s

एकै उद्योगमा तीन पुस्ता श्रमिक

विनोद भण्डारी

विराटनगर — – ५६ वर्षीय मोहमद अजात मियाँले तीन दशकअघि घरनजिकको रघुपति जुट मिल्समा इलेक्ट्रिकल शाखामा काम गर्न सुरु गर्दा दैनिक ज्याला ५१ रुपैयाँ पाउँथे । अहिले उनी सिनियर इलेक्ट्रिसियन छन् । अहिले उनले दैनिक ज्याला ५ सय ७७ रुपैयाँ पाउँछन् ।

विराटनगरको रघुपति जुट मिल्सका श्रमिक मोहमद अजित मियाँ, पत्नी सायरा, छोरा दिलजान र नातिनी समरुन खातुन । तस्बिर : विनोद/कान्तिपुर

उनकी पत्नी सायराले पनि मिल्समा मजदुरी गर्न थालेको २६ वर्ष भयो । सायराले पनि सुरुका दिनमा दैनिक ज्याला ५१ रुपैयाँ पाउँथिन् । यतिबेला उनी पनि दैनिक ५ सय ७७ रुपैयाँ लिन्छिन् ।

अजात र सायराका दुई छोरा ३७ वर्षीय नौसाद र ३५ वर्षीय दिलजान मियाँ पनि १८ वर्षदेखि यही मिलमा लुम मिस्त्रीका रूपमा ज्यालादारीमा कार्यरत छन् । तेस्रो पुस्ताकी नातिनी समरुन मियाँ पनि ११ वर्षदेखि यही मिलमा फिनिसिङ शाखामा काम गरिरहेकी छन् । ‘आफ्नो परिवारका लागि रघुपति जुट मिल्स नै वैदेशिक रोजगारी मुलुकझैं भएको छ । परिवारमा पाँच जना छौं । सबै जनाले यही उद्योगमा मजदुरी गर्दै आएका छौं,’ अजात भन्छन्, ‘मिलबाट परिवारका सबैको गरेर दैनिक झन्डै तीन हजार रुपैयाँ आउँछ ।’ यो कमाइले घर खर्च राम्रो चलेको कान्छा छोरा दिलजानले बताए ।

–जयप्रकाश हलुवाईको तीन पुस्ताले पनि यही उद्योगमा मजदुरी गर्दै आएको छ । उनले यो मिलमा मजदुरी गर्न थालेको २६ वर्ष भयो । उनका छोरा लालु र बुहारी अमृता १२ वर्षदेखि मिलमा मजदुरी गरिरहेका छन् । नाति अमित र सुमित पनि केही वर्षयता मिलका नियमित मजदुर हुन् ।

–७२ वर्षीय वाइस मियाँको तीन पुस्ताले पनि मिल छाडेर अन्यत्र मजदुरी गर्न गएको छैन । वाइसले उद्योगको फिनिसिङ शाखामा काम गरेको तीन दशक भयो । उनकी छोरी अप्सना १७ वर्ष र नातिनी सोनम पनि उद्योगमा पाँच वर्षदेखि मजदुरी गरिरहेका छन् । विराटनगर–१७ मिल्स एरिया रानीमा २००३ सालमा स्थापित यो जुट मिल सञ्चालनमा आएको ७५ वर्ष भएको छ । यहाँ अहिले २ हजार ५ सय मजदुर–कर्मचारी छन् । तीमध्ये दर्जनौं मजदुरका तीन पुस्ता यहाँ काम गरिरहेका छन् । दुई वर्षअघिसम्म केही परिवारका चार पुस्ताले समेत मजदुरी गरेको मिलको अभिलेख रहेको उद्योगका प्रशासन प्रमुख श्यामकुमार आचार्यले बताए । ‘एकै परिवारका पाँच जनासम्म अहिले मिलमा मजदुरी गर्दै आएका छन्,’ उनले भने, ‘५० भन्दा बढी परिवारका तीन जनासम्म कामदार छन् ।’ 

मुलुकको दोस्रो जेठो मिल हो— रघुपति जुट मिल्स । १९९३ सालमा मुलुकको पहिलो उद्योग विराटनगर जुट मिल स्थापना भएको थियो । सरकारी स्वामित्वको यो मिल एक दशकयता बन्द छ । रघुपति भने २००३ सालमा तत्कालीन जुट व्यवसायी रामलाल गोल्छालगायतको पहलमा स्थापना भएको हो ।

२०३५ सालसम्म सेयर सदस्यले सञ्चालन गरेको यो मिल २०३६ सालमा सरकारले सेयर खरिद गरेर चलाएको थियो । सरकारले चलाउँदा राजनीतिक हस्तक्षेपका कारण पटकपटक बन्द भएपछि २०५३ सालमा सरकारले यो मिललाई निजीकरण गरेपछि गोल्छा अर्गनाइजेसनको अरिहन्त मल्टी फाइभर्सले सञ्चालन गर्दै आएको छ ।

Published on: 2 August 2021 | Kantipur

Link

Back to list

;