s

युवती लुट्ने अध्यागमनका ३ कर्मचारी निलम्बित

साउदी अरबबाट फिरेकी भोजपुरकी युवतीलाई अध्यागमन कर्मचारी र प्रहरीको मिलेमतोमा पैसा लुट्ने तथा यौन दुव्र्यवहार गरिएकोबारे अनुसन्धानमा अध्यागमन विभागका दुई शाखा अधिकृतसहित एक नायब सुब्बा निलम्बनमा परेका छन् ।

युवतीका मितदाइले हनुमानढोका प्रहरी कार्यालयमा बहिनीको २ लाख रुपैयाँ बराबरको साउदी रियाल लुटिएको र उनीमाथि यौन दुव्र्यवहार भएको भन्दै मंगलबार उजुरी दिएका थिए । गृहसचिव नवीन घिमिरे तथा सहसचिव भोलाप्रसाद शिवाकोटीले आफैं संलग्न रहेर सुरु गरेको अनुसन्धानमा प्रहरी जवान परशुराम बस्नेत तथा अध्यागमनका नासु सोमनाथ खनालको बयान पूरा भएको छ । बस्नेतले गत मंसिर ६ गते राति गोंगबुको एउटा लजमा आफूले ती युवतीसँग शारीरिक सम्बन्ध राखेको सकारेका छन् । युवतीको मेडिकल परीक्षणमा गर्भ रहेको 'पोजेटिभ' संकेत देखिएकाले यो विषय थप गम्भीर बनेको छ । नासु खनालले युवतीबाट खोसिएको पैसामा अध्यागमन केन्द्रीय कार्यालयका शाखा अधिकृत रामप्रसाद कोइराला र टेकराज पोखरेलले बाँडीचुँडी ६० हजार रुपैयाँ लिएको बयान दिएका छन् । पर्वतकी अर्कै युवतीको नामको पासपोर्टमा साउदी गएकी ती युवतीले सही नाम बताएपछि अध्यागमनमा पक्राउ परेकी थिइन् । लगत्तै पैसा लेनदेनको मिलेमतो भएपछि उनलाई धरौटीमा छाड्ने समहति भएको थियो । 'यी बाहेक केही कर्मचारीले पनि खाजा खान रकम  बाँडेको थाहा हुन आएको छ, अनुसन्धानमा त्यसको पुष्टि भएमा कारबाहीका थप प्रक्रिया अघि बढ्नेछन्,' गृहका एक अधिकारीले भने ।

Published on: 20 December 2012 | Kantipur

Back to list

;