s

युरोपमा रोजगारीको लोभ देखाएर टर्कीमा अलपत्र पार्ने युवक पक्राउ

युरोपमा काम लगाइदिन्छु भनेर नेपालीलाई टर्की पुर्‍याएर अलपत्र पार्ने एक कन्सल्ट्यान्सी सञ्चालक पक्राउ परेका छन् ।
 
काठमाडौंको बीएस कन्सल्ट्यान्सीका सञ्चालक गोरखा आरुघाट गाउँपालिका ३ का ३० वर्षका विष्णु शिवाकोटीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले पक्राउ गरेको हो ।
 
मानव बेचविखन तथा ओसारपसार र ठगी मुद्दामा अनुसन्धान गर्न उनलाई काठमाडौंको वीर अस्पताल मार्गबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
 
शिवाकोटीले ग्रिस र युरोपियन पानीजहाजमा काम लगाइदिन्छु भनी टर्कीमा नेपालीलाई अलपत्र पारेको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
 
टर्कीमा पुगेपछि अस्थायी आवास कार्ड (टीआरसी) पाइने र अष्ट्रेलिया, क्यानडा लगायतका देशमा पनि जान पाइने र प्रति महिना ७ सय ५० डलरसम्म कमाइ हुने प्रलोभनमा पारेर उनले प्रतिव्यक्ति ६ लाख ५० हजार रुपैयाँ लिएर टर्की पठाउने गरेका थिए ।
 
शिवाकोटी विरुद्ध टर्की र इजिप्ट लगायत देशमा पुर्‍याई अलपत्र पारेको भन्दै निरञ्जन भट्टराईसमेतले २०७५ जेठ २३ गते मानव बेचविखन, ओसारपसार र ठगी मुद्दा दर्ता गरेका थिए । सीआईबीले उक्त मुद्दामा अनुसन्धान चलिरहेको र शिवाकोटीलाई सोमबार अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिने बताएको छ ।
 
Published on: 1 July 2018 | Onlinekhabar

Back to list

;