s

युवालाई स्वरोजगार बनाउँदै पञ्चकन्या ग्रुप

स्वदेशमा रोजगारी नपाएर युवा विदेश पलायन भइरहेको बेला औद्योगिक तथा व्यापारिक घराना पञ्चकन्या ग्रुपले स्वदेशमै स्वरोजगार सिर्जना गर्नका लागि प्लम्बिङ तालिम सञ्चालन गरेको छ। बेरोजगार युवालाई प्लम्बिङ तालिम दिएर स्वरोजगार बनाउन ग्रुपले मुलुकका विभिन्न सहरमा सीप सिकाइरहेको छ।

पञ्चकन्या ग्रुपले ‘एडभान्स प्लम्बिङ’को सीप सिकाउने अभियान नै सञ्चालन गरेको जनाएको छ। बढ्दो सहरीकरणसँगै पलम्बरको माग बढिरहेकाले करिब १५ सय युवालाई प्लम्बिङसीप सिकाउने पञ्चकन्या ग्रुपका एरिया मेनेजर सुरेश मिश्रले बताए। ‘विदेशबाट प्रशिक्षक ल्याएर प्लम्बिङ तालिम सञ्चालन गरेका छौं,’ मिश्रले भने, ‘युवालाई सीप सिकाएर रोजगारी सिर्जना गर्ने उद्देश्य हो।’ प्लम्बिङको आधारभूत ज्ञान भएका र सीप सिक्न चाहने युवालाई तालिम दिइएको उनको भनाइ छ। कार्यक्रममा जापानबाट सिपिभिसीका कच्चा पदार्थ सप्लाई गर्ने सेकिसुई कम्पनीले सघाएको छ। काठमाडौंबाट सुरु भएको तालिम मुलुकका १७ सहरमा सञ्चालन गर्ने आयोजकले जनाएको छ। कैलालीको धनगढी, बाँकेको कोहलपुर, सुर्खेत, दाङको घोराहीमा तालिम सम्पन्न भएको छ। पोखरा, चितवन, हेटौंडा, धरान, विराटनगर, दमक, बिर्तामोड लगायत सहरमा पनि तालिम सञ्चालन गर्ने तयारी छ।

आइतबार बुटवलमा तालिम सम्पन्न भएको छ। सोमबारबाट भैरहवामा सुरु भएको छ। तालिममा सैद्धान्तिक ज्ञानसहित प्रयोगात्मक अभ्यास पनि गराइएको मिश्रले बताए। ‘तालिममा सहभागी युवाको आत्मविश्वास बढेको छ,’ उनले भने। तालिममा सहभागीमध्ये अधिकांश काम गर्दै आएका र कतिपय नयाँ छन्। ‘थप सीप सिकेपछि ज्याला पनि बढ्छ,’ मिश्रले भने। अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सीप सिकाएको कम्पनीको दाबी छ। यहाँ सीप सिकेका युवा वैदेशिक रोजगारीमा जाँदा पनि फाइदा हुने विश्वास लिइएको छ। अहिले भारतीय युवा नेपालका विभिन्न सहरमा आएर प्लम्बिङको काम गरिरहेका छन्। प्लम्बिङ तालिम लिन पाएकोमा युवाहरु खुसी छन्। तालिम फलदायी भएको धनगढीका हिरालाल चौधरीले बताए।

भवन निर्माण, वाटर सप्लाई, बाथरुम डिजाइन लगायत विषयमा सिक्ने अवसर पाएको चौधरीले बताए। ‘छोटो अवधि भए पनि प्लम्बिङबारे धेरै ज्ञान सिक्यौं,’ चौधरीले भने, ‘आगामी दिनमा काम पाउन सजिलो हुन्छ।’ सहरी क्षेत्रमा घर निर्माणले तीव्रता पाएकाले प्लम्बिङको सीप भएका युवालाई रोजगारी पाउन सजिलो हुन्छ। जापानको प्रख्यात कम्पनी सेकिसुई र भारतको स्टारलाइन इन्टरप्राइजेजका दक्ष, अनुभवी तथा व्यावसायिक प्रशिक्षकद्वारा सहभागीलाई प्रशिक्षण दिइएको छ। बेरोजगार युवायुवतीलाई सीप सिकाएर आफ्नै देशमा रोजगारी सिर्जना गर्न तालिम आयोजना गरेको पञ्चकन्याको दाबी छ। सीप सिक्न इच्छुक व्यक्तिले इन्टरनेटमार्फत व्यक्तिगत विवरण बुझाई तालिममा सहभागी हुन सक्ने बताइएको छ।

Published on: 7 May 2019 | Nagarik

Back to list

;