s

‘यो लाखौं युवाको सपनाको हत्या हो’

अछाम : काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्युको घटनालाई लिएर साँफेबगरका युवाहरूले विरोध प्रदर्शन गरेका छन्। दुई युवाको ज्यान गएको घटनाले निराश र आक्रोसित युवाहरूले ज्यानको मूल्य तोक्न पाइँदैन भन्दै बजारमा विरोध प्रदर्शन गरेका हुन्।

‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन, निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर’ जस्ता नारा लगाउँदै उनीहरूले बजारमा प्रदर्शन गरेका थिए। देशमा रोजगारीको अवस्था नहुनु, नेताहरूको गतिविधिदेखि असन्तुष्ट रहेका युवामा शुक्रबार काठमाडौंमा घटेको घटनाले झन् निराशा छाएको विरोधमा सहभागी साँफेबगरका युवा राजन कुँवरले बताए। उनले रोजगार गर्न विदेश जान्छुभन्दा समेत गोली हान्ने देशमा बस्ने वातावरण नै नरहेको बताए। भने, ‘मान्छे मारेपछि मूल्य तोकिन्छ। सरकारले देशमै रोजगार त दिन सक्दैन। गृहमन्त्रीले राजीनामा दिनुपर्छ सबै नैतिक जिम्मेवारी लिनुपर्छ।’

चौरपाटी गाउँपालिका–४ का धीरज धामीले यो घटनाले युवाहरूको आशा भरोशा सम्पूर्ण रूपमा टुटेको बताए। मृतकका परिवारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र सहिद घोषणा गर्नुपर्ने बताए। उनले भने, ‘क्षतिपूर्तिका कुरा सुनिन्छ। क्षतिपूर्ति सरकारले दिनै सक्दैन बरु राहत देला क्षतिपूर्ति भनेको त जति क्षति भएको छ त्यसको पूर्ति हो। जिउँदो छोरा फर्काउन सक्छ सरकारले ?’

शान्तिपूर्ण विरोध प्रदर्शन गरेको भन्दै दोषीलाई कडा कारबाही नभए आन्दोलनलाई थप जिल्लामा कडा पार्ने लक्षमण कुँवरले बताए। भने, ‘सुजन र वीरेन्द्रको हत्या होइन देशका लाखौं युवाको सपनाको हत्या गरेको छ सरकारले। यसको जिम्मेवारी यहाँका नेता, जनप्रतिनिधिहरूले पनि लिनुपर्छ, चुनावको बेला रोजगार दिन्छौं भनेर चर्काे नारा लगाउँछन्। युवाहरू चुनावमा प्रयोग गर्छन् तर बिडम्बना विदेशको विकल्प हुँदैन हामीसँग।’

काठमाडौंमा रहेका अछाम र दैलेख जनप्रतिनिधिहरू र पीडित परिवारका प्रतिनिधिले सरकार समक्ष राखेको माग पूरा नभएसम्म लास नउठाउने साँफेबगर नगरपालिकाका पूर्वमेयर कुलबहादुर कुँवरले बताए। डीआईजीको नेतृत्वमा छानबिन समिति मान्य नहुने भन्दै सर्वोच्च अदालतका न्यायाधीशको संयोजकत्वमा निष्पक्ष छानबिन समिति गठन भए मात्र लास उठाउने कुँवरले बताए। उनले भने, ‘गृहमन्त्रीको राजीनामा, मृतकका परिवारलाई रोजगार र मृतकलाई सहिद घोषणा गर्नुपर्छ ।’

Published on: 2 January 2024 | Annapurna Post

Link

Back to list

;