s

युद्ध मैदानबाट नेपालीको याचना: रुसी सैनिकले नै मलाई मार्दैछन्, बचाउनुस् !

शुक्रबार अबेर साँझ रुसी सेनामा रहेका ‘नेपाली नागरिकको जीवनरक्षाको अभियान’ चलाइरहेकी अभियन्ता कृतु भण्डारीले एउटा वाट्सएप म्यासेज ग्रुपमा जोडिन्। जहाँ तीनचारजनाको समूहमा अडिओ संवाद चलिरहेको थियो।

एकजना युवा रुँदै भनिरहेका थिए, ‘हिजोसम्म त मारे नि मार्लान् केही छैन; मरे पनि मरुँला भनेर यहाँ आएको हुँ भन्ने सोचिरहेको थिएँ। आज बिहानै छोरीले परीक्षा दिएको कुरा सुनाइन्। त्यसपछि झसंग भएँ। मेरो त परिवार छ, मरे भने त उनीहरू बिचल्ली हुन्छ!’

उनी एकोहोरो अनुनय गरिरहेका थिए, ‘मलाई त निश्चित मार्छन्। तपाईंहरूले सके बचाइदिनुुस्। मारिहाले भने मेरो शव नेपाल पुगोस्, मेरा परिवारले राहत र क्षतिपूर्ति पाऊन्।’

उनी खोटाङका हरिकुमार राई रहेछन्। काठमाडौंमा ‘राइडर’ सेवा दिएर परिवार धानिरहेका राई साथी र दलालको लहलहैमा लागेर २०८० भदौ १९ रुस गएका रहेछन्। आफूलाई खोटाङकै शैलेन्द्र राईले सात लाख रुपैयाँ लिएर रुस पठाएको उनी बताउँछन्। हरिका अनुसार शैलेन्द्रले उनीसँगै नेपाली एयरपोर्टबाटै आठजना पठाएका थिए।

रुस पुगेको दोस्रो दिन नै उनी रुसी सेनामा भर्ती भए। भर्तीको भएको केही दिनमै युद्ध मैदानमा खटिएर युक्रेन पुगे। उनीसँगै १५ जना नेपालीको टोली पठाइरहेको रहेछ, जसमध्ये दुईजनाको मृत्यु भएको उनले सुनेका छन्। बाँकीमध्ये केही घाइते भएका छन्।

‘युद्ध निकै भयानक रहेछ। पाइला–पाइलामा मृत्यु सम्भव छ’, हरिले सुनाए, ‘आकाशमा सत्रुको ड्रोन घुमिरहेको हुन्छ। टाउको बाहिर निकाल्नेबितिक्कै लखेट्न आइपुग्छ। कतिबेला शरीरमा बम खस्छ थाहा हुन्न।’

त्यो देखेपछि आत्तिएका उनको समूहका नेपाली भाग्ने कोसिसमा लागे। ६ जना भाग्ने कोसिस गर्दागर्दै समातिए। थुनामा राखेर नराम्ररी यातना दिइयो। ‘उनीहरूले भाग्ने कोसिस गरेपछि सबैलाई असर प¥यो। सगोलमा रहेका नेपालीहरू रुसी नागरिक रहेका समूहमा बाँडियौं। त्यसपछि एक÷एक गरी राखिएको छ’, हरि भन्छन्।

समूहका सबै मारिए, भाषा नजान्दा फसे

त्यसपछि हरि पाँचजना रुसी नागरिकसँगको समूहमा परे। युक्रेनका ड्रोनले ती पाँचजनामध्ये चारजनालाई एकपछि अर्को गर्दै निशाना बनाउँदै लग्यो।

‘मसँग अन्तिममा एकजना साथी मात्रै बच्यो। ऊ ड्रोन अपरेटर थियो। निकै मिलनसार हामी निकै घुलमिल भइसकेका थियौं’, हरिले भने। उनीहरू दुईजनाले मात्रै धेरै दिन युद्ध मैदान र सेल्टरमा सँगै बिताए। उनी भन्छन्, ‘ऊ धेरै राम्ररी ड्रोन चलाउँथ्यो। सँगै अपरेसनमा जान्थ्यौं। एकअर्कालाई जोगाउन हरसम्भव प्रयास गथ्र्यौं। धेरै दिनसम्म जोगिएर बसेका थियौं।’

केही दिनअघि युक्रेनको ड्रोनले उसलाई झन्डै भेट्यो। ‘युक्रेनको ड्रोन हामीलाई देखेपछि लखेट्न थाल्यो। हामी केहीसमय भाग्यौं। म छलिएर जोगिएँ’, हरि भन्छन्, ‘तर उसलाई निशाना बनाएर ड्रोनले बम खसाल्यो।’ उसले बम छलेर शरीरमा बाहिरी चोट लाग्नबाट जोगियो। ‘शरीरमा चोट लागेन, तर ऊ शिथिल भएको थियो। शरीर हलचलसमेत गर्न सक्दैनथ्यो। मैले भित्री चोट लागेको अनुमान लगाएँ’, हरि भन्छन्।

युक्रेनको ड्रोन हिँडेपछि हरिले उसको अवस्था ‘प्लाटुन कमान्डर’ लाई जानकारी दिए। अचेत अवस्थामा उसलाई बोकेर सेल्टरतर्फ अघि बढे। आधा बाटोसम्म अरु सघाउन आएका थिए।

सेल्टरमा पुगेपछि कमान्डरले घाइतेको अवस्था हरिसँग सोधे। त्यही जबाफमा सिर्जना भएको गलत बुझाइको समस्याले अहिले आफूलाई ‘मार्ने’ अवस्थामा पुर्‍याएको हरिको दुखेसो छ।

‘बाहिरी चोट थिएन। यसैले कमान्डरले ऊ ‘नर्मल’ (सामान्य) छ ? भनेर सोधेको थियो। मैले ‘अब्नर्मल’ (असामान्य) भनेको थिएँ। मलाई रसियन नआउने ! सायद मैले अब्नर्मल भनेकोलाई नर्मल मान्यो कि!’, आफ्नो अनुभव सुनाउँदै हरिले भने, ‘त्यसपछि कमान्डरले ऊ होसमा नआउँदासम्म १०-१० मिनेटमा हेरिराख्नु भन्यो। उपचारमा लगेन।’

केही दिनअघि ऊ अकस्मात मृत फेला पर्‍यो। ‘मैले हेरिरहेको थिएँ। बाहिर निस्केका बेला कतिबेला श्वास छाडेछ थाहा पाइनँ’, हरि भन्छन्। उसको मृत्युपछि कमान्डर हरिसँग बम्कियो। ‘तैले नर्मल भनेको थिइस्, कसरी म¥यो? भनेर कमान्डर रिसायो। त्यसदेखि उसले मसँग राम्रो व्यवहार गर्न छाड्यो। खाना, पैसा केही पनि दिएको छैन,’ हरिले दुखेसो पोख्दै भने, ‘जंगलमा जे भेट्यो त्यही खान्छु। कति दिन भोकै बसेको छु।’

यसैक्रममा रुसी सेनाले आफूलाई धम्क्याउन थालेको हरि बताउँछन्। ‘आपसमा रसियन भाषामा उनीहरू मलाई मार्ने कुरा गर्छन्। म बोल्न पो सक्दिनँ, बुझ्ने त भएको छु’, उनले भने, ‘पाँच दिनयता त मलाई सिधै भन्छन्, तेरो हात काट्छौं, खुट्टामा गोली हान्छौं अनि मारेर फाल्छौं।’

आफूले कमान्डरलाई भेट्न खोज्दा भेट्न नदिएको उनी बताउँछन्। ‘दिनभर सुतिरहन्छ, तर भेट दिँदैन। सेटमा सिध्याइदेऊ भन्छ’, हरि भन्छन्। त्यो सुनेदेखि पाँच दिनयता आफू सुत्न नसकेको उनी बताउँछन्।

अहिले आफूसँग रहेका हतियार, ड्रेस खोसेर लगेको उनले सुनाए। उनले भने, ‘मेरो पासपोर्ट पनि जलाइसके। धन्न मोबाइल बाँकी राखेका छन्।’

आफूलाई बेलाबेला आएर धम्क्याउने गरेको उनी सुनिन्छन्। वाट्सएपमा बोलिरहँदा बेलाबेला रसियन भाषामा आवाज सुनिन्छ। केही बेरपछि उनले त्यो पनि धम्की रहेको जानकारी दिन्छन्।

‘यो सम्पर्क जतिबेला पनि टुट्न सक्छ। मलाई जतिबेला पनि मार्न सक्छन्। मलाई मारे पनि मेरो सन्देश सबैलाई सुनाइदिनुहोला। मेरो शव नेपाल ल्याउने प्रबन्ध मिलाइदिनुहोला’, याचना गर्दै हरिले भने, ‘म नहुँदा मेरो परिवार बेसाहारा बन्छ, राहत र क्षतिपूर्ति दिलाइदिन पहल गरिदिनुहोला।’

राज्यले सुन्नै चाहेन!

सात समुद्रपारि युद्ध मैदानमा पुगेका हरि आफू आबद्ध फौजले मार्ने अवस्थामा पुग्दा विछिप्त छन्। उनले आफ्नो विडम्बना वाट्सएपको सहाराले अभियन्ता भण्डारीलाई सुनाएका थिए।

अभियन्ता भण्डारीले उनको गुनासो मस्कोस्थित नेपाली राजदुत मिलन तुलाधर, परराष्ट्र मन्त्रालय, मन्त्रालयमातहतको कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहालका जनसम्पर्क सल्लाहकार बुद्धि जिसीलगायतलाई वाट्सएपबाटै जोडेर सुनाउन चाहेकी थिइन्, तर जिसीबाहेक कसैले सुनिदिएनन्।

‘हामी कस्तो विडम्बनापूर्ण स्थितिमा छौं। एकातिर बेरोजगारीले तड्पिएर युवा मृत्युको भुंग्रोमा पस्न बाध्य बनाएका छौं’, अभियन्ता भण्डारी भन्छिन्, ‘अर्कातिर मर्नै लागेका ती नागरिकको चीत्कार सुन्नेसम्मको संवेदना पनि हाम्रो राज्यसँग छैन, उद्धारको त परको कुरा!’

Published on: 20 May 2024 | Nagarik

Link

Back to list

;