s

युथ माइग्रेसन

अन्तर्राष्ट्रिय युवा दिवसको दिनमा राष्ट्रिय सभागृहमा युवाहरूको बाक्लै चहलपहल थियो । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको मूल आयोजनामा ५० भन्दा बढी सरकारी र गैरसरकारी संस्था मिलेर १४ औं युवा दिवस मनाइरहँदा हलकै एक छेउमा भेटिइन्, लक्ष्मी बन्जाडे । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले कार्यक्रममा राष्ट्रिय युवा प्रतिभा र खेलकुद प्रतिभा पुरस्कार प्रदान गरिरहँदा लक्ष्मी भने हतारमा नेत्रहीन युवाहरूलाई हलभित्र ल्याउन-लानमा व्यस्त थिइन् । 'हामी युवाले उनीहरूको मद्दत नगरेर कसले गर्छ र ?,' सेन्ट जेभियर कलेजमा मास्टर्स इन सोसल साइन्स पढिरहेकी उनले भनिन्, 'अरू बेला पनि बाटामा हिँड्दा मैले अशक्तहरूलाई सहयोग गर्छु । अहिले त सहयोग गर्न गयो कि छामेरै लक्ष्मी भन्दै चिन्छन् ।' 

उनले युवाको विषयमा एकै दिन युवा दिवसमा मात्र केन्दि्रत भएकोमा निराश पोखिन् । दाङ घर भई अहिले कोटेश्वर बस्दै आएकी उनले भनिन्, 'युवालाई प्रमोट गर्ने सवालमा अरू बेलामा पनि कार्यक्रम गर्न सकिन्छ । यही दिन किन कुर्नुपर्‍यो र ।' २४ वषर्ीय उनलाई यसपल्ट युवा दिवसको स्लोगन 'युथ माइग्रेसन ः मुभिङ डेभलपमेन्ट फरवार्ड' -युवा आप्रवासन ः सुरक्षित र व्यवस्थित बनाऔं) साहै्र चित्त बुझ्दो लागेछ । 

'हाम्र्रो देशमा वर्षौं हजारौं युवा विदेशमा पलायन हुन्छन् । महत्त्वपूर्ण क्षणमा यस्ता कुरा बाहिर ल्याउनु सान्दर्भिक छ,' हातमा किताब र झोला भिरेकी लक्ष्मीको ठम्याइ थियो । 

संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि युवा दिवस हरेक वर्ष अगस्ट १२ मा मनाउने भन्दै अघि ल्यायो । राष्ट्रसंघका सातौं महासचिव बनेका कोफी अन्नानले 'लेट द योङ लिड' भन्दै युवा दिवसलाई अघि सारेका थिए । सन् २००० देखि धुमधामका साथ मनाउन थालिए पनि नेपालमा भने सन् २००४ देखि राष्ट्रिय पर्वकै रूपमा मनाउन थालियो । 

बाग्लुङका राजन कँडेल यसपल्टको युथ स्लोगनलाई जल्दोबल्दो इसु रहेको मान्छन् । क्लब २५ नेपालका अध्यक्षसमेत रहेका यी २१ वषर्ीय ठिटा भन्छन्, '१९ औं/२० औं शताब्दीमा मान्छेको किनबेच नै हुन्छ भन्ने सुनिन्छ । अहिले पनि त्यसले निरन्तरता पाएको छ, फरक यति हो कि अर्कै रूपमा । अहिले वैदेशिक रोजगारमा काम गर्न गएर त्यसलाई निरन्तरता दिएका छन् ।' 

यी पब्लिक हेल्थका विद्यार्थीलाई विदेशमा राम्रो जागिर गर्न, आफ्नो स्किल बढाउन गएको ठीक लाग्छ, तर उनको विचारमा आफ्नो आउटपुट पहिलो आफ्नै देशलाई दिनुपर्छ । उनलाई नेपाल बत्तीमुनिको अँध्यारो देश भन्ने लाग्छ । त्यसो हुनुको कारण के त ? राजन जवाफ दिन्छन्, 'नेपाली नेता र राजनीति । यसैले देशलाई कमजोर बनायो ।' जबसम्म देशमा राजनीतिक स्थिरता हुँदैन अरू क्षेत्र पनि राम्रोसँग अघि बढ्न नसक्ने उनको निष्कर्ष छ । 

देशभित्र रोजगारीको अवसर नहुँदा 

विदेशिनेको संख्या ३० लाख पुगिसकेको छ । यो तथ्यांक अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०६९/७० मा उल्लेख छ । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ६६ लाख छ । दोस्रो जनआन्दोलनयता मात्रै २४ लाखभन्दा बढी विदेशिएका छन् । दैनिक १४ सयभन्दा बढी युवा विदेशिने गरेको तथ्यांक छ । गैरकानुनी रूपमा विदेशीको संख्या यति भएको अनुमान छ, तर त्यसको तथ्यांक कतै छैन । बर्सेनि नेपालमा ४ लाख ५० हजार उत्पादनशील युवा रोजगारीका लागि थपिने गरेका छन् । 

तर देशमै काम गर्ने अवसर नहुँदा विदेशिन बाध्य भएका छन् । जसले गर्दा नेपालले ऊर्जाशील युवा शक्तिलाई गुमाउनुपर्ने बाध्यता छ । द्वन्द्व, शान्ति तथा विकास अध्ययनका विद्यार्थी रहेछन्, सप्तरीका सुमन पराजुली । उनी मास्टर्स सकेर स्वैच्छिक अवकाश दिने माओवादीका लडाकुले के गरिरहेका छन् ? भन्ने उत्तर खोज्दै थेसिस लेख्न लागिपरेका रहेछन् । 

उनलाई पनि 'युवा आप्रवासन ः सुरक्षित र व्यवस्थित बनाऔं' भन्ने स्लोगनले छोएको रहेछ । २४ वर्षका यी ठिटा भन्छन्, 'सान्दर्भिक छ । १५ देखि ४५ वर्षसम्मका युवाहरू विदेशिने गरेका छन् । यही विषयलाई उठाउनु ठीक हो ।' कोही पढ्ने त कोही बेचिने, जबर्जस्ती रूपमा लगिनेको संख्या बढिरहेको उनले पाएका छन् । नेपालमा पाइने राम्रा जागिर पनि यहाँको शिक्षाका कारण हात धुनुपर्ने बाध्यता रहेको उनको मूल्यांकन छ । 

'ग्लोबलाइजेसनको जवानामा विश्वका अन्य शिक्षा हासिल गर्नेसँग हामीले फाइट गर्नुपर्छ । तर हाम्रो देशको शिक्षामा त्यत्तिको दम छैन ।' नेपाललाई कृषिप्रधान देश भनेर पनि चिनिन्छ । तर वर्षमा झन्डै एक खर्ब बराबरको कृषिजन्य वस्तु नेपालले आयात गर्नुपर्ने बाध्यता छ । 'हाम्रो देशमा जुन क्षेत्रमा काम गर्नुपर्ने हो त्यो बारेमा पढाइ नै हुँदैन,' आफ्ना साथीहरू रितु थपलिया, दीपिका सिटौला, अञ्जना खड्कासँगै गफिँदै फोटो खिच्ने तयारीमा भेटिएकी प्रज्ज्वला कर्माचार्यले भनिन्, 'नेपाललाई कृषिप्रधान देश भनिन्छ तर यहाँ त्यसबारेमा अध्ययन गराउने दुई कलेजभन्दा छैनन् ।' 

स्कोपअनुसारको विषय र विषयअनुसारको काम नभएकै कारण युवा विदेशिन बाध्य भएको यी माइक्रो बायलोजीकी स्टुडेन्टको ठम्याइ छ । नेपालजस्तो मुलुकबाट बर्सेनि हजारौं युवा विदेशिने गरेका छन् । यस्तो बेलामा अन्तर्राष्ट्रिय युवा दिवसले उठाएको माइग्रेसन इसुले सकारात्मक सन्देश दिन खोजेको छ । जल्दोबल्दो इसु नै भएर होला, नेपालमा यो दिवसलाई यसपल्ट एक सातासम्म विभिन्न कार्यक्रमसहित मनाइँदै छ । 

Published on: 16 August 2013 | Kantipur

Back to list

;