s

युवा विदेशिएपछि पुनर्निर्माणमा वृद्धवृद्धा

श्रीराम केसी
 
बनेपा: विनाशकारी भूकम्पपछि जिल्लाका अधिकांश युवा वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै वृद्धहरू पुनर्निर्माणमा लागि परेका छन् । गाउँका अधिकांश युवा विदेशिन थालेसँगै खेतीपाती र पुनर्निर्माणका काममा महिला र वृद्ध लाग्न थालेका हुन् ।
 
‘काम गर्ने मान्छे छैनन्, खेताला पनि पाइँदैन, बाँझो राख्न पनि भएन', चलाल गणेशस्थान गाविस कि ६८ वर्षीया फूलमाया तामाङ भन्छिन्, ‘छोरानाति विदेश गएका छन् । घरमा बुहारी, साना केटाकेटी र म मात्र छौं, भुइँचालोले घर पनि भत्कायो, बल्लबल्ल टहरो बनायौं । खेती पनि गर्नै पर्‌यो । त्यसैले सकिनसकी आलु गोड्न आएको', उनले थपिन्, ‘समयमा बाली लगाउन सकिएन र काम गर्न सकिएन भने वर्ष दिनसम्म भोकै बस्नुपर्छ । त्यसैले सकिनसकी भए पनि सासू बुहारीले आलु गोडेका हौं ।' भूकम्पले घर भत्किएसँगै घर बनाउने सिकर्मी, डकर्मी नपाउँदा समस्यामा परेको उनले बताइन् । ‘गाउँका युवा विदेशमा धेरै पैसा कमाइन्छ भन्दै बाहिरिए, अहिले काम गर्ने मान्छे छैनन्', उनले भनिन् ।
 
त्यस्तै रयाले गाविसकी कान्छिमाया तामाङले भूकम्पले घर भत्किएसँगै घरमा मान्छे नुहँदा माइतबाट दाजुभाइ गुहारेर टहरा निर्माण गरे पनि खेतबारीमा काम गर्न समस्या भएको बताइन् । ‘ श्रीमान् रोजगारीका लागि कतार जानुभएको छ । घरमा म र सानासाना बालबच्चा मात्र छौं । अब बर्खा पनि सुरु हुन लाग्यो, न काम गर्ने मान्छे पाइन्छ न आफू गर्न सक्छु । घर बनाउने तालसुर छैन । सबै आआफ्नो बनाउन लागेका छन् ।'
 
पछिल्लो समय युवा शक्ति विदेश जान राहादानी बनाउने भीड लाग्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा गुरागार्इं बताउँछन् । ‘भूकम्पअधिको तुलनामा अहिले विदेश जान राहादानी बनाउन आउने बढेका छन्', उनले भने, ‘भूकम्पअधि दैनिक सरदर ३० देखि ४० जना आए पनि भूकम्पपछि दैनिक ७० देखि ८० जनासम्म आउने गरेका छन् ।'
 
भूकम्पका कारण घरबारविहीन भई आर्थिक रूपमा कमजोर भएका अधिकांश युवा भूकम्पले भत्काएको घरसँगै आधुरा सपना पूरा गर्न विदेश जान लागेको गुनासो गर्छन् । ‘विदेश जानु रहर होइन बाध्यता हो', पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालय धुलिखेल आएका देवेन्द्र माझी भन्छन्, ‘जेनतेन बालुवा निकाल्ने र मेलापात गरेर जीवन गुजार गरेका हामीले अब कसरी घर बनाउने ? त्यसैले विदेश जान लागेका हुँ ।' जिल्लामा पछिल्लो समय युवा विदेशिने क्रम बढेसँगै गाँउघरमा कृषि काम गर्ने र भत्किएका घर पुनर्निर्माण गर्न जनशक्ति नहुँदा पीडितहरू समस्यामा पर्न थालेका छन् ।
 
Published on: 25 March 2016 | Annapurna Post

Back to list

;