s

युग बित्यो, कमलप्रसाद फर्केनन्

रुद्र खड्का / युवराज विवश

घरमा मीठो, मसिनो खानेकुरा पाक्यो कि ८५ वर्षीया कमला दवाडीको घाँटी अवरुद्ध हुन्छ । आफूलाई मनपर्ने खानेकुरा छोराले पनि खान पाओस् भन्ने सानैदेखिको उनको चाहना अझै उस्तै छ ।

चाडपर्व र अन्य उत्सवको बेला घरमा तयार हुने मीठा खानेकुराको परिकारले झनै कमलालाई तनाव दिन्छ । २–३ वर्षसम्म मलेसिया बसेर घर फर्कने भन्दै २०६१ कात्तिक २९ गते घर छाडेका कमलप्रसाद दवाडी अझै नफर्केपछि दमक–३ मा बस्दै आएकी आमा कमला छोरा फर्कने दिन गनेर बसिरहेकी छिन् । तर, छोरा घर फर्कने विषयमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन ।
 
रोजगारीका लागि विदेश गएका कमलप्रसाद हराइरहेको वर्षौं भइसक्दा पनि सरकारी निकायबाट निर्वाह गर्नुपर्ने सामान्य भूमिका समेत नगर्दा पीडित परिवारले मन बुझाउन सकिरहेको छैन ।  
 
‘रोजगारीका लागि मलेसिया गएको छोरो वर्षौंदेखि सम्पर्कमा नरहे पनि मनमा भने फर्किन्छ कि भन्ने लागिरहन्छ,’ कमलाले भनिन्, ‘त्यसैले उसको सधैं याद आइरहन्छ ।’ छोरी जन्मेको डेढ वर्षपछि घरमा खर्च बढ्दा र त्यसको व्यवस्थापन गर्न आवश्यक ठान्दै रोजगारीका लागि मलेसिया पुगेका कमलप्रसादले घर छाडेपछि एक दिन पनि हालखबरबारे परिवारलाई जानकारी दिएका छैनन् ।
 
गाउँका कतिपय व्यक्तिले कमलप्रसादबारे अनेक टीकाटिप्पणी गर्छन् । दवाडी परिवार भने सरकारले चाहने हो भने कमलप्रसादको अवस्था जे भए पनि प्रस्ट हुनेमा आशावादी छ । ‘सरकारले कस्ता कस्ता समस्या समाधान गरेको सुनेका÷देखेका छौं,’ कमलप्रसादकी पत्नी शकुन्तलाले भनिन्, ‘अहिलेसम्म उहाँको अवस्था यकिन हुन नसक्नुमा हामीलाई कमजोर ठानिएरै हो भन्ने लागेको छ ।’
 
हुन पनि हालसम्म दवाडी परिवारले अवस्था यकिन गर्नका लागि सरकारी निकायमा गरेका अनेक प्रयास बिफल मात्र भइरहेका छन् । काठमाडौं र जिल्ला तहका सरकारी कार्यालयमा खोजतलासका लागि दिने गरिएका निवेदनका याचनाबाट कुनै उपलब्धि हुन सकेको छैन । ‘यतिखेर हाम्रो चाहना उहाँ अवस्था जस्तो छ । त्यने यकिन होस् भन्ने नै हो,’ पत्नी शकुन्तलाले भनिन्, ‘सरकारी तवरबाट प्रयास हुने हो भने अवस्था यकिन गर्न गाह्रो छ जस्तौ लाग्दैन ।’
 
कमलप्रसाद कुन अवस्थामा वैदेशिक रोजगारीमा गएका थिए भन्नेबारे खोज्नलाई त्यति गाह्रो देखिँदैन । दवाडी परिवारले कमलप्रसादलाई वैदेशिक रोजगारीमा पठाउन काठमाडौंसम्म पुर्याउने एजेन्ट र मेनपावरको नामसमेत सबैलाई जानकारी दिने गरेको छ । शकुन्तलाका अनुसार कमलप्रसादलाई गाउँकै नाता पर्ने निर्मल न्यौपानेले १ लाख २० हजार रुपैयाँ लिएर काठमाडौंको एसओएस मेनपावरसम्म पुर्याएका थिए ।
 
सोही मेनपावरले कमलप्रसादलाई २०६१ कात्तिक ३१ गते मलेसियाको चुवाङपिनचर टियुवस कम्पनीका लागि उडाएको विमानस्थलको अध्यागमन रेकर्डमा देखिन्छ । कमलप्रसादसँगै एसओएस मेनपावरले अन्य १९ जनालाई पनि एउटै उडाबाट मलेसिया पठाएको थियो । पत्नी शकुन्तला सरकारी निकायले कम्तीमा एजेन्ट, मेनपावर र सँगै जाने साथीसँग सोधपुछ गर्ने हो भने वास्तविकता थाहा हुने ठान्छिन् । ‘मेरो तवरबाट सक्ने भनेको एजेन्टलाई सोधपुछ गर्ने हो,’ उनले भनिन्, ‘तर, त्यो एजेन्ट उहाँलाई मलेसिया उडाइसकेपछि सम्पर्कमा छैन । काठमाडौंको मेनपावरसँग कुरा गर्दा आलेटाले गरेर टारिदिन्छ ।’कमलप्रसाद मलेसिया पुगेको तीन महिनापछि एजेन्ट निर्मलले लिएको रकम फिर्ता गरिदिएपछि दवाडी परिवारको मनमा केही चिसो पसेको थियो ।
 
‘विदेश जाँदा लागेको रकम फिर्ता गर्दा एजेन्ट नाता पर्ने व्यक्ति भएकाले साँच्चिकै सहयोग गर्न खोजेछन् कि जस्तो पनि लागेको थियो,’ शकुन्तलाले भनिन्, ‘त्यतिबेला एजेन्टले भाउजू मलेसिया जाँदा ऋण लिएकाले यो रकम (एक लाख २० हजार रुपैयाँ) लिएर ऋण चुक्ता गर्दै गर्नू भनेका थिए । त्यसपछि एजेन्ट फर्केर आएनन् ।’
 
पछिल्लो समयमा कमलप्रसादलाई मलेसिया पठाउने एजेन्ट गाउँ छाडेर काठमाडौंको कुनै स्थानमा घर बनाएर बस्छन् रे भन्ने सूचनासम्म शकुन्तलाले पाएकी छिन् । कमलप्रसाद वैदेशिक रोजगारीमा जाँदा डेढ वर्षकी रहेकी छोरी अनुशा अहिले १४ वर्षकी भइसकिन् । कक्षा ८ मा अध्ययन गर्दै गरेकी अनुशाले बेलाबेला आमालाई बुबाबारे सोधीखोजी गर्छिन् । एक कट्ठा १६ धुर जमिन र त्यसमा बनेको जस्तापाताले छाएको घर तथा एउटा दुहुनो गाई शकुन्तलाका सम्पत्ति हुन् ।
 
‘गाईको दूध बेचेर तीनजनाको खर्च जुटाइरहेका छौं,’ उनले भनिन्, ‘गाउँकै अक्सफोर्ड इङ्लिस सेकेन्डरी स्कुलले छोरीका लागि शिक्षण शुल्क मिनाहा गरेकाले केही सजिलो भएको छ ।’ कमलप्रसादकी आमा कमलालाई नातिनीलाई जसरी पनि १२ कक्षासम्म अध्ययन गराउने धोको छ । ‘छोराले घर छाड्ने बेला आमा–छोरीलाई राम्रोसँग रेखेदेख गर्नू है भनेको थियो,’ पूरै अनुहार चाउरी परिसकेकी आमाले भनिन्, ‘छोराको त्यही वचन पूरा गर्न पनि जुनसुकै हालतमा नातिनीलाई १२ कक्षासम्म पढाउने धोको छ ।’
 
दवाडी परिवारले मलेसियामा हराइरहेका कमलप्रसादको खोजी र अनुशाको अध्ययनका लागि गरिरहेका याचनामा सहयोग हुनु त कता हो कता सरकारी कर्मचारीले भेटघाट समेत गरेका छैनन् । ‘अहिलेसम्म हाम्रा पीडा सुन्न नागरिक दैनिक र कान्तिपुर दैनिकका पत्रकार आए,’ शकुन्तलाले भनिन्, ‘कसैले वास्ता नगरेपछि अब एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै कुरा गर्ने धेरैले सल्लाह दिएका छन् ।’
 
एमाले अध्यक्ष ओली दवाडी परिवार बस्दै आएको दमकबाट निर्वाचित व्यवस्थापिका संसद्का सदस्य हुन् । ओली पुनः प्रधानमन्त्री हुने चर्चाले दवाडी परिवारमा सहयोग पाउने आशा पलाएको छ । ‘उहाँ प्रधानमन्त्री भएपछि पुनः भेटेरै कुरा गर्नुपर्ला,’ शकुन्तलाले भनिन्, ‘प्रधानमन्त्रीले चाहँदा पक्कै पनि उहाँको अवस्था थाहा होला भन्ने अपेक्षा छ ।’ 
 
Published on: 15 January 2018 | Nagarik

Back to list

;