s

युवा बिदेसिएपछि गाउँघरको खेतीयोग्य जमिन बाँझै

सागर रिजाल

प्युठानमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ । युवाहरू रोजगारी खोज्दै विदेश पलायन हुन थालेपछि खोतीयोग्य जमिन जंगलमा परिणत हुने क्रम बढेको हो । श्रम गर्ने उमेर समूहका युवा बिदेसिएकाले गाउँमा केटाकेटी तथा वृद्धवृद्धाको मात्रै बसोवास छ । प्युठानका अधिकांश युवा रोजगारीका लागि भारत र खाडी मुलुक पलायन भएका छन् । युवा बिदेसिएपछि गाउँमा युवा जनशक्तिको अभाव छ ।

जसको असर खेतीकिसानीदेखि विकास निर्माणका काममा समेत पर्न थालेको छ । युवा रोजगारी खोज्दै बिदेसिँदा काम गर्ने जनशक्ति पाउन छाडेको ऐरावती गाउँपालिका–५ का शान्तराज श्रेष्ठले बताए ।  ‘गाउँमा युवा नहुँदा खेतीयोग्य जमिन बाँझिएका छन्,’ श्रेष्ठले भने, ‘मर्दापर्दा पनि सरसहयोग नपाइने अवस्था सिर्जना हुन थालेको छ ।’ केही वर्षअघिसम्म तीन सय रुपैयाँमा पाइने खेताला अहिले ५–७ सय रुपैयाँ दिन्छु भन्दा पनि नपाइने उनले बताए ।  

विकास निर्माणमा असर

गाउँका युवा विदेश पलायन भएपछि स्थानीय तहले सञ्चालन गर्ने विकास निर्माणका काममा पनि जनशक्ति अभाव छ । प्युठानका नौवटै स्थानीय तहले युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरेका छन् । तर, स्थानीय तहले सञ्चालन गर्ने युवा स्वरोजगार कार्यक्रम पनि जनशक्ति अभावमा सोचेअनुसार अघि बढ्न सकेको छैन ।

स्थानीय तहले गाउँका युवालाई गाउँमै रोजगारीका अवसर प्रदान गर्ने भन्दै विभिन्न कार्यक्रम अघि सारेका छन् । ती कार्यक्रममा लाखौँ रुपैयाँ विनियोजन भएको छ । तर, स्थानीय तहले सञ्चालन गरेका कार्यक्रममा युवाको इच्छा देखिँदैन । गाउँ–गाउँबाट दैनिक दर्जनौँ युवा सदरमुकाम गएर राहदानी बनाउँदै बिदेसिइरहेका छन् । गाउँका युवालाई स्वरोजगार बनाउन ल्याइएको कार्यक्रममा युवाकै इच्छा नदेखिएको झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जीसीले बताए । गाउँपालिकाले युवा स्वरोजगार कार्यक्रमअन्तर्गत कृषि, पशुपालन, फलफूलखेती, उद्योगलगायतका क्षेत्रमा बजेट विनियोजन गरेको छ ।

चाडपर्वको रौनक घट्यो

गाउँमा युवा नहुँदा चाडपर्व, विवाह–व्रतबन्धजस्ता उत्सवमा पहिलाको जस्तोे रौनक हुँदैन । ऊर्जाशील युवा गाउँ छोडेर रोजगारी र अध्ययनका लागि विदेश तथा सहर–बजारतिर गएपछि गाउँको रौनक घटेको गुनासो ज्येष्ठ नागरिकले गरेका छन् । गाउँघरमा युवा उमेरको जनशक्ति नहुँदा सडक, भवनलगायतका विकास निर्माणका काममा जनशक्ति अभाव छ । स्थानीय जनशक्ति नहुँदा कतिपय भारतीय मजदुरले काम पाउन थालेका छन् । जिल्लामा कामदार अभाव हुँदा भारतीय कामदार राख्नुपर्ने अवस्था सिर्जना भएको निर्माण व्यवसायी रामचन्द्र केसीले बताए ।

Published on: 8 March 2019 । Nayapatrika

Back to list

;