s

यूएर्इमा उच्च अाय भएका नेपालीले नै पठाउँछन् हुण्डिबाट रकम

यूएईका न्यून आय भएका नेपालीहहरुले वैधानिक तरिकाले नेपाल पैसा पठाउने गरेपनि उच्च आय हुनेहरुले हुण्डीमार्फत नेपाल रकम पठाउने गरेको रेमिट्यान्स सरोकार समूहका प्रतिनिधिहरुले दाबी गरेका छन् ।
 
नेपाली राजदूतावास अबुधाबीले रेमिट्यान्स र यसको सदुपयोग विषयमा जेठ २१ गते नेपाली  राजदूतावास, अबुधाबीमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागी नेपालका विभिन्न बैंकका प्रतिनिधि, रेमिट्यान्स सरोकार समूहका प्रतिनिधिले उक्त कुरा खुलाएका हुन ।
 
रेमिट्यान्स सरोकार समुह यूएईका प्रतिनिधि  सन्तोष प्रसार्इंले राम्रो तलब भएका नेपालीहरुले हुण्डीमार्फत पैसा पठाउने गरेको आरोप लगाएका छन् । प्रसाईंले वैधानिक तरिकाले पैसा नेपाल पठाउनेहरुलाई केही सेवा सुविधा दिने नीति अवलम्बन गरेको खण्डमा हुण्डी समाप्त हुने दाबी  गरेका छन् ।
 
उनले म्यानपावर व्यावसायिका कारण पनि हुण्डी मौलाएको भन्दै नेपाल सरकारले कामदार आफैले सरल ढंगले बिदेश पठाउने व्यवस्था गर्न सुझाव दिएका छन् ।
 
अल अहालिया एक्सचेञ्जका नेपाली बिजनेस प्रमुख बेनिमाधव ढकालका अनुसार सामान्य नेपाली  मजदूरहरुले  वैधानिक तरिकाले विभिन्न एक्सचेञ्जमार्फत नेपाल पैसा पठाउने गरे पनि जनचेतना फैलाउने र सदाचारको पाठ सिकाउने केही नेपालहरुले नै हुण्डी गर्ने गरेको दाबी गरेका छन् ।
 
ढकालले सबै सबै संघसंस्था र ब्यावसायीलाई वैधानिक तरिकाले पैसा पठाएर देशको अर्थतन्त्रमा सहयोग गर्न आग्रह पनि गरेका छन् ।
 
आईएमइ लिमिटेडका जीसीसी प्रमुख सरोज बस्नेतले हरेक साता आयोजना हुने सबै  नेपाली कार्यक्रममा नेपाली दूतावासको आह्वानमा वैधानिक तरिकाले रेमिट्यान्स गर्न सुझाव सहितको सन्देशमुलक सामग्री अनिवार्य प्रचारप्रसार गर्नुपर्ने सुझाव दिएका थिए ।
 
प्रवासी नेपाली मन्च यूएईका अध्यक्ष श्याम कंडेलले हुण्डी गर्नेहरुलाई कारबाहीका लागि सिफारिस गर्नुपर्नेमा जोड दिएका थिए । नेपाल सरकारले हुण्डी तथा सुन कारोबारी कडाइ  गरी अवैधानिक काम गर्ने र गराउनेहरुमाथि निगरानी राखी छुट्टै निकाय स्थापना गरि कारबाही गर्नपर्ने कँडेलले सुझाव दिएका छन् ।
 
यूएईमा रहेका नेपाली कामदारमध्ये धेरैले अवैध रुपमा हुण्डी गर्ने गरेको बैंक तथा सरोकारवाला निकायले जनाएका छन्।
 
नागरिकको प्रतिवद्धता र इमान्दारिताको अभावमा अञ्जानमा हुण्डी मौलाएको पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष भुपराज बस्यालले बताए । अध्यक्ष बस्यालले पत्रकारको भेसमा कोहीले हुण्डी र भिसाको कारोबार गरेको पाइएमा तत्काल कारबाही  गरिने बताएका छन् । सहभागीहरुको  सुझावलाई सरकार समक्ष पु¥याउन राजदूतावासले  समन्वय गर्ने कार्यवहाक राजदूत सागरप्रसाद फुँयालले बताए ।
 
यस्तै, दूतावासकी द्वितीय सचिव विष्णु अधिकारीले प्रस्तुत गरेको रेमिट्यान्सले धानेको मुल अर्थतन्त्र र वैदेशिक रोजगारले निम्ताएका समस्याका बारेको कार्यपत्रमा  नेपालको कुल ग्राहस्थ उत्पादनको ३१ दशमलव ८ प्रतिशत रेमिट्यान्सले धानेको तथ्यांक  उल्लेख छ।
 
उक्त कार्यपत्र अनुसार  रेमिट्यान्सको ठूलो हिस्सा फजुल रुपमा खर्चिएको देखिन्छ। दूतावासका श्रम सहचारी मोतिराम भूसालले रेमिट्यान्सका सकारात्मक पक्ष र अवैधानिक तवरमा पैसा पठाउँदा हुन बेफाइदाका विषयमा कार्यपत्र प्रस्तुत गरे। उक्त कार्यपत्रमा अपराधिक गतिविधिलाई नियन्त्रण गर्न वैधानिक बाटोबाट रेमिट्यान्स पठाउनु पर्ने उल्लेख छ ।
 
छलफल कार्यक्रममा नेपालका विभिन्न बैंकका प्रतिनिधि, रेमिट्यान्स सरोकार समूह, राजनीतिक दलका भातृ संगठनका प्रमुख, ट्राभल्स व्यवसायी तथा संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।
 
हुण्डी रोक्न आठ बुँदे ज्ञापनपत्र । हुण्डीले नेपाली आर्थिक सामाजिक तहसनहस पारेको भन्दै रेमिट्यान्स सरोकार समूह यूएईले नेपाल सरकारलाई दूतावासमार्फत आठ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
 
वैधानिक रेमिट्यान्स गर्नेहरूको परिवारलाई  विभिन्न सेवासुबिधा दिनुपर्ने, छात्रवृत्ति दिनुपर्ने, परिवारका सदस्यलाई सिपमुलक तालिमको व्यवस्था गर्नुपर्ने, शिक्षा र स्वास्थ क्षेत्रमा राहत दिनुपर्ने लगायतका नीतिनियमहरु सरकारले घोषणा गर्नुपर्ने मागहरु रहेका छन् ।
 
त्यसैगरी रेमिट्यान्सलाई फजुल खर्चमा दुरुपयोग नगरी साना उद्योग तथा जलविद्युत जस्ता उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सरकारले कार्यक्रम ल्याउनुपर्ने पनि सुझाव दिइएको रेमिट्यान्स सरोकार समुहका प्रतिनिधि सन्तोष प्रसाईंले अनलाइनखबरलाई बताए ।
 
Published on: 6 June 2018 | Onlinekhabar

Back to list

;