रोजगारीबाट फर्केका युवाले आर्जन गरेको सीप तथा साधनस्रोतलाई राष्ट्रिय उत्पादन वृद्धिका निमित्त प्रयोग गर्न प्रोत्साहनको आवश्यकता पर्छ । बदलिएको राज्य संरचनाअनुसार जनसंख्या व्यवस्थापनलाई स्थानीय तहबाट सञ्चालन गर्न युवाको परिचालनका लागि आवश्यक नीति–निर्माण तथा अन्य आवश्यक व्यवस्थापन केन्द्रीय तथा प्रदेशस्तरबाट गरिनु आवश्यक छ । प्रदेशअनुसार जनसांख्यिक सन्तुलन, सरकारीस्तरबाट ठूलो मात्रामा रोजगारी सिर्जना, मुलुकको आवश्यकताको आधारमा प्राविधिक शिक्षामा जोड, बसाइँ–सराइलाई निरुत्साहित गर्ने कार्यक्रममा जोड दिनुपर्ने देखिन्छ । यसरी युवा जनशक्तिलाई क्रमशः स्वदेशको हितमा परिचालन गर्न सके देशको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्छ ।
 
Published on: 4 January 2019 | Naya Patrika

Back to list

;