s

योगदानमा आधारित सामाजिक सुरक्षा कुर्दै असङ्गठित क्षेत्रका श्रमिक

राममणि दाहाल

कामको खोजीमा हेटौडाको बुद्धचोक पुग्नु असङ्गठित क्षेत्रका श्रमिक दैनिकी बन्दै आएको छ । दैनिक ज्यालादारी गरेर गुजारा गर्दै आएका निर्माण श्रमिक ठूलो सङ्ख्यामा भीड लाग्ने बुद्धचोकमा रोजगारदातासँग श्रमको मूल्यको मोलतोलपछि कामको गन्तव्यतर्फ लाग्छन् ।

दिनहु“ काम खोज्ने र काम दिने पक्षबीच मोलतोल हुने उक्त श्रम बजार क्षेत्रलाई मजदुरहरूले नामकरण नै ‘लेबर चोक’ गरेका छन् । त्यहाँ निर्माण सम्बद्ध मजदुरको खोजीसँगै घर बनाउन ठेक्का लिने र दिने पक्षबीच मोलतोलमा रस्साकस्सी चल्छ र दुवैपक्षबीचको सहमतिपछि कार्यस्थलमा जान्छन् ।

असङ्गठित श्रमिकका कयौँ समस्या छन्, तर उनीहरूलाई लक्षित गरी सरकारले बनाएकोे नीति र कार्यक्रमले सम्बोधन गर्न सकिरहेको छैन । एकाबिहानै दैनिक जीवनयापनका लागि मजदुरी गर्न निस्कने निर्माण श्रमिक रोजगारदाताले तोकिदिने श्रमको मूल्यमा दिनभरका लागि काममा जानु बाध्यता बनेको छ । आफ्नो श्रमको मूल्य उचित भएन भन्ने निर्माण मजदुरले त्यो दिनका लागि घर, कोठामा फर्कनुको विकल्प हुँदैन ।

पर्सा जिल्लाका राजकुमार शाहको बिहान ४ बजे नै खाना बनाएर टिफिनमा हाल्नु र बुद्धचोकमा कामको खोजीका लागि पुग्नु दैनिकी हो । कामको मूल्य मिले काममा जाने, नमिले डेरामा फर्किन बाध्य हुन्छौँ । पैसा कम भयो भन्यो भने रोजगारदाताले भोलिदेखि काममा नआउन भन्छन्, त्यसैले बाध्य भएर जति दिए पनि काम गर्न बाध्य छौँ, शाहले भन्नुभयो । उता योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन नभएकोले असङ्गठित क्षेत्रका श्रमिकको जोखिम उस्तै छ । बीमाको व्यवस्था छैन र दुर्घटना वा बिरामी पर्दा अर्काको निगाहमा भर पर्नुपर्ने अवस्था छ ।

चार वर्षदेखि हेटौँडामा घर बनाउने ठेक्काको काम गर्दै आउनुभएका कलैयाका रामलगन यादवले घरधनीसँगको मोलतालको आधारमा घर बनाएबापत निर्माण मजदुरको ज्याला तय हुने गरेको बताउनुभयो । काम कम हुँदा थोरै पैसामा वा हचुवाको भरमा भए पनि पैसा लिने गरी काम गर्ने गरेको बताउँदै उहाँले श्रमिकलाई टिकाई राख्न ठूलै मेहनत गर्नुपर्ने बताउनुभयो ।

ठेक्का लिनेहरूबीच पनि उस्तै प्रतिस्पर्धा छ । एउटा ठेकेदार चित्त नबुझे मजदुरहरू अर्को ठेकेदारकोमा लाग्छन् । निर्माण श्रमिकमा पुरुषमात्र होइन, महिलाको मजदुरको उपस्थिति पछिल्लो समय बढ्दै गएको छ । तर, ज्यालामा समानता छैन । जति ज्याला पुरुषले पाउँछन्, त्यही काम महिला श्रमिकले गर्दा कम ज्याला पाउने गरेका छन् ।

दैनिक ज्यालादारी गरी घरको दैनिकी चलाउँदै आउनुभएका हेटौँडाकी पार्वती बर्तौलाले सँगै र एकै प्रकारका काम गर्ने पुरुषले भन्दा महिलाले कम ज्याला पाउने गरेको बताउनुभयो ।आफूस“गै काम गर्ने पुरुषले सात रुपियायाँ पाउँदा आफूले छ सय रुपियाँ मात्र ज्याला पाउने गरेको बर्तौलाले जानकारी दिनुभयो । पुरुषले भन्दा बढी काम गरे पनि महिलाको कामको मूल्याङ्कन हुँदैन – बर्तौलाले भन्नुभयो– काम नगरे साँझ चुलो बल्दैन । त्यसैले कम पैसामा भए पनि काम गर्नुको विकल्प छैन ।

निर्माण श्रमिकले निर्माणस्थलमा दुर्घटनामा पर्दा क्षतिपूर्तिसमेत पाउँदैनन् । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घ मकवानपुरका अध्यक्ष खलिल मियाँ अन्सारीले निर्माण स्थलमा जोखिम बढी भएको तर सुरक्षा र बिमाको व्यवस्था नरहेको बताउनुभयो ।उहाँले श्रमिकलाई केही भएमा रोजगारदाताबाट क्षतिपूर्ति दिलाउने गरेको बताउँदै त्यो पनि नभएमा संस्थाले वा अर्थ सङ्कलन गरेर उपचार खर्च धान्ने गरेको उल्लेख गर्नुभयो ।

निर्माणसम्बद्ध मजदुरको समस्याबारेमा उपमहानगरपालिकामा पहल गर्दा सुनुवाइ नभएको भन्दै उहाँले सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन आवश्यक भएको बताउनुभयो ।सरकारले हालै लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले निर्माणलगायत असङ्गठित क्षेत्रमा काम गर्ने मजदुरलाई समेट्न कार्यक्रमलाई तल्लो स्तरबाट नै प्रभावकारी कार्यान्वयन आवश्यक देखिन्छ ।

Published on: 26 February 2019 । Gorkhapatra

Back to list

;