s

‘यसरी निस्किएँ नर्कबाट’

अखण्ड भण्डारी, शंकर आचार्य

रक्सौलको सडक । रातको करिब साढे ९ बजेको थियो । १५ वर्षीया एक किशोरी सानो कुम्लो बोकेर छिटो–छिटो पाइला चालिरहेकी थिइन् । सडक सुनसान थियो । रेल स्टेसनबाट भन्सार इलाकातिर आउँदा बीचको अनकन्टार भागमा पुरुष बोली सुनियो ।

हेर्दै नहेरी अघि बढदै थिइन्, पाँचजना केटाले घेरिसकेछन् । केही नगर्न हात जोडेर बिन्ती गरिन् । उनीहरू झन् नजिक आए । केही नचलेपछि चिच्याइन् । भाग्यवश नजिकै एउटा मोटरसाइकल रोकियो । उसले पुलिसलाई खबर गरेको प्रस्टै सुनियो । केही मिनेटमै प्रहरी भ्यान आइपुग्यो । जिस्क्याउने केटाहरू कुलेलाम ठोके ।

उनी हुन् १५ वर्षीया थारू युवती । भारतमा बेचिएकी उनी अर्केस्ट्रारूपी ‘कोठी’ बाट बल्ल–बल्ल भागिन् । परिबन्दमा बेचिएकी उनी बाटामा फेरि झन्डै सामूहिक बलात्कारको सिकार भइन् ।

आउनुहोस्, पढौं, उनको मार्मिक जीवन–संघर्ष ।
                                                   ...
बाउले रक्सी खाएर आमालाई सधैं कुट्थे । आमाले धेरै सहिन् । कहिल्यै हात फर्काइनन् । बरु असह्य भएपछि एकदिन अर्कैसँग गइन् ।
उनी ८ कक्षामा पढ्थिन् । भाइ ३ मा । आमाले मेलापात गरेर उनीहरूलाई पढाएकी थिइन् । जब उनी हिँडिन्, कुट्ने श्रीमती नपाएपछि बाउ घरमै आउन छोडे । पढ्ने त परै जाओस्, चुलो जोर्ने स्रोत पनि भएन उनीहरूसँग । बहिनीको दुर्घटनामा मृत्यु भयो ।

बिचल्लीमा परेपछि उनी र भाइ किताबकापी च्यापेर फुपूको घरमा पुगे । त्यहाँ उस्तै बिजोग थियो । फुपाजू बितिसक्नुभएको । फुपूलाई आफ्नै सन्तान सम्हाल्न हम्मे थियो । त्यसमाथि थपिए उनीहरू ।

काम खोज्दै हिँडेकी एउटी दिदी काठमाडौंमा छु भन्छिन् । भारततिर पुगेकी अर्की दिदीले उतै बिहे गरिन् । ‘दिदी भएको ठाउँ पत्ता लाउन पाए त,’ उनले सोचिन्, ‘बरु उतै जाने थिएँ ।’ नभन्दै त्यही गाउँमा माइती भएकी सीता पटेल एक साँझ उनको फुपूको घरमा आइन् । ‘भारतमा तेरो दिदीलाई मैले भेटेर आएकी । तँ पनि भेट्न जाने भए हिँड्,’ उतै बिहे गरेकी उनले भनिन्, ‘काम पनि पाइन्छ । फुपूलाई सधैं के दु:ख दिन्छेस् ?’

समस्या एकातिर छ, बाउ–आमाले त्यागेपछि उनलाई न्यास्रोसमेत लागिरहेको थियो । दिदीलाई भेट्न जाने भनेपछि मन फुरुङ्ग भयो । तुरुन्तै जाउँ–जाउँ लाग्यो । ‘हुन्छ’ भनिदिइन् ।

सीताले उनलाई बुटवलबाट वीरगन्ज पुर्याुइन् । ‘उनले राति अबेला पारेर गल्ली–गल्ली हुँदै चोरबाटो भारततिर छिराइन्,’ उनले करिब ७ महिनाअघिको घटना सुनाइन्, ‘पर्सौनीमा आफ्नो मान्छेको घरमा त्यो रात राखिन् । भोलिपल्ट गाडीमा राखेर बगै बक्तरा भन्ने ठाउँमा पुर्यालइन् ।’

मेरो दिदीको घर कहाँ छ ? उनले भोलिपल्ट सोधिन् । उनले भने एउटा थोत्रो घरको सानो कोठामा पुर्यारइन् । त्यहाँ केही केटाकेटी खाँदखुँद बसेका थिए । ‘यो अर्केस्ट्रा हो,’ सीताले चिनाइन्, ‘यहाँ केही दिन नाच्, अनि दिदीकहाँ पुर्याोइदिन्छु ।’

त्यही दिनदेखि उनलाई नाच्न सिकाए । हिन्दी र भोजपुरी फिल्मका गीतहरू बज्थे, त्यसको तालमा नाच्नु पर्थ्यो । ‘नजान्दा सीता र उसको लोग्ने पप्पु पटेलले पेटी र बाँसको भाटाले हान्थे,’ सुनाउँदा सुनाउँदै उनले आँसु झारिन्, ‘त्यस्ता पेटी र भाटा त कति खाइयो कति ।’

सुवास पटेल नामका साहुको अर्केस्ट्रामा पप्पु म्यानेजर रहेछन् । श्रीमती सीता विशेष ग्राहककहाँ नाच्ने । त्यसभन्दा ठूलो उनको जिम्मेवारी नेपालबाट युवतीहरू ल्याउने । ‘गाउँकै बहिनी पर्ने पनि लगेकी छन्,’ उनले भनिन्, ‘त्यहाँ भएका सबै उनैले लगेका रे ।’

भत्किएको झुपडीको कुचुक्क कोठामा ८ युवती र ३ जना केटा एकै ठाउँ बस्थे । खान दाल, चामल र तरकारी साहुको घरबाट आउँथ्यो । पालो गर्दै पकाउनुपर्थ्यो ।
                                                    ...
भारतमा पछिल्लो समय ‘अर्केस्ट्रा’ व्यवसाय खुब मौलाएको छ । यो हेर्दा नृत्य मण्डली हो । धनाढयको घरमा बिहे वा पार्टी भयो भने अर्केस्ट्रा टोली झिकाउँछन् । त्यहाँका किशोर/किशोरीले भरपुर मनोरन्जन दिने गरी नाचिदिनुपर्छ ।

‘नाच्नेलाई केटाहरूले जिस्क्याउँछन् । साहु वा म्यानेजरलाई फलाना केटी चाहियो भनेर भन्छन्,’ उनले भनिन्, ‘तीसँग पैसा लिएर साहुले जान बाध्य पनि पार्छ ।’ यस्तो घटना कहिलेकाहीँ भए पनि साहु, म्यानेजर वा नाच्न राखेका केटाहरूबाटै यौन शोषण हुने गरेको उनले सुनाइन् ।
भारतमा त्यस्ता अर्केस्ट्राको संख्या बढिरहेको र तिनमा भएकाको ठूलो संख्या नेपाली रहेको पाइएको छ ।
                                                                      ...
अब सुरु भयो उनको नाच्ने काम । उनले सबै नचाई गनिन् । ‘६४ ठाउँमा नाचेँ,’ भनिन् । त्यसका लागि उनी भारतका मोतिहारी, रक्सौल, नकटिया, तीनकोनी, गमरियालगायत ठाउँ पुगिन् । ‘जति टाढा भए पनि पिकअपको पछाडि राखेर लैजान्थ्यो,’ उनले भनिन्, ‘पुग्दै गलेर हत्तु होइन्थ्यो, कसरी नाच्नु ?’

साँझदेखि नाच्दानाच्दै बिहान ३–४ बज्थ्यो । ‘अति गाह्रो भयो भने म सुुटुक्क गएर गाडीमा सुत्थें,’ उनले सुनाइन्, ‘भोलिपल्ट त्यही निहुँमा कुटाइ खाइन्थ्यो ।’

महिना मर्योच । पैसा मागिन् । पख् भने । पख्दै गइन् । अर्को महिना मर्यो  । फेरि त्यही भने । गन्दागन्दै ६ महिना बित्यो । मालिकलाई भेटिन् । उनले भने, ‘तँलाई हामीले सीतासँग किनेका हौं । तेरो तलब उसैलाई दिनुपर्छ । उसको तिरिसकेपछि मात्र तैंले पाउँछेस् ।’

उनी कतिमा किनिइन्, सोध्न चाहिनन् । कहिलेदेखि तलब आउँछ, बुझ्न आवश्यक ठानिनन् । साथमा एक रुपैयाँ थिएन । बरु आजै भाग्ने अठोट गरिन् । ‘बेलुका ६ बजेतिर पानी लिन जान्छु भनेर निस्किएँ । 

घर चिरा–चिरा परेको थियो । त्यसैबाट मेरा सामान बाहिर छिराइदिएँ,’ नर्कबाट निस्किएको घटना उनले सुनाइन्, ‘खेतैखेत भागें । आधा घण्टा टाढा साथीको घर थियो, उसैकहाँ गएर बसें ।’

अर्केस्ट्रामा काम गर्दागर्दै नेपालकै सपनाले त्यहीँनजिक बिहाबारी गरेर बसेकी छिन् । उनलाई तिनै सपनाले साँझको शरण दिइन् । ‘मैले सबै कुरा बताएँ,’ उनले आँसु झार्दै भनिन्, ‘भागेर ठीक गरिछेस् । भोलिपल्ट ५ सय भारु हातमा दिँदै भनिन्, ‘राम्ररी जानू ।’

उनले टेम्पो समाइन् । एक घण्टामा गमगढवा पुगिन् । त्यहाँबाट रक्सौल आउने रेलमा चढिन् । रक्सौल आइपुग्दा रातको ९ बजेको थियो । जतिसक्दो छिटो उनलाई नेपाल छिर्न हतार थियो । त्यही भएर सीमातिर छिटो–छिटो अघि बढिन् ।
                                                       ...
जब उनी अनकन्टार बाटोमा केटाहरूद्वारा घेरिइन् । कुनै सज्जनको सहयोगमा प्रहरीले उद्धार गर्योी । र, नेपाल प्रहरीलाई बोलाएर जिम्मा लगायो ।
उता रूपन्देहीमा फुपूकहाँ नै बसिरहेका उनका भाइको पढाइ टुटिसक्यो । उनी वीरगन्जमा एउटा संस्थाको संरक्षणमा छिन् । ‘८ कक्षाको परीक्षा दिएर फुपूको घरतिर गएकी थिएँ,’ उनले भनिन्, ‘डेढ वर्ष भयो, स्कुल जान नपाएको ।’ उनलाई सिलाइकटाइ सिकेर नयाँ जीवन जीउन रहर छ ।
त्यसभन्दा धेरै रहर त पढ्न छ । 
‘पढ्न पाए त डाक्टर बन्ने थिएँ,’ भनिन्, ‘तर, मजस्तालाई कहाँ मिल्नु त्यस्तो मौका ?’

Published on: 29 July 2015 | Kantipur
 

Back to list

;