s

एकतर्फी भाडा ९३ हजारसम्म, साउदीमा अलपत्र नेपाली निराश

बिष्णु घिमिरे

साउदी अरेबिया : साउदी अरेबियामा कोरोना भाइरसबाट  प्रभावित भइ अलपत्र परेका नेपाली स्वदेश फर्कनका लागि आतुर अवस्थामा  थिए ।  बिहीबार सरकारले निर्धारण गरेको हवाई टिकटको मूल्य देखेर अलमल्ल परेका छन् । सबै प्रक्रिया पूरा गरेर लगभग तीन महिना यता स्वदेश फिर्ताको पर्खाइमा रहेका र  अलपत्र परेका नेपाली सरकारको सहयोगको समेत अपेक्षा गरेर बसेका थिए तर त्यो आशा निराशामा परिणत भएको छ ।

तत्कालको लागि साउदीमा  रियाद, दमाम, र जेद्धा शहरक लागि सरकारले नेपाल फर्कन चार्टर उडान  निर्धारण गरेको छ । एकतर्फी हवाई टिकटको मूल्य नेपाली ७० हजारदेखि ९३ हजारसम्म तोकेको छ । उडान यहि जुन १५ देखि २४ सम्म सञ्चालन हुनेछ । नेपाल एरलाइन्स र हिमाल एरलाइन्सबाट नेपाली स्वदेश फर्काउने तयरी छ । 

नेपाली दूतावासका अनुसार अवस्थालाई मध्यनजर गर्दै  तत्काल  २५ सय भन्दा बढि नेपालीलाई स्वदेश  फर्काउनु पर्ने अवस्था छ ।  संकलन गरिएको फारम अनुसार  ८० प्रतिशत  स्वदेश  फर्कने अवस्थामा  रहेका छन् ।   जसमध्ये १० हजारभन्दा बढीको विवरण सम्बन्धित् निकायमा पठाइएको छ भने  स्वदेश फिर्ताको छनोट आधारसम्म  सार्वजनिक गरेको छ।

अहिलेको अवस्थालाई हेरी हवाई टिकटको मूल्य मह‌ंगो रहेको जानकारीसमेत दिइएको छ । साउदी अरेबियामा अहिले साना तथा मझौला कम्पनीहरू बन्द भएका छन् । कतिपय बन्द  हुने अवस्थामा छन भने ठूला कम्पनीले कामदार र तलब कटौती गर्न सुरू गरेका छन् ।

यस्तो अवस्थामा अलपत्र परेका नेपालीलाई खान, बस्न पनि समस्या छ भने  कोरोना भाइरसबाट संक्रमित भएकाहरू  समयमा नै उपचार नपाउँदा  मर्नुपर्ने अवस्था छ । स्वदेश फिर्ताका लागि हवाई  टिकटको मूल्य देखेर कसरी नेपाल जाने भन्ने चिन्तामा उनीहरु डुबेका छन् । यसबाट अलपत्र परेका नेपालीमा रहेको झिनो आशा पनि मरेको छ।

साउदी अरेबियामा लगभग तीन लाख बीस हजार  नेपाली कार्यरत छन् । अहिलेको  अवस्थालाई मध्यनजर गर्दै  सरकारले तय गरेको उडान स्वागतयोग्य  भएपनि हवाई टिकटको मूल्यले अलपत्र परेका नेपाली तत्काल स्वदेश फिर्तामा समस्या हुने भएकाले देखिएको छ । यस सम्बन्धमा सरकारको  ध्यानाकर्षण गराउन  साउदीमा  रहेका विभिन्न भातृसंगठन, एन आर एन, सामाजिक सघं  संस्थाले टिकटको मूल्य कम गर्न  आह्वान गरेका छन्  । 

सरकारले सहयोग  गर्नुपर्ने अवस्थामा चर्को हवाई टिकटको मूल्य निर्धारण गरेर अहिले नआऊ देशलाई रेमिट्यान्स पठाऊ र आउने परे मागेर आउ भन्ने सन्देश  सरकारले दिन खोजेको उनीहरुले आरोप लगाएका छन्।

यस सम्बन्धमा ध्यानाकर्षण नभए साउदीमा रहेका धेरै नेपाली ठूलो समस्यामा पर्ने र अकालमै ज्यान गुमाउनु पर्ने देखिन्छ।

केही दिनयता साउदीमा कोरोना भाइरसको संक्रमण तीव्ररूपमा बढेको छ दैनिक ३ हजार भन्दा बढि संक्रमित भएका फेला परिरहेका छन् । जसबाट साउदीमा कार्यरत लगभग १५००  भन्दा बढी नेपाली संक्रमित हुनुको  साथै १० भन्दा बढीको मृत्यु भएको  छ । ६० भन्दा बढि नेपाली मृतकका शवहरू साउदीमा छन् । हालसम्म साउदीमा कोरोना भाइरसबाट संक्रमित  हुनेको संख्या ११,६०२१ रहेको छ ।

Published on: 12 June 2020 | Annapurna Post

Link

Back to list

;